एक्काइसौँ शताब्दीको डिजिटल पुस्ताको विद्यार्थी २० औँ शताब्दीको शिक्षक र पाठ्यक्रम तथा १९ औँ शताब्दीको विधिमा आधारित खण्डहर कक्षा कोठाबिचको तालमेल नमिलेर नै युवा पुस्ता देशको लगानीयोग्य रकमसहित तीव्र रूपमा पलायन भइरहेको छ ।
युवाको क्षमता विकास नै देश विकासको आधार हो । शिक्षा, सिप र सदाचारले युवालाई युक्त बनाउनुलाई उनीहरूको क्षमता विकासको रूपमा लिन सकिन्छ । यसरी नै देशलाई आवश्यक पर्ने जनशक्ति निर्माण गरेको पाइन्छ । यसलाई मानव पुँजी निर्माण पनि भनिन्छ । उच्च शिक्षा हासिल गरी मुलुकको मानव संसाधन विकासलाई टेवा प्रदान गरी मुलुकको विकासमा योगदान गर्न नेपालबाट विगतदेखि नै अध्ययन अनुमति लिएर विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाने गरेको पाइन्छ । यसरी विदेशमा अध्ययन गर्न जाँदा मुलुकको जनशक्तिको आवश्यकतालाई आकलन गरेर नेपाल सरकार आफैँले वा विदेशी सरकारले देशमा आवश्यक पर्ने जनशक्तिको उत्पादन हुने गरी छात्रवृत्ति प्रदान गरिने प्रचलन रहेको थियो ।
यसका लागि नीतिगत मार्गदर्शन पनि प्राप्त थियो । वैदेशिक अध्ययनको कानुनी आधार छात्रवृत्तिसम्बन्धी ऐन, २०२१ र छात्रवृत्तिसम्बन्धी नियमावली, २०६० रहेको छ । यसलाई थप व्यवस्थित र सहज बनाउन र निजी खर्चमा विदेशमा पढ्न जाने क्रम बढेकाले त्यसलाई व्यवस्थित गर्न ‘विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली नागरिकले लिनुपर्ने पूर्वस्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) लिने कार्यलाई सहज, सरल, तथ्यपरक, व्यवस्थित, प्रविधिमैत्री तथा प्रभावकारी बनाउन र विदेशी मुद्रा सटही सिफारिससम्बन्धी कार्यलाई व्यवस्थित गर्न वाञ्छनीय भएको’ उल्लेख गरी सरकारले वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ नै जारी गरेको छ । यही कार्यका लागि अनलाइन एप्लिकेसन प्रणाली पनि निर्माण गरिएको छ । यसमार्फत दैनिक एक हजारभन्दा बढी नेपाली विद्यार्थीले अध्ययन अनुमतिका लागि आवदेन गर्ने गरेका छन् ।
माथिको तालिकाबाट पछिल्लो केही वर्ष यसरी विदेश जाने विद्यार्थीको सङ्ख्या अनपेक्षित रूपले बढदै गएको देखिन्छ । विगत १२ वर्षमा अध्ययन अनुमति लिनेको सङ्ख्या छ लाख ५० हजारभन्दा बढी रहेको छ । यो सङ्ख्या प्रत्येक वर्ष सो अवधिमा सरदर छ प्रतिशतले बढेको देखिन्छ । कोभिड–१९ अवधिलाई गणना नगर्दा भने यस्तो वृद्धिदर करिब २० प्रतिशत हुन आउँछ । पछिल्ला केही वर्षमा कोभिड–१९ अवधिको सङ्ख्यालाई आधार मान्दा ७१ प्रतिशतसम्मले बढेको छ । यसरी अध्ययन गर्न गएका युवामध्ये देशमा फर्किएको जनशक्तिको यकिन विवरण भने उपलब्ध हुन सकेन ।
एकातिर यसरी अध्ययन गर्न जाँदा बर्सेनि अर्बौं रुपियाँ बिदेसिने गरेको र मुलुकभित्र स्थापित कलेजमा विद्यार्थीको सङ्ख्या घट्दै गएको छ भने अर्कोतिर यसरी विदेश जाने विद्यार्थीको उतै बसोबास गर्ने दीर्घकालीन सोच रहने भएकाले भविष्यमा मुलुकका लागि आवश्यक दक्ष जनशक्तिको कमी हुने देखिन्छ । विद्यार्थीको सङ्ख्या स्वाट्टै घटेकाले कतिपय कलेज गाभ्नु परेकाले त्यसमा कार्यरत शिक्षक कर्मचारीको रोजगारी खोसिएको अवस्था पनि छ । मुलुकको मानव संसाधनको विकास तथा व्यवस्थापनमा तत्कालीन र दीर्घकालीन प्रभाव पारेकाले यो विषयले मुलुकको विकास प्रक्रियालाई पनि प्रतिकूल प्रभाव पार्ने देखिएको छ । युवा जनशक्ति पलायनले देशको उत्पादन तथा उपभोगको शृङ्खला पनि खल्बलिएको छ । स्वदेशी वस्तुको समग्र माग घटेकाले उत्पादन पनि घटाउनु परेको छ । यसले रोजगारी सिर्जनालाई पनि प्रतिकूल प्रभाव पारेको छ । यसलाई गम्भीर महìवका साथ उठान गर्नुपर्ने देखिन्छ ।
