प्रत्येक व्यक्तिलाई लाग्छ–जीवन प्रायः अन्योलपूर्ण हुन्छ । हामी खुसीको खोजी गर्छौं, दुःखबाट टाढा रहन चाहन्छौँ र जीवनको अर्थ बुझ्ने प्रयास गर्छौं तर सही उत्तर बाहिरी संसारमा होइन, हाम्रोभित्र नै लुकेको हुन्छ । हाम्रोभित्रबाट सधैँ एउटा प्रश्न जागृत हुन्छ– के हाम्रो सही स्वरूप पहिले नै पूरक, स्वतन्त्र र शान्त छ ? यही प्रश्नको जवाफ खोज्ने माध्यम हो–सजगता । सजगता कुनै धर्म वा सैद्धान्तिक कुरामा सीमित छैन । यो हाम्रै अनुभवमा आधारित सत्य हो । यसको अनुभूति गर्न कसैलाई पण्डित, योगी वा साधु हुनु पर्दैन ।
सजगताको स्वरूप
सजगता कुनै देखिने वा छुने वस्तु होइन । यो सधैँ हामीसँगै हुन्छ । हामीलाई जीवित छौँ भन्ने बोध गराउने शक्ति यही हो । हामी जे अनुभव गर्छौं, त्यो सबै सजगताको द्वारबाट भित्र आउँछ । हामी विचार हौँ भन्ने भ्रम हटाएर, विचारलाई देख्ने ‘द्रष्टा’ हौँ भन्ने सत्य बुझ्दा हामीलाई आत्म–साक्षात्कार हुन्छ । हाम्रो नाम, भूमिका, पेसा वा भावनाहरू परिवर्तनशील हुन्, तर ती सबैभन्दा पर, सधैँ स्थिर रहने तत्व नै सजगता हो । हामी परिवर्तनशील वस्तु होइनौँ, हामी ती वस्तुहरूलाई देख्ने, अनुभव गर्ने चेतन शक्ति हौँ । हामी सामान्यतया आफूलाई नाम, भूमिका वा अवस्थामार्फत चिनाउँछौँ–जस्तै म आमा हुँ, म मन्त्री हुँ, म दुःखी छु, म सम्पन्न छु आदि आदि तर यी सबै क्षणिक अवस्था हुन् । साँचो ‘म’ त त्यो हो जसले यी सबै अवस्था परिवर्तन हुँदै गएको देख्छ । जब हामी यो बोधमा पुग्छौँ कि ‘म शरीर, विचार, भावना होइन’, त्यो क्षणमा आन्तरिक शान्ति र स्वतन्त्रता जन्मिन्छ ।
सजगता न त रङमा हुन्छ, न त उमेर वा आकारमा । यो हरेक क्षणमा उपस्थित हुन्छ–तपाईं हिँड्दा, बोल्दा, सोच्दा वा चुप लाग्दा पनि । हाम्रो विचार र भावना समुद्रका छाल जस्ता हुन्, जुन आउँछन् र जान्छन् । तर सजगता त्यो समुद्र स्वयम् हो, जुन सधैँ स्थिर रहन्छ । यही स्थिरतामा टिक्न सक्ने क्षणमा हामी पीडाबाट मुक्त हुन थाल्छौँ ।
त्याग्न सक्ने ज्ञान
साँचो ज्ञान पुस्तकमै मात्र सीमित हुँदैन । त्यो त स्पष्ट देख्न सक्ने क्षमताबाट आउँछ । हरेक भावना, चाहे खुसी होस् वा दुःख, समयसँगै परिवर्तन हुन्छ । जब हामी यो सत्य गहिरोसँग बुझ्छौँ, हामी विचलित हुने वा डराउने अवस्था आउँदैन । हामीसँग त्यो त्यागको ज्ञान हुन जरुरी छ, जसले सजिलैसँग हाम्रा अपेक्षाहरू, पीडाहरू र विगतका घटनालाई त्याग्न सकौँ, बिर्सन सकौँ । यही त्यागको क्षणमा नै स्वतन्त्रता अनुभव हुन्छ ।
सत्यको खोजीकर्ता
सत्यको खोजीकर्ताले सफलता, सम्पत्ति वा सम्मानभन्दा पर जान चाहन्छ । उसले साँचो शान्तिको खोजी गर्छ –जुन बाहिरी परिस्थितिमा निर्भर हुँदैन । उसले आफ्ना विचारहरूलाई पनि निरीक्षण गर्छ र विश्वास गर्नुअघि परीक्षण गर्छ । सत्यको खोजीकर्ता दयालु, खुला र निर्भय हुन्छ ।
सबै एकै चेतनाका रूप
आन्तरिक यात्राको सबैभन्दा गहिरो बोध यो हो कि हामी सबै एकै चेतनाका अभिव्यक्ति हौँ । यो अद्वैतको सिद्धान्त हो –जहाँ विभाजनको भ्रामक पर्दा हट्छ । हामी अरूलाई दोष दिन छाड्छौँ, तुलना गर्न रोक्छौँ र हरेक कुराप्रति एक प्रकारको मौन प्रेम अनुभूत गर्छौं । यही बोधबाट सहिष्णुता र करुणा उत्पन्न हुन्छ ।
जीवनलाई स्पष्ट देख्नु
जीवन सदैव परिवर्तनशील छ । मान्छे, भावना र परिस्थिति कहिल्यै स्थायी हुँदैनन् । यो बोध सुरुमा डर लाग्दो हुन सक्छ तर पछि यही बोधले स्वतन्त्र बनाउँछ । जब हामी सबै वस्तु क्षणिक हुन् भन्ने बुझ्छौँ, हामी वर्तमानमा बाँच्न थाल्छौँ –चिन्ताबिना, अपेक्षाबिना ।
