• १ माघ २०८१, मङ्गलबार

हजार गुम्बा विहारको उद्घाटन

blog

सिद्धार्थनगर समाचारदाता  

सिद्धार्थनगर, मङ्सिर ८ गते । बुद्ध जन्मस्थल लुम्बिनीस्थित पाल थुव्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर) को उद्घाटन गरिएको छ । कानिङ सेडुव लिङ गुम्बा सङ्गठन तथा विकास कोष परिवारले निर्माण गरेको गुम्बाको शुक्रबार उद्घाटन गरिएको हो । 

बौद्ध गुरु छोकी निमा रिम्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले गुम्बाको औपचारिक उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै बौद्ध गुरु निमा रिम्पोछेले देश तथा विदेशका चन्दादाताको सहयोगबाट हजार बुद्धको महाविहार निर्माण भएको भन्दै अब यसको संरक्षण सबैले गर्नुपर्ने बताउनुभयो । 

उहाँले बुद्ध भगवान्को जन्मस्थल लुम्बिनीमा विहार निर्माण गर्न पाउँदा निकै खुसी लागेको बताउँदै आफूलाई पूजाको वातावरण बनाइदिन आग्रह गर्नुभयो । यस्तै उद्घाटन कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले लुम्बिनीमा ठुलो गुम्बा निर्माण हुनु लुम्बिनी र नेपालसँगै विश्वका शान्तिप्रेमीका लागि गौरव भएको बताउनुभयो । 

उहाँले परमपुज्य गुरु निमा रिम्पोछेले लुम्बिनीमा गुम्बा निर्माण गरेर बुद्ध दर्शनको प्रवर्धनमा ठुलो टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो गुम्बा राज्यले नै निर्माण गर्नुपर्ने थियो, रिम्पोछे र विश्वका सहयोग दाताले निर्माण गरेर बुद्ध दर्शनको अध्ययनमा ठुलो योगदान गर्छ ।” यसै गरी कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा विहार निर्माण हुने कुराले बौद्ध पर्यटनमा ठुलो टेवा पु¥याउने बताउनुभयो । 

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, कोषका सदस्यसचिव सानुराजा शाक्यलगायतका व्यक्तिको सहभागिता रहेको थियो । विहार उद्घाटनअघि मङ्सिर ४ गतेदेखि प्राणप्रतिष्ठा र पूजा गरिएको थियो । 

पुण्य मङ्गल ज्ञान बर्सात नाम शुद्धी स्नानद्वारा प्राणप्रतिष्ठान, चन्द्र अमृत नामक स्नान, शाक्यमुनि बुद्धको साधना सोह्र स्थवीरको स्तुति एवं पूजन गरिएको विहारका प्रमुख तथा रिम्पोछे ग्यालजोनले जानकारी दिनुभयो । 

विश्व शान्तिको कामना, विश्व प्राणी जगत्को कल्याणको कामनासहित छोकी निमा रिम्पोछेबाट सहस्र बुद्धको अभिषेक एवं प्रवचन गरेका थिए । महायानी परम्परा अनुसार भएको पूजामा बौद्ध लामा गुरु, आनी, भिक्षु भिक्षुणी, उपासक उपासिका, विदेशी पाहुना, स्वदेशी विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो । विहारको उद्घाटनलगत्तैको पूजामा पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थिति थियो । पूर्वराजा शाहलाई छोकी निमा रिम्पोछेले स्वागत गनुर््हुँदै पूजामा सरिक गराउनुभएको थियो ।