• २५ पुस २०८१, बिहिबार

‘जहाँ मान्छे जसरी गिद्धको उपचार गरिन्छ’

blog

संरक्षणका लागि जटायु रेष्टुरेन्टमा राखिएको गिद्ध । तस्विरः बोमलाल गिरी

नवलपुर, मंसिर ३ गते । बाहिर सयौँको सङ्ख्यामा रहेका बथानका गिद्ध रुखमा बसिरहेका छन् । कतिबेला सिनो हालिदेलान् र खान पाउँला भनेर कुरिरहेका छन् । नजिकै एउटा सानो तारबार गरी टिन लगाएको चिडियाखानाजस्तो देखिने पिँजडा छ । जसमा तीन वटा गिद्ध टिठलाग्दो अवस्थामा बसेका छन् । एउटाले आँखा देख्दैन, दुईवटा पखेटामा समस्या भएर उड्न नसक्ने गरी थला परेका छन् । 

यिनै गिद्धको उपचारमा लागिरहेको छ, नवलपुरको कावासोती १३ मा रहेको जटायु रेस्टुरेन्ट । प्रकृतिका कुचीकार मानिने गिद्धलाई महाभारतसँग जोडेर धार्मिक हिसाबले जटायु भनिन्छ । तिनै जटायु गिद्धलाई खाना खुवाइ संरक्षण गर्ने हिसाबले देशभर सातवटा जटायु रेस्टुरेन्ट सञ्चालनमा छन् । तिनै मध्येको एक हो, कावासोतीमा रहेको जटायु रेस्टुरेन्ट, जसले अन्य रेस्टुरेन्टमा बिरामी परेका र खुल्ला रूपमा अन्यत्र रहेका बिरामी गिद्धको उपचार गरिरहेको छ ।

२० वर्षदेखि गिद्धको आहार र संरक्षणमा जुटेका हेरालु यामबहादुर नेपालीका अनुसार यो पिँजडामा रहेको आँखा नदेख्ने गिद्धलाई जाजरकोटबाट, उड्न नसक्ने एउटालाई नेपालगन्जबाट उद्धार गरेर ल्याइएको हो भने अर्को यहीँ बिरामी परेको छ । 

‘उनीहरूलाई विगत चार वर्षदेखि निरन्तर उपचार गरिरहे पनि आँखाको ज्योति फर्काउन र पखेटामा समस्या भएकालाई उड्न सक्ने बनाउन सकिएन, नेपालीले भन्नुभयो, ‘उनीहरूलाई अब बाचुन्जेल यही पिँजडामा राखेर रेखदेख गर्नुपर्ने भएको छ ।’


दुईवटा हिमाली गिद्ध र एउटा सानो खैरो (स्ल्याण्डर बिल) प्रजातिका गिद्ध पहिले नै मर्नेजस्ता थिए । ‘यहाँ ल्याएर स्लाइन पानी चढाउँदै, भिटामिन र पर्याप्त मासु दिएर औषधोपचार गरेपछि अलि टाठा त भएका छन् तर जङ्गलमा छोड्ने अवस्थाका भएनन्, हेरालु नेपालीले भन्नुभयो, ‘अरू गिद्धजस्तो रुखमा गएर बस्न सक्दैनन्, छोडिदिने हो भने मर्छन् भनेर पिँजडामै राखेर पालिरहेका छौँ ।’ उहाँका अनुसार यी गिद्ध जन्मजात बिरामी नभई हिमालबाट आउने क्रममा बिरामी परेका हुन् । कहिले खाना नपाएर, करेन्टमा परेर, मानिसले हानेर, असिनाले लागेर वा कहिलेकाहीँ झैझगडा गर्दा पनि गिद्ध घाइते हुने गर्छन् । 

यो रेस्टुरेन्टले अहिलेसम्म दुई सयको हाराहारीमा बिरामी गिद्धको उपचार गरेको नेपालीले बताउनुभयो । गत वर्ष विष हालेर मरेका जङ्गली जनावर खाएर नवलपुरमै बिरामी परेका ६ वटा गिद्धलाई बचाउन सकिएको उहाँको भनाइ छ । 

