• २ मंसिर २०८१, आइतबार

सुपर हेभीवेटमा सन्देश च्याम्पियन

blog

अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्सअन्तर्गत सुपर हेभी वेट च्याम्पियन सन्देश मानन्धरलाई पुरस्कृत गरिँदै ।

काठमाडौँ, मङ्सिर २ गते । नेपालका सन्देश मानन्धरले प्रथम अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्स प्रतियोगिताको पुरुष सुपर हेभीवेट ९० केजीमाथि आइतबार स्वर्ण पदक जित्नुभएको छ। 

पुरुष ५५ केजीमुनि नेपालका प्रवीण माझीले भारतका सुजय गोरेनलाई हराउँदै पहिलो हुनुभयो । नेपाल क्योकुसिन कराते डो सङ्घ वज्रको आयोजनामा भएको प्रतियोगिताको पुरुष ६२ केजीमुनि नेपालका सुजित गुरुङले नेपालका मनीष कार्की, ६९ केजीमुनि नेपालका सनी सिंहले नेपालका आकाश श्रेष्ठ, ७६ केजीमुनि नेपालका विकास गुरुङले नेपालका शिव भुजेल, ८३ केजीमुनि नेपालका महेन्द्र विकले नेपालका रवीन्द्र लुहार र ९० केजीमुनि नेपालका अनुजकुमार सिंहले नेपालका विशाल सुनारलाई फाइनलमा पाखा लगाउँदै स्वर्ण जित्नुभयो । 

यस्तै महिला ४६ केजीमुनि नेपालकी अस्मिता तामाङले नेपालकी रश्मि श्रेष्ठ, ५१ केजीमुनि नेपालकी सपना आलेले नेपालकी सुहानी महर्जन, ५६ केजीमुनि नेपालकी शान्ति थापा मगरले नेपालकी बविता कार्की, ६१ केजीमुनि नेपालकी अप्सरा कुमालले भारतकी सोनाम ल्हामो दर्जी र ७१ केजीमुनि नेपालकी सपना ऐडीले नेपालकी सीमा घिसिङलाई हराउँदै पहिलो हुनुभयो । 

विजेतालाई पूर्व मेयर राजाराम श्रेष्ठ, आयोजक सङ्घका अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतले एक कार्यक्रमबिच पुरस्कृत गर्नुभयो । दुईदिने प्रतियोगितामा नेपालका ३६ र भारतका पाँच गरी ४१ खेलाडीको सहभागिता रहेको थियो ।