• २८ पुस २०८१, आइतबार

दुर्गमका विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ३ गते । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले काठमाडौँ उपत्यकामा आई डेरा गरी बस्ने स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गर्ने दुर्गम र अति दुर्गम क्षेत्रका विद्यार्थीका लागि विद्युतीय चुलो वितरण गर्न थालेको छ । 

पूर्वप्रकाशित सूचनाका आवेदकलाई चयन गरी मङ्सिर २ देखि १२ गतेसम्म विद्युतीय चुलो वितरण गर्ने कार्यक्रम रहेको केन्द्रले जनाएको छ । १० दिनसम्म सञ्चालन हुने विद्युतीय चुलो वितरण अभियान अन्तर्गत दुर्गम र अति दुर्गम क्षेत्रका २४ जिल्लाका तीन हजार १९१ विद्यार्थीलाई विद्युतीय चुलो वितरण गर्न लागिएको केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिनुभयो । 

यसअघि केन्द्रले दुई चरणमा गरी चार हजार २१५ जना विद्यार्थीलाई विद्युतीय चुलो वितरण गरिसकेको छ । केन्द्रले स्थानीय तहसँगको साझेदारीमा विद्युतीय चुलो प्रवर्धनलाई समेत निरन्तरता दिएको छ । बेलायत सरकारको सहयोगमा सञ्चालित राष्ट्रिय नवीकरणीय ऊर्जा कार्यक्रम अन्तर्गत हालसम्म ३० हजारभन्दा बढी विद्युतीय चुलो प्रवर्धन भइसकेको छ ।  

विद्युतीय चुलो वितरण कार्यक्रमको शुभारम्भ गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्यार्थीलाई विद्युतीय चुलोको प्रवर्धनका माध्यमबाट एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहत महसुस गराउनु एवं विद्युतीय चुलो प्रवर्धनलाई थप विस्तार गर्नु रहेको बताउनुभयो ।  

उहाँले नेपाल सरकारको राष्ट्रिय लक्ष्य एवं जलवायु परिवर्तन न्यूनीकरण एवं अनुकूलनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता हासिल गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।