मौनताको वरदान
मौनता कुनै खालीपन होइन, त्यो त भित्रको गहिरो शान्ति हो । ध्यानद्वारा हामी यस मौनतामा स्थित भएर सजगताको अनुभूत गर्न सक्छौँ । श्वासमाथि ध्यान केन्द्रित गर्दै, विचारहरू आउन दिनु, जान दिनु–जस्तो आकाशमा बादल आउँछन् र जान्छन् । अन्ततः मन शान्त हुन्छ र तपाईंको आफैँसँग मिलन हुन्छ ।
राम्रो वा नराम्रोभन्दा पर
जसरी हामी जीवनमा सबै कुरा राम्रो वा नराम्रो भनेर छुट्याउँछौँ, त्यो दृष्टिले हामीलाई बाँधेर राख्छ । सजगताको दृष्टिबाट हेर्दा जीवन केवल ‘जस्तो छ, त्यस्तै हुन्छ । न राम्रो, न नराम्रो ।’ सही स्वतन्त्रता भनेको परिणाममा चिप्लिनु होइन–प्रेम, स्पष्टता र सजगताबाट क्रियाशील हुनु हो ।
सिद्ध पुरुषको मार्ग
जो सजगताको बोधमा पुगेका छन्, तिनै सिद्ध पुरुष हुन् जो संसारका प्रभावबाट मुक्त हुन्छन् । उनीहरू न त प्रशंसाबाट उफ्रन्छन्, न त आलोचनाबाट तर्किन्छन् । उनीहरूको जीवन सरल, दयालु र प्रेमपूर्ण हुन्छ । साँचो गुरु भन्नाले अरूलाई नियन्त्रण गर्ने होइन तर आफैँलाई जित्ने हो । त्यो जरुरी मार्ग पत्ता लगाउने अवसर हामी सबैका लागि खुला छ । असली गुरु चिन्न सक्नु पर्छ, बजारमा जो आयो त्यो गुरु हुन सक्दैनन् । अपेक्षा बोकेर, प्रख्यात हुने होडमा लागेका गुरुहरूप्रति सजग भएर हिँड्नु पर्छ ।
वास्तविक खुसी
वास्तविक खुसी सम्पत्तिमा होइन, बाह्य प्रेममा होइन–त्यो त भित्रको बोध हो । जब हामी खोज्न रोकिन्छौँ र आफूमा फर्किन्छौँ, त्यही क्षणमा वास्तविक आनन्दको अनुभव हुन्छ । हामी पहिले नै पूरक छौँ, स्वतन्त्र छौँ– यही बोध नै शाश्वत शान्तिको ढोका हो । अहिले प्रचलित लाइक र फ्लोअर्सले खुसी मिल्ने भ्रम छ तर यी सबै क्षणिक छन् । जब यी कुरा हट्छन्, हाम्रो खुसी पनि हराउँछ । वास्तविक खुसी भनेको कुनै वस्तु होइन, जुन खोजेर पाइन्छ । त्यो त हाम्रो भित्रै लुकेको अवस्था हो –जुन केवल सजगता, मौनता र आत्म स्वीकृतिबाट प्रकट हुन्छ । जब हामी खोज्न बन्द गर्छौं र आफूभित्र फर्किन्छौँ, त्यही क्षण वास्तविक आनन्द प्रकट हुन्छ । त्यो खुसी परिस्थितिसँग होइन, चेतनासँग जोडिएको हुन्छ । त्यसैले सजग बनाउन वास्तविक खुसी बाहिरी कारणमा आधारित हुँदैन । वास्तविक खुसी दिन, सप्ताह र वर्षको लक्ष्य होइन, यो ‘अहिले र यहीँ’ को अनुभूति हो । खुसीको कुनै प्रतिस्पर्धा छैन, तुलना छैन–केवल स्वीकृति र उपस्थिति छ । तपाईं खुसी हुनुहुन्छ भन्ने होइन –तपाईं सदा खुसी नै हुनुहुन्छ भन्ने अनुभूति हुन्छ ।
‘सत्य, प्रेम र शान्तिमा बस्न सक्नु नै सबैभन्दा गहिरो खुसी हो’ –भगवद्गीतामा उल्लेख गरिएको तात्पर्य यही नै हो । ‘खुसी त्यो होइन जुन तिमी खोजिरहेछौँ, त्यो त तिम्रो मौन उपस्थिति हो’–ओशोले यही सजगता र साक्षीलाई खुसीको उपमा दिनुभएको थियो ।
आन्तरिक यात्राको रहस्य
आन्तरिक यात्रा सरल छ, तर सजिलो भने होइन तर साहस, धैर्यता र इमानदारिताबाट सुरु गरिने यो यात्रा अवश्य फलदायी हुन्छ । यस यात्राबाट हामी पाउँछौँ– शान्ति, स्पष्टता र स्वतन्त्रता । त्यसैले एक गहिरो सास लिनुहोस्, चुप बस्नुहोस् र बिर्सनुहोस्, तपाईंले खोजिरहनुभएको प्रकाश पहिलेदेखि नै तपाईंभित्रै प्रज्ज्वलित भइरहेको छ । मौनता या ध्यान भनेको भाग्नु होइन, त्यो त आफूभित्रको आफू भेट्ने साहसी यात्रा हो । बाहिर खोज्दा भ्रम भेटिन्छ, भित्र फर्किंदा सत्य भेटिन्छ । वास्तविक स्वतन्त्रता तब आउँछ, जब हामी परिणाममा होइन, सजगतामा जिउन थाल्छौँ । व्यक्ति कोही कुनै विशेष बन्नु पर्दैन, केवल आफू बन्ने साहस गर्नुहोस् । तपाईं पहिले नै पूर्ण हुनुहुन्छ ।