• १२ पुस २०८१, शुक्रबार

भारतीय मलको भरमा कृषक, गहुँ खेतीका लागि डिएपी अभाव

blog

भारतबाट मल ल्याएर बिक्रीवितरण गर्दै व्यापारी । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलवस्तु), मङ्सिर ६ गते । धान भित्र्याएर गहुँ छर्ने बेला कपिलवस्तुमा भने मलखादको अभाव भएको छ । यहाँका कृषकले भारतीय मलको भरमा खेती गर्दै आएका छन् । अनुदानको मल धान खेती गर्ने समयमा नपाएका यहाँका किसानले गहुँ खेती गर्ने बेला पनि डिएपी मल पाउने टुङ्गो छैन । जिल्लामा कृषि सहकारी संस्थाद्वारा अनुदानको मल बिक्रीवितरण हुँदै आएको छ ।

गहुँ छर्ने बेला भए पनि मल नपाएपछि धेरै समस्यामा परेका कृषक मोहम्मद गनी दर्जीले बताउनुभयो । भारतबाट व्यापारीले एक/दुई बोरा ल्याउँछन् दुई हजार दुई सयमा पाइने मललाई तीन हजारदेखि ३५ सयसम्म लिने गरेको उहाँको गुनासो छ । भारतबाट ल्याएको मल बोरामा १८, ४६ लेखे पनि भित्र २०, २० राखेर बिक्रीवितरण गरेको कृषक दर्जीको भनाइ छ ।

कपिलवस्तु नगरपालिकाका किसान हरिराम यादवले पनि रासायनिक मलको अभाव हुँदा खेती गर्न समस्या भइरहेको बताउनुभयो । भारतबाट आयात गरिने मलखाद चर्को मूल्यमा खरिद गर्नुपरेको उहाँले बताउनुभयो । उहाँले अनुदानको मल कृषकले नपाउने तर त्यही अनुदानको मल एग्रोभेटहरूमा गइरहेको बताउनुभयो ।

कपिलवस्तु नगरपालिका–६ का कृषक मेहदी हसनका अनुसार कृषि सहकारीमार्फत मल बिक्रीवितरण गर्ने भए पनि सहकारी सञ्चालकले आफ्नो आसेपासेबाहेक कसैलाई मल नदिएको गुनासो पोख्नुभयो । 

कृषि सामग्री कम्पनी लिमिटेड कपिलवस्तु शाखाकी निमित्त प्रमुख शोभा न्यौपानेका अनुसार धान रोपेपछि शाखामा एक पटक मल आएको बताउनुभयो । बिचमा मल आएका कारण समस्या भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मलको माग धेरै छ तर मल कोटा अनुसार आएकाले कृषकलाई धेरै समस्या परेको छ ।” 

जिल्लामा गहुँ खेतीका लागि पाँच हजार मेट्रिक टन युरिया र डिएपी लाग्ने गरेको छ । यहाँ वार्षिक रूपमा २० हजार मेट्रिक टन युरिया र १५ हजार मेट्रिक टन डिएपी मल खपत हुन्छ । 

कपिलवस्तुमा भारतबाट आयात गरिने मलखाद चर्को मूल्यमा खरिद गर्नु परेको किसानको दुःखेसो छ । मल नपाउँदा यस वर्ष उत्पादन घट्ने भन्दै कृषक चिन्तित भएका छन् । मल आपूर्ति गर्ने निकायले कृषि सहकारीमार्फत मल वितरण गर्दै आएको छ ।