• ११ पुस २०८१, बिहिबार

कच्ची हुँदा सञ्चालन कालोपत्रे हुँदा बन्द

blog

जहाज आउन छोडेपछि झाडीले घेरिएको चौरजहारी विमानस्थल ।

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, मङ्सिर १० गते । तत्कालीन रुकुम, जाजरकोट, सल्यानलगायतका जिल्लालाई लक्षित गरेर २०२८ सालबाट सञ्चालनामा आएको चौरजहारी विमानस्थल अहिले बन्द अवस्थामा छ । धावनमार्ग कच्ची हुँदा सञ्चालनमा रहेको विमानस्थल कालोपत्रे गरिएपछि बन्द भएको छ । चौरजहारी नगरपालिका–१ मा रहेको यो विमानस्थलमा २०७० फागुनदेखि २०७२ भदौसम्म धावनमार्गमा कालोपत्रेको काम भएको थियो । कालोपत्रे भएपछि केही दिन जहाज उडेको थियो तर कोरोना महामारीका कारण बन्द भएको विमानस्थल अझै सुचारु भएको छैन । पाँच करोड ५९ लाख ४९ हजार ९५२ रुपियाँको लागतमा धावनमार्ग कालोपत्रे गरेको छ ।  

चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले चार दशकसम्म कच्ची धावनमार्गमा जहाज सञ्चालन भएको तर कालोपत्रेपछि बन्द हुनु दुर्भाग्य भएको बताउनुभयो । राज्यको करोडौँको लगानीको सदुपयोग नभएको र सर्वसाधारण हवाई सेवाबाट विमुख हुनु परेको उहाँको भनाइ रहेको छ । नगरप्रमुख बादीले नेपाल वायु सेवा निगम र नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराएको तर बेवास्ता भएको बताउनुभयो । निजी क्षेत्रका जहाज भए पनि सञ्चालन भएमा यहाँका सर्वसाधारण तथा बिरामीलाई सहज हुने उहाँले उल्लेख गर्नुभयो । 

जहाजको अभाव भन्दै उडान तालिका नै नराखेपछि विमानस्थल बन्द अवस्थामा पुगेको हो । नेपाल वायु सेवा निगम चौरजहारीका तत्कालीन निमित्त प्रमुख सुरेन्द्र नेपालीका अनुसार कालोपत्रेपछि छिटफुट उडान भए पनि कोरोना महामारी सुरु हुँदा माथिल्लो निकायबाटै उडान बन्द गरिएको हो । उडानको तालिका नै कटौती गरेर नेपाल वायु सेवा निगमको पश्चिमाञ्चल केन्द्र नेपालगन्जबाट आएको टोलीले कार्यालयसमेत उठाएको जानकारी उहाँले दिनुभयो ।