सूचना तथा सञ्चारको विकास र विस्तारले विश्वलाई भूमण्डलीकृत बनाएको छ । डिजिटल युगको सबैभन्दा सरल र सहज माध्यम सामाजिक सञ्जाल बहुआयामिक लाभका माध्यम बनेका छन् । साथीभाइ, परिवार, आफन्तजनसँग सञ्चार सम्पर्क गर्न सामाजिक सञ्जालले अपूर्व अवसर दिएको छ । सामाजिक सञ्जाल शिक्षा र जानकारी विस्तारमा उपयोग भइरहेको छ । सूचना, मनोरञ्जन, ताजा जानकारी आदानप्रदानसँगै सिप प्रवर्धन, व्यापारिक लाभ आदिका निम्ति सामाजिक सञ्जाल उपयोगी छ । यसबाट धेरैले बौद्धिक तथा प्राज्ञिक लाभसमेत लिएका छन् । मानव सभ्यताको विकासव्रmममा सामाजिक सञ्जाल अनेक तवरले उपयोगी हुँदाहुँदै पनि दुरुपयोगसमेत व्यापक हुन थालेको छ । भ्रम फैलाउने, अपराध बढाउने, ठगी गर्नेदेखि अरूको मानमर्दन गर्नेलगायतका सञ्जाल दुरुपयोगका अनेक दुष्कार्यले सबैतिर हैरानी बढाएको छ । नेपालमा समेत यस्ता दुष्कार्यले ठाउँ पाउनु गम्भीर चुनौतीको विषय बनेको छ ।
नेपालमा सामाजिक सञ्जालको प्रयोग गरेर आफ्नो निहित स्वार्थ गर्ने प्रवृत्तिले सास्ती बढाएको छ । राज्यसंयन्त्र तथा आमनागरिकले अनेक खालका हैरानी बेहोर्नु परेको छ । व्यक्तिको नागरिक अधिकार र स्वतन्त्रता हरण गर्ने प्रयास गरिएको छ । मानप्रतिष्ठामा आघात पार्ने काम सहन गर्न सक्नेभन्दा उच्च हुँदै गएको छ । लोकतान्त्रिक शासनपद्धतिको खुला र उदार प्रावधानको दुरुपयोग गर्दै अपराध प्रवृत्ति बढाउन खोजिएका अनेक घटना सामुन्ने आइरहेका छन् । यस्ता घटनामा राज्यका सरोकारवाला निकाय गम्भीर भएर निरूपणतर्फ लागिरहेका छन् । यस्तै पछिल्लो घटनाका रूपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई मङ्गलबार पव्रmाउ गरिएको छ । किर्ते कागजात प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएपछि प्रसाईलाई पक्राउ गरिएको हो ।
सामाजिक सञ्जाल दुरुपयोग गरी अपराध गरेको आरोप प्रसाईमाथि लागेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रसाईलाई मङ्गलबार भक्तपुरको मध्यपुर थिमिस्थित निकोसेराबाट पक्राउ गरेको हो । किर्ते विषयवस्तु खडा गरी प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाइयो । यही कारण प्रसाईमाथि किर्ते तथा विद्युतीय अपराध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा अनुसन्धान सुरु भएको छ । प्रसाईले सोमबार सामाजिक सञ्जालमार्फत एक शङ्कास्पद भिडियो सार्वजनिक गर्नुभएको थियो । त्यस भिडियोमा प्रधानमन्त्री ओलीले कम्बोडियास्थित ‘स्मार्ट एक्जिएटा टेलिकम कम्पनी’ मा ३२ अर्ब नेपाली रुपियाँ अवैध लगानी गरेको आरोप लगाइएको छ ।
प्रसाईमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्ने प्रहरीको भनाइ छ । ऐनको प्रावधानमा भनिएको छ, ‘कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यममा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपियाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने छ ।’ प्रसाई दोषी ठहर भए जरिबाना तथा कैद दुवै सजाय हुन सक्ने छ । सामाजिक सञ्जालको दुरुपयोगमा प्रसाई यसअघि पनि प्रहरी हिरासतमा पुग्नुभएको थियो । एक महिलाको चरित्र हत्या हुने अभिव्यक्ति दिएको उजुरीपछि गत असोज ६ गते प्रहरीले प्रसाईलाई पक्राउ गरेको थियो । त्यस बेला नौ दिन हिरासतमा बसेर प्रसाई एक लाख रुपियाँ धरौटीमा छुट्नुभएको थियो ।
जिल्ला अदालत काठमाडौँमा आफूले गरेको गल्ती स्वीकार गरेपछि धरौटीमा रिहा भए पनि उहाँविरुद्धको त्यस मुद्दा विचारधीन नै छ । फेरि सामाजिक सञ्जाल दुरुपयोगमै पक्राउ परेपछि उहाँविरुद्धको मामिला पटके र थप गम्भीर बनेको देखिन्छ । किर्तेका मामिलामा मुलुकी फौजदारी संहिता–२०७४ आकर्षित हुन्छ । प्रसाईले प्रदर्शित गरेको भिडियोमा कागजात देखाइएको छ । ती कागजात फर्जी रहेको प्रहरीको भनाइ छ । फर्जी कागजात बनाई प्रधानमन्त्री ओलीको बेइज्जती गर्ने दुस्साहस देखिन्छ । फर्जी कागजात बनाएको कसुरमा उहाँविरुद्ध ‘किर्ते गर्न नहुने’ अभियोग लाग्न सक्छ । मुलुकी फौजदारी संहिता–२०७४ को दफा २७६ अनुसार किर्ते गर्न हुँदैन । सो ऐनको दफा ३०६ अनुसार बेइज्जती पनि गर्न पाइँदैन । यी कसुर पुष्टि भए दुई वर्ष कैद र विद्युतीय माध्यमबाट त्यस्तो कसुर गरेमा थप एक वर्ष कैद सजाय हुने व्यवस्थासमेत हुँदा यो मामिलाको अनुसन्धान गहिराइमा गर्नुपर्ने देखिन्छ ।