काठमाडौँ, मङ्सिर २ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी सङ्घले प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य सचिव दीपक लामालाई आइतबार सम्मान गरेको छ ।
सदस्य सचिवमा नियुक्त भएकोमा लामालाई सम्मान गरिएको सङ्घले जनाएको छ । सो अवसरमा सङ्घकी अध्यक्ष सरस्वती केसी र महासचिव कुमार बस्नेतले सदस्य सचिव लामालाई दोसल्लासहित मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो ।
कार्यक्रममा राखेप कर्मचारी सङ्घका पूर्व अध्यक्ष रञ्जन थापालगायतका पदाधिकारीले सदस्य सचिव लामालाई बधाई दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिनुभएको थियो ।
लामाले खेलकुदको विकास र विस्तारका लागि सबैसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै खेल पूर्वाधारको संरक्षण ठूलो चुनौती भएको बताउनुभयो ।
अध्यक्ष केसी र महासचिव बस्नेतले खेल क्षेत्रकै व्यक्तिलाई जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्दै सदस्स सचिव लामालाई बधाई दिनुभयो ।