• २८ पुस २०८१, आइतबार

चौधरी ग्रुपले तिर्‍यो अठार अर्ब राजस्व

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ३ गते । चौधरी ग्रुपले आर्थिक वर्ष २०८०/८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रुपियाँ कर तिरेको जनाएको छ । ग्रुप अन्तर्गत सञ्चालित कम्पनीले सो राजस्व भुक्तान गरेको विज्ञप्तिमा उल्लेख छ । 

आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको, व्यावसायिक वातावरण सुमधुर नरहेको, उत्पादन तथा निर्माण क्षेत्रको अवस्था कमजोर रहेको अवस्थामा पनि राजस्व भने बढ्दो रहेका विज्ञप्तिमा जनाइएको छ । आव २०७९/८० को तुलनामा चौधरी ग्रुपले पछिल्लो आवमा राजस्वमा पु¥याएको योगदान दुई अर्ब ३८ करोडले बढी रहेको उल्लेख छ ।  

“राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकूल वातावरणका बिच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदानमार्फत  देशको विकास निर्माण र आमनागरिकको सामाजिक सुरक्षामा सरकारी दायित्व निर्वाह गर्न सहयोग पुग्ने छ भन्ने मेरो विश्वास छ,” चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भन्नुभयो । 

गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७६ अर्ब ५४ करोड रुपियाँ कर तिरेको जनाएको छ । आव २०७६/७७ मा नौ अर्ब ८७ करोड, आव २०७७/७८ मा १४ अर्ब २८ करोड, आव २०७८/७९ मा १७ अर्ब ७२ करोड, आव २०७९/८० मा १६ अर्ब १४ करोड, आव २०८०/८१ मा १८ अर्ब ५२ करोड रुपियाँ कर सरकारी ढुकुटीमा दाखिला गरिएको जनाएको छ ।