• ५ मंसिर २०८१, बुधबार

गुठी समृद्धिको आधार

blog

दाताले आफ्नो चल अचल सम्पत्ति वा आयस्ता आउने अरू कुनै सम्पत्ति वा रकममा आफ्नो निजी हक छाडी सार्वजनिक हितका लागि समर्पण गर्ने गर्छन् । गुठी भनेको कुनै सामाजिक वा धार्मिक कार्य निरन्तर रूपले सञ्चालन गर्न आफ्नो सम्पत्तिको हक वा स्वामित्व हस्तान्तरण पनि हो । जसले गुठी स्थापना गर्छ वा राख्छ, उसले सँगसँगै त्यस्तो सम्पत्तिमा आफ्नो हक पनि छाड्छ । गुठीको सिर्जनासँगै व्यक्तिको हक समाप्त हुन्छ । गुठी व्यक्तिको हक समाप्त हुने र समूह, समुदाय वा सम्प्रदायको हक सिर्जना हुने प्रक्रिया भएकाले गुठी राख्नेले आफ्नो इच्छापत्रमार्फत व्यक्त इच्छालाई नमासिने गरी जोगाई निरन्तरता प्रदान गर्नु पर्छ । जसले गर्दा गुठी परम्परा जोगिई धार्मिक रूपमा देश समृद्ध भई रहन्छ ।

नेपाल प्राचीनकालदेखि नै विभिन्न देवालय, शिवालय, मठ, मन्दिर, चैत्य, गुम्बा, पाटी, धर्मशाला, अनाथालय, पाकशाला आदिले भरिपूर्ण देशको रूपमा चिनिँदै आएको छ । यस किसिमका धार्मिक, सांस्कृतिक, शैक्षिक, सामाजिक, परोपकारी र स्वास्थ्यसम्बन्धी धरोहरहरूको स्थापना, निर्माण, सञ्चालन र व्यवस्थापनमा राज्य र निजीस्तरबाट समेत महत्वपूर्ण कार्यहरू हुँदै आएका छन् । देवालय, शिवालयलगायतका धार्मिक प्रतिष्ठानहरू खडा गर्ने, तिनको रेखदेख र सञ्चालन गर्ने, दीर्घकालसम्म सञ्चालन र व्यवस्थापनमा सघाउ पु¥याउने उद्देश्य राखी चल अचल सम्पत्तिको जोहो गरी गुठी खडा गर्ने प्रचलनको सुरुवात लिच्छविकालदेखि हुँदै आएको पाइन्छ । नेपाली समाजमा विद्यमान परम्परालाई जीवित राख्दै एकातिर धर्म र संस्कृतिको संरक्षण गर्न सकिन्छ भने र अर्कातर्फ समाज र राष्ट्रको उत्थान गर्ने महान उद्देश्यलाई पूरा गर्न सकिन्छ । 

परम्परादेखि चलिआएको प्रचलन, सम्पदा र सभ्यता व्यक्तिको जीवनको अधिकारकै रूपमा रहन जाने  हुन्छ । सांस्कृतिक, धार्मिक सम्पदाले इतिहास बोलिरहेका समेत हुन्छन । यसबाट नै व्यक्ति एवं समाज अपनत्व, जिम्मेवारी, उत्तरदायित्व, नैतिकता, मानवीयता जस्ता तत्वले युक्त हुन जान्छ । धर्म, सम्पदा सभ्यताको संरक्षणबाट समाज अझ परिस्कृत हुन जान्छ । यसले समाजलाई संयमित एवं मर्यादित बनाउन मद्दत गर्छ, जुन काम गुठी संस्थानले जिम्मेवारीपूर्वक गरी आएको छ । अनेकतामा एकताको रूपमा छरिएर रहेका धार्मिक, भाषिक, सांस्कृतिक स्वरूप नै नेपाल र नेपालीका विशेषता हुन । संस्कृति समाजको ऐना हो । समाजको पहिचान संस्कृतिले बोकेको हुन्छ र त्यही संस्कृतिमै सभ्यता र पुर्खाको इतिहास मिसिएको हुन्छ । सभ्य र सचेत समाजमा संस्कृतिका नकारात्मक पक्षलाई परिमार्जन गर्दै जगेर्ना, उत्थान र संरक्षणमा लाग्न आवश्यक देखिन्छ, जसले राष्ट्रिय समृद्धि हासिल गर्ने आधार तय गर्छ ।