‘त्यतिबेला ६ वटा गिद्ध मरे, अन्य मर्ने अवस्थामा पुगेका ६ वटा गिद्धलाई यहाँ ल्याएर, गोजेरोमा संचयगरी राखेको खाना उकेलेर पालिदियौँ अनि स्लाइन पानी दिएर उपचार गरेपछि बाँच्न सफल भई आफ्नो वासस्थानमा फर्किए’, नेपालीले भन्नुभयो । 

जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष एवं चराविद् डिबी चौधरीले गिद्ध मात्र नभएर अन्य पन्क्षीहरुको पनि उपचार गरिरहेको बताउनुभयो । ‘नेपालको कुनै पनि भागमा चिल, उल्लु र गरुण प्रजातिका पन्क्षी बिरामी भए भने स्थानीयले हामीलाई खबर गर्नुहुन्छ, हामी तत्काल गएर उद्धार गरी उपचार गर्छौँ ।’

अहिले देशभर ७ वटा गिद्धलाई आहार खुवाउने यस्ता रेस्टुरेन्ट सञ्चालनमा भए पनि उनीहरूको उपचार भने कावासोतीमा मात्र हुने गरेको चौधरीको भनाइ छ । अन्यत्र सञ्चालनमा भएका रेस्टुरेन्टमा बिरामी हुँदा उपचार गर्ने पद्धति नभएकाले यही ल्याएर उपचार गर्ने गरेको उहाँले बताउनुभयो । 

‘चराहरूको उपचार निकै गाह्रो हुन्छ, सबै ठाउँमा उपचार गर्ने प्रविधि छैन, जनशक्ति छैन अनि ज्ञान र सीप पनि छैन, अध्यक्ष चौधरीले भन्नुभयो, ‘रोगअनुसार उपचार गर्नुपर्ने हुन्छ, चराहरूको अनुसन्धान गर्ने, रोग पत्ता लगाउने काम निक्कै गाह्रो छ, कुन औषधी प्रयोग गर्ने, कति आहार, कसरी खुवाउने भन्ने कुरा भेटेरिनरी चिकित्सकको सल्लाहअनुसार गर्छौँ’, चौधरीले भन्नुभयो । 


उपचार गरेर निको भएपछि गिद्धलाई आफ्नै वासस्थानमा फर्काइन्छ । ‘सानो पिँजडा (रेस्क्यु सेन्टर) बाट ठुलो पिँजडा (रिलिज एरिया) मा लैजान्छौँ, जहाँ उड्ने अभ्यास हुन्छ र हामीलाई विश्वास भएपछि प्राकृतिक वासस्थानमा छोड्ने गर्छौँ ।’ 

यो रेस्टुरेन्ट सञ्चालन गर्दा सन २००५ मा ७ प्रजातिका ७२ वटा मात्र गिद्ध थिए ।  सन् २०२३ मा यहाँ आठ प्रजातिका पाँचसय १७ वटा गिद्ध गणना भएका थिए । यहाँ हरेक पटक आहारा खुलाउने बेला गिद्धको गणना गरिन्छ । आइतबारको गणनामा दुईसय १३ वटा गिद्ध रहेका गिद्ध संरक्षणकर्मी देउबहादुर रानाले बताउनुभयो । 

अव हिमाल र साइबेरियाबाट आउने गिद्धले यो सङ्ख्या बढ्ने अनुमान गरिएको छ । गत वर्ष यो क्षेत्रमा एकसय जति गिद्धका गुण रहेकाले सङ्ख्या बढ्न रानाले बताउनुभयो । कावासोतीको ज्योतीकुञ्ज सामुदायिक वन, लामिचौर सामुदायिक वन, नमुना सामुदायिक वनलगायतमा गिद्धले गुण लगाई प्रजनन गर्ने गर्छन् ।

Author
बोमलाल गिरी

गिरी गोरखापत्रका लागि नवलपुर समाचारदाता हुनुहुन्छ ।