विदेशमा अध्ययन गर्न जाने प्रक्रियालाई सहजीकरण गर्न खुलेका शैक्षिक परामर्श केन्द्रमा विकृति पनि देखिएका छन् । यसलाई निराकरण गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विदेशमा अध्ययन तथा शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्ने सम्बन्धमा छुट्टै कानुन बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बैठकले नेपाली विद्यार्थी विदेश पढ्न जाने उपयुक्त विषय तथा देशको सूची बनाएर सोही अनुरूप अनुमति दिनसमेत निर्देशन दिएको छ ।
नेपाली पढ्न जाने गन्तव्य मुलुकसँग नेपाल सरकारलाई सोसम्बन्धी सम्झौता प्रक्रियासमेत अगाडि बढाउन समितिले निर्देशन दिएको परामर्श केन्द्रले म्यानपावरको काम गरेको अवस्था पनि विद्यमान छ । अर्कोतिर अध्ययन अनुमति कार्यालयमा सेवाग्राहीको सङ्ख्या बढेकोले व्यवस्थापन गर्न असहज भएको अवस्था छ । हालै त्यँहा हुने गरेका अनियमितताका फहरिस्त पनि सार्वजनिक भएका छन् । मुलुकको मानव संसाधन विकास र विदेशमा अध्ययन अनुमति प्रदान गर्ने कामको बिचमा अन्योन्याश्रित सम्बन्ध हुन्छ । देशको आवश्यकता के हो, कुन विषय पढ्न विदेश जान दिने, कुन विषय पढ्न विदेश जान नदिनेलगायतको स्पष्ट मापदण्ड बनाउनुपर्ने आवश्यकताको अनुभूति गरिएको छ । विदेशी छात्रवृत्ति प्राप्त गरेकालाई मात्र दिने कि, सबैलाई दिने ? यस विषयमा गम्भीर तवरले बहस नभएको अवस्था पनि छ । पछिल्लो समयमा विद्यार्थी विभिन्न मुलुकमा अलपत्र परेको उजुरी प्राप्त हुने गरेकोले शैक्षिक परामर्श केन्द्रको विकृति अन्त्य गर्न र ठगी नियन्त्रण गर्न अनुसन्धान र कारबाही पनि अगाडि बढाउनु आवश्यक छ । रुसबाट युक्रेनमा खटिएर मृत्यु हुने करिपय नेपाली युवा अध्ययनका लागि रूस गएका भन्ने खबर पनि सार्वजनिक भएका छन् ।
नेपालबाट युवा जनशक्ति पलायन हुनुका विभिन्न कारण रहेका छन् । पहिलो, देशको उच्च शिक्षाको गुणस्तर र व्यवस्थापन कमजोर हुनु हो । कमजोर गुणस्तरको कारण पूर्वाधार विकासमा कम लगानी हुनु, विश्वव्यापी श्रम बजारको माग अनुसारको जनशक्ति उत्पादन गर्ने गरी हाम्रा शैक्षिक संस्थाको पाठ्यक्रमको समसामयिक परिमार्जन नगरिनु र विश्वस्तरको प्रविधिको उपयोग गरिएको शैक्षिक प्रणाली निर्माण गर्न नसक्दा कमजोर पठन–पाठन हुनु हो ।
शैक्षिक क्यालेन्डरको परिपालना हुन नसक्नुले पनि गुणस्तर खस्किएको र विद्यार्थीको पढाइ पूरा गर्ने तथा रोजगारीमा प्रवेश गर्ने समयको अनिश्चितता बढेको हो । शिक्षक, कर्मचारी, व्यापारी, विद्यार्थी, कामदार, डाक्टर, इन्जिनियर, प्राध्यापक, पत्रकार, बुद्धिजीवीहरू राजनीतिक दलको सदस्य बन्नुपर्ने बाध्यताले उनीहरूको पेसागत व्यावसायिकतामा कमी देखिन्छ । विद्यालय र विश्वविद्यालयलाई राजनीतिबाट टाढा राख्न नसक्दा प्रभावकारी नियमन नहुने भई शैक्षिक गुणस्तर खस्किएकाले पनि युवा जनशक्तिले विदेश पलायनको बाटो रोजेको हो । एक्काइसौँ शताब्दीको डिजिटल पुस्ताको विद्यार्थी बिसौँ शताब्दीको शिक्षक र पाठ्यक्रम तथा उन्नाइसौँ शताब्दिको विधिमा आधारित खण्डहर कक्षा कोठाबिचको तालमेल नमिलेर नै युवा पुस्ता देशको लगानीयोग्य रकमसहित तीव्र रूपमा पलायन भइरहेको छ । समग्रमा गुणस्तरीय शिक्षा प्राप्तिका लागि नेपाली युवा जनशक्ति पलायन हुने गरेको छ ।
नेपालको श्रम बजारमा पर्याप्त रोजगारीका अवसरको कमीले युवा पलायन बढेको हो । बढ्दो आयातले नेपालमा उत्पादन हुने वस्तुहरूको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएकाले उद्योगधन्धा फस्टाउन सकेका छैनन् । भएका उद्योग पनि बन्द हुँदै गएका छन् । पहिला स्नातकोत्तर तहको उच्च शिक्षाको लागि विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाने गरेकोमा पछिल्लो समयमा माथि उल्लिखित दुई कारणको प्रबलताले गर्दा नेपालबाट १२ कक्षा उत्तिर्ण गरेपछि स्नातक तहको अध्ययनकै लागि धेरै नेपाली विद्यार्थी जाने गरेका छन् । यसले देशको जनसाङ्ख्यिकीय लाभलाई अवमूल्यन गर्दै विकासलाई प्रतिकूल असर गर्ने निश्चित छ ।