हाम्रो राष्ट्रिय सङ्कल्प हो– समृद्ध नेपाल, सुखी नेपाली । हाम्रो राष्ट्र समृद्ध हुन यहाँका सबै पक्ष चलायमान हुन आवश्यक हुन्छ । वास्तवमा समृद्धि भनेको बहुआयामिक सम्पन्नता हो । समृद्धिले मानवजीवनका सबै क्षेत्रमा सम्पन्नताको माग गर्छ । राज्यका सबै अङ्गलाई जिम्मेवार ठान्छ, प्रत्येक मानिसको आआफ्नो क्षेत्रमा जिम्मेवार र गतिशील भूमिकाको अपेक्षा गर्छ । मनसा, कर्मणा, वाचा अर्थात् मन, कर्म र वचनले सबै सक्रिय नभएको अवस्था समृद्धि हुन सक्दैन । यी सबै गतिशीलता गुठी व्यवस्थाले नै गरिआएको छ ।

अहिले राज्य धर्मनिरपेक्ष छ । धर्मसापेक्ष हुँदा राज्य सञ्चालनमा रहेकाहरूलाई रचेका धार्मिक स्थानहरूको विकासको वातावरण थियो तर सबै जाति, धर्म, आस्थाका प्रतीक स्थलहरू राज्य र शक्तिको दृष्टिमा पर्दैन थियो । अहिले राज्य सबै धर्मको पक्षमा, सबै आस्था र मान्यताको पक्षमा छ । यस मान्यताले जनताले नै आफ्नो धर्मको, आस्थाको जतन गर्ने अवस्थाको बाटो खोलिदिएको छ । उहिले महाभारतमा लेखिएको–धारणाद्धर्ममित्याहु धर्मो धारयते प्रजाः अर्थात् धारण गरिने भएकाले धर्म भनिएको हो । धर्मलाई प्रजा जनताले धारण गर्छन् । धर्मका विषयमा ‘राज्यधर्म–राज्यको धर्म’ भनेको जनजनका आस्था, निष्ठा र तिनीहरूको आजा–पूजामा बाधा पुग्न नदिनु नै हो । निर्भीकतापूर्वक मानिसहरूले आफ्ना आस्था र निष्ठा पालन गर्न र प्रकट गर्न पाउने वातावरण दिने नीति राज्यले अवलम्बन गर्नु पर्छ ।

पछिल्लो समयमा धार्मिक विषयहरू, पारम्परिक जात्रा पर्वहरू आदि सीमित हुँदै आइरहेको देखिन्छ । यसको मुख्य कारण धर्मनिरपेक्षता होइन । मानिसहरूका आधारभूत आवश्यकता नै विलासी भइसके । गाउँबस्तीका सीमित साधनस्रोतले मानिसलाई पुगेन । हिमालका मानिसहरू पहाड, पहाडका मानिसहरू तराई, गाउँका मानिसहरू सहर, सहरका मानिसहरू सदरमुकाम, सदरमुकामका मानिसहरू प्रदेश राजधानी, प्रदेश राजधानीका मानिस राष्ट्रिय राजधानी जाने क्रम बढेको छ । यसले धर्मसंस्कृतिका स्वरूपमा परिवर्तन ल्याइदिन्छ र कतिपय अवस्थामा उदासीन पनि बनाइदिन्छ । त्यसको परिणाम यहाँ प्रकट भएको छ । परम्परागत संस्कारमा परिवर्तन आउने कारणमा अन्य धेरै पक्ष छन् । धर्मसापेक्ष राज्यले अनिवार्यता थोपरेको थिएन र धर्मनिरपेक्ष हुँदा निषेध गरेको अवस्था पनि होइन । समायनुकूल संरक्षण गर्दै जानु नै समृद्धिको आधार हो ।

