• ११ पुस २०८१, बिहिबार

बर्दियाको जब्दीघाट पुल मर्मत नहुँदा स्थानीयलाई सास्ती

blog

जब्दीघाटको पुल भासिदा डुङ्गाको भरमा नदी वारपार गर्दै स्थानीय । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर ७ गते । बर्दिया जिल्लाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल भासिएको लामो समयपछि पनि मर्मत सम्भार वा पुननिर्माण नहुँदा सो क्षेत्रका सयौं सर्वसाधारणले ठुलो सास्ती खेप्नुपरेको छ । सो पुल भासिएपछि बारबर्दिया लगायतका क्षेत्रबाट बर्दिया सदरमुकाम गुलरिया आउजाउ गर्ने मोटर बाटाहरु बन्द भएकोले सर्वसाधारणलाई निकै सास्तीको सामना गर्नुपरेको हो ।  

पप्पु कन्स्ट्रक्सनले साढे १६ करोड रुपियाँ बढीको लागतमा बनाएको सो पुल उदघाटन नहुँदै भासिएपछि बबई नदि वारपार गर्न यहाँका नागरिकलाई डुङ्गाको सहारा लिनुपर्ने बाध्यता छ । समयमा डुङ्गा  नपाइने भएकोले बिरामी, बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी मारमा परेका छन् ।

२०७४ साल साउनमा आएको बाढीले पुलको पिलरमा क्षति पुर्‍याउँदा पुलको दुई वटा पिलर भासिएको थियो । त्यसयता पटक पटक प्रयास र माग गरिए पनि पुल मर्मत सम्भार वा पुनर्निमाण हुन सकेको छैन । सो पुल ४३५ मिटर लामो र ७.४ मिटर चौडा छ । यो पुल तरेर गुलरियाबाट बारबर्दिया नगरपालिका हुँदै पूर्वपश्चिम राजमार्गको रम्भापुर आउजाउ गर्न सकिन्थ्यो । यो पुल पनि भत्किएपछि सदरमुकाम गुलरियासँगको सम्पर्क टुटेको बारबर्दियाका स्थानीय रमेश थारुले गुनासो गर्नुभयो । 

उहाँका अनुसार पूर्ण रुपमा सञ्चालनमा नआउँदै भासिएको पुल समेत सर्वसाधारणले प्रयोग गर्दै आएका थिए । चारपाङ्ग्रे सवारी साधन सञ्चालन गर्न नमिले पनि मोटरसाइकल, साइकल र पैदल आउजाउ गर्न सकिने अवस्थाको पुललाई समेत २०७९ सालमा आएको बाढीले बगाउँदा यस क्षेत्रका बासिन्दालाई डुङ्गाको भर पर्नुपरेको थारुले बताउनुभयो । नदी वारपार गर्न अब डुङ्गा प्रयोग गर्नुको कुनै विकल्प नभएको नदी पारि र वारिका स्थानीयको भनाइ छ । 

पुल मर्मत नभएपछि जब्दीघाटमा स्टीमर सञ्चालनमा छ । स्टीमरमार्फत नदी पार गरेबापत एक जनाले १० रुपियाँ शुल्क बुझाउनुपर्छ । साइकलको १० र मोटरसाइकलको १५ रुपियाँ बुझाउनुपर्ने बाध्यता रहेको अर्का स्थानीय मनोज थापाको भनाइ छ । 

सर्वसाधारणका लागि स्टीमर सञ्चालनका लागि गुलरिया र बारबर्दिया नगरपालिकाले ठेक्का दिएका छन् । ठेकेदारले खसी, बोका पार गरेबापत समेत शुल्क लिने गरेको छ । खसी, बोकाको १० रुपियाँ शुल्क बुझाउनुपर्ने स्थानीयको भनाइ छ । यो घाटबाट दैनिक कम्तीमा दुई हजार सर्वसाधारण आउजाउ गर्छन् । पुल पुनर्निर्माण नहुँदा सदरमुकाम गुलरिया आउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । पुल भएको बेला १५ मिनेटमा गुलरिया पुगे पनि डुङ्गामार्फत नदी तर्दा झण्डै एक घण्टा लाग्ने गरेको स्थानीयले जनाएका छन् ।

सो पुलको निर्माणका लागि बर्दियाका सांसद तथा पूर्वमन्त्री सन्जय गौतमले पुलमुनि आमरण अनशन बसे पनि सो पुल अझै ज्युँकात्युँ नै छ ।