• २८ पुस २०८१, आइतबार

खानेपानी योजना निर्माण

blog

घोराही समाचारदाता

घोराही मङ्सिर ३ गते । घोराही उपमहानगरपालिका–२, रामपुरमा चार करोड रुपियाँभन्दा बढीको लगानीमा खानेपानी योजना निर्माण भएको छ । लुम्बिनी प्रदेश सरकारको तीन करोड ६९ लाख ८४ हजार २२२ रुपियाँ र जनश्रमदानबाट ४९ लाख २२ हजार १३४ रुपियाँको लागतमा अजम्बरी बृहत् खानेपानी तथा सरसफाइ योजनाको निर्माण भएको हो । 

आर्थिक वर्ष २०७५/७६ मा निर्माण सुरु भएको खानेपानी योजना आव २०८१/८२ मा सकिएको अजम्बरी बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दण्डपानी घिमिरेले बताउनुभयो । उहाँका अनुसार खानेपानी योजना निर्माण भएसँगै कुवासँगै स्थानीयलाई खोलामा जरुवा बनाएर पानी खानुपर्ने बाध्यता हटेको छ । खानेपानी योजना नहुँदा स्थानीयलाई पिउने पानीका लागि धेरै दुःख रहेको भन्दै बृहत् खानेपानी योजना पूरा भएसँगै समस्या हटेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले स्थानीयलाई खानेपानीकै लागि धेरै कष्ट गर्नुपर्ने बाध्यता थियो । अहिले त्यो दुःख हटेको छ । खुसी लागेको छ ।’’ 

खानेपानी योजनाका कारण रामपुरलगायतका आसपासमा करिब ८२२ घरधुरी लाभान्वित भएका छन् । खानेपानी सुविधा घर घरमा पु¥याउनका लागि ६५४ घरमा धारा जडान गरिएको छ । जसमा निजी धारा ६४६ वटा, संस्थागत सात वटा र सार्वजनिक धारा एउटा जडान गरिएको छ । 

खानेपानी आयोजन अन्तर्गत दुई वटा बोरिङ निर्माण, ७० मिटर प्रसारण पाइपलाइन विस्तार, ४५० घनमिटरको ओभरहेड पानी पोखरी निर्माण, १२ वटा भल्ब च्याम्बर, एक/एक वटा कार्यालय भवन र पम्प हाउस, एउटा ट्रान्सफर्मरसहित विद्युतीकरणलगायतका संरचना निर्माण गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो । निर्माण सम्पन्न भएको धारा लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापाले अजम्बरी बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुभएको छ । 

मन्त्री थापाले नागरिकलाई स्वच्छ र सफा खानेपानी पु¥याउनका लागि लागिरहेको बताउनुभयो । प्रदेश सरकारले अघि बढाएको ‘एक घर एक धारा’ अभियानलाई पूरा गर्न प्रतिबद्ध रहेको भन्दै मन्त्री थापाले चालु आवमा प्रदेशमा ३६४ वटा खानेपानी योजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो । मन्त्री थापाले भन्नुभयो, “यो वर्ष प्रदेशमा करिब ३६४ खानेपानी योजना सम्पन्न गर्ने लक्ष्य छ ।’’