पृथ्वीनारायण शाहले भने झैँ नेपाल चार वर्ण छत्तिस जातको साझा फूलबारी हो । यो फूलबारीमा फुल्ने हरेक फूल यस देशका गहना हुन, सम्पत्ति हुन । यहाँ बसोबास गर्ने हरेक सबैका आआफ्ना संस्कार, संस्कृति, विधि र विधान छन् । यही कारणले पनि विदेशीहरू नेपाली संस्कृतिको व्याख्या गर्ने गर्छन् र हेर्न आउने गरेका छन् । विभिन्न जातजाति, भाषाभाषीको फूलबारीका रूपमा चिनिएको नेपाल सांस्कृतिक रूपमा अन्य विकसित मुलुकभन्दा अगाडि छ । विविध जातजातिका यस्ता मौलिक संस्कृतिको जगेर्ना गर्दै भाबी पुस्तालाई आफ्ना जातीय संस्कृति, भाषा, भेषभुषा, परम्परा र रीतिरिवाजलाई सकारात्मक सन्देशसहित पुस्तान्तरण गर्नुपर्ने दायित्व पनि हामीले बोकेका छौँ । त्यसै पनि भाबी पुस्ताका लागि इतिहास खुला किताब हो । मौलिक पर्वहरूको जगेर्ना गर्दै समुदायलाई चलायमान गराई स्वच्छ, निष्पक्ष, भाइचारा, एकताबद्धका कार्यक्रम ल्याएर सबैलाई एकत्रित गर्न सक्ने ल्याकत एक मात्र गुठी परम्पराको माध्यमबाट गुठी संस्थानले गर्दै आएको छ । यसका लागि गुठी संस्थानलाई थप सशक्त बनाउनेतर्फ राज्य सञ्चालनका रूपमा रहेका तिनै तहका सरकार थप संवेदनशील हुन आवश्यक देखिन्छ । त्यसो भएमा राज्यले लिएको समृद्ध नेपाल सुखी नेपालीको नाराले सार्थकता प्राप्त गर्न सक्छ ।

गुठी कुनै एउटा धार्मिक सम्प्रदाय वा सांस्कृतिक समुदायसँग मात्र सम्बन्धित विषय होइन । यो त एउटा पद्धति र प्रक्रिया हो । यसमा मेरो भनिएको वस्तुलाई हाम्रोमा परिणत गरिएको हुन्छ । दाताले आफ्नै समुदायको हितलाई ध्यानमा राखी तथा सार्वजनिक प्रयोगमा उपभोग गर्ने गरी गुठी राखिदिएको हुन्छ । जसले धार्मिक उन्नति, सांस्कृतिक जगेर्ना तथा सामाजिक उपभोगका लागि आफ्नो सम्पति समर्पण गरेको हुन्छ । निश्चित उद्देश्य राखेर अर्पण गरिएको सम्पत्ति त्यही उद्देश्य प्राप्तिमा उपयोग गरिनु पर्छ । गुठी सम्पदा, गुठी संस्कृति र त्यसमा जोडिएको मूल्य मान्यताहरूमा चोट पुग्नु भनेको समाज र राष्ट्रका लागि ठुलो नोक्सानी हो । तसर्थ गुठी सम्पदाको संरक्षणबाट नै देशको समृद्धिको आधार तय हुने कुरामा दुई मत हुन सक्दैन ।

अतः गुठी परम्परालाई नेपालको मौलिक सम्पदा, संस्कृति सामुदायिक पुँजीको रूपमा लिन सकिन्छ । जसको कारण नेपाल विश्वभर चिनिएको छ । संस्कृति, मौलिक सम्पदा देशको अस्तित्वसित गाँसिएको हुनाले गुठी संस्कृतिलाई संरक्षण र संवर्धन गर्न सरकारले संस्कृतिविद्, गुठी सञ्चालक, गुठीयार र सरोकारवालाहरूसँग छलफल चलाउनु जरुरी छ । समृद्धिको नारालाई सार्थक बनाउने हो भने नेपालको जीवन्त सम्पदा र संस्कृतिको जगेर्नामा गुठी परम्पराको मर्मबमोजिम ऐन बनाई कार्यान्वयनमा ल्याउनु पर्छ । यसो गर्न सके मुलुकको समृद्धिको नारालाई अँगालेर अघि बढ्न उल्लेखनीय योगदान पुग्ने देखिन्छ । 

 

Author

जनक पोखरेल