• २ माघ २०८१, बुधबार

चन्द्रनिगाहपुर सरकारी अस्पतालमा ट्रमा सेन्टर सञ्चालन

blog

नगर प्रमुख सञ्जय काफ्लेलाई ट्रमा सेन्टरको साँचो हस्तान्तरण गर्नुहुँदै डाइरेक्टर बुर्लाकोटी । तस्बिर : यादवराज पुरी

यादवराज पुरी
रौतहट, मङ्सिर १० गते ।
 रौतहटको चन्द्रपुर नगरपालिका–५ मा रहेको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा ज्यान जोखिममा परेका बिरामीलाई विशेष हेरचाह प्रदान गर्ने अस्पताल इकाई ‘ट्रमा सेन्टर’ सञ्चालनमा आएको छ ।

पूर्व–पश्चिम राजमार्गमा हुने सवारी दुर्घटनाका घाइते र विपतमा परेका सबैले तत्कालै उपचार पाउन् भन्ने उद्देश्यका साथ लायन्स अन्तर्राष्ट्रिय क्लबले अस्पताललाई डेढ करोड रुपियाँ बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरेपछि ट्रमा सेन्टर सञ्चालनमा आएको हो ।

पूर्व–पश्चिम राजमार्गको बर्दिबासदेखि पथलैयासम्मका कुनै पनि स्थानमा ट्रमा सेन्टर नभएको अवस्थामा लायन्सले उक्त सरकारी अस्पताललाई हस्तान्तरण गरेका उपकरणबाट सवारी दुर्घटनामा घाइते हुने यात्रीले तत्कालै उपचार पाई अकालमा मृत्यु हुनबाट बचाउने लायन्सका अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले बताउनुभयो । उहाँकाअनुसार राजमार्गसँग जोडिएको यस अस्पतालमा अत्यावश्यक ‘पोर्टेवल’ स्वास्थ्य उपकरण उपलब्ध गराइएको हुनाले घाइतेले घटनास्थल मै उपचार पाउने छन् ।

‘लायन्स ट्रमा सेन्टर’को नामबाट सञ्चालन हुने उक्त क्लबले पोर्टेवल भेन्टिलेटर २ थान र पल्स अक्सिमिटर १० थान उपलब्ध गराएको छ । यसैगरी एनेस्थिया मेशिन, जेनरल र अर्थोपेडिक सर्जरी सेट, इसिजी र युएसजी मेशिन, एडल्ट र पेडियाट्रिक एम्बु ब्याग १०÷१० थान लगायत एक करोड ५० लाख रुपियाँ बराबरको अन्य स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । उक्त उपकरण व्यवस्थापन र घाइतेको उपचारका लागि उपचार कक्ष व्यवस्थापनसमेत गरेको लायन्सले कुल एक करोड ६८ लाख रुपियाँ खर्चेको ट्रमा सेन्टरका प्रशासक दिनेशकुमार श्रेष्ठले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका अर्थमन्त्री जितेन्द्र यादवले मधेश प्रदेशका नागरिकको स्वास्थ्य संम्वेदनशीलतालाई ध्यान दिई स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउनुहुने निकायसँग सहकार्य गरी अघि बढ्ने बताउनुभयो । उहाँले अस्पताललाई आवश्यक पर्ने जस्तो सुकै सहयोग गर्न मन्त्रालय तत्पर रहेको विश्वास व्यक्त गर्नुभयो ।

दक्ष जनशक्तिको अभाव रहेको उक्त अस्पतालमा उपलब्ध गराइएका स्वास्थ्य उपकरणको उपयोग र व्यवस्थापनमा भने चुनौती देखिएको सरोकारवालाको गुनासो छ । ट्रमा सेन्टरको साँचो ग्रहण गर्नु भएका अस्पतालका अध्यक्ष एवम् नगरप्रमुख सञ्जय काफ्लेले अस्पतालमा उपलब्ध गराइएका स्वास्थ्य उपकरण उपयोगमा ल्याउन नगरका अन्य निजी अस्पतालसँग सहकार्य गरिने बताउनुभयो ।