• २८ पुस २०८१, आइतबार

सूचना प्रविधिको क्षेत्रमा सरकारको जोड : प्रदेश प्रमुख भट्ट

blog

कम्प्युटर एशोसियसन नेपाल महासंघ, कास्कीको कार्यक्रममा सहभागी प्रदेश प्रमुख डिल्लीराज भट्ट

रमेश पौडेल

पोखरा मङ्सिर १ गते। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूचना प्रविधिका क्षेत्रमा सरकारले जोड दिएको बताउनुभएको छ। कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान), कास्कीको १० औं अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि भट्टले सरकारले चालु बजेटमा सूचना प्रविधि विकासलाई समावेश गरिएको उल्लेख गर्नुभयो।

उहाँले सूचना प्रविधि क्षेत्रलाई अत्यावश्यक सेवाअन्तर्गत राख्न क्यानले माग गर्दै आएको स्मरण गर्दै उहाँले  नेपाललाई सूचना प्रविधि हबको रूपमा विकास गर्ने गरी विभिन्न कार्यक्रम घोषणा गरिएको बताउनुभयो। 

क्यान कास्कीले सूचना प्रविधिका क्षेत्रमा निरन्तर रुपमा गरेको कामको प्रशंसा गर्दै प्रदेश प्रमुख भट्टले नवीनतम् प्रविधि तथा आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। 

उहाँले सरकारले १० वर्षमा ३० खर्ब बराबरको आईटी सेवा निर्यात गर्ने, पाँच लाखलाई प्रत्यक्ष रोजगारी तथा १० लाखलाई अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताउनुभयो। 

सूचना प्रविधिमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने र सबै स्थानीय तहलाई सूचना सञ्जालमा जोड्ने सरकारी नीति मुलुकको तीव्र आर्थिक विकासमा सहयोगीसिद्ध हुने विश्वास व्यक्त गर्दै उहाँले सूचना प्रविधिलाई अर्थतन्त्रको सम्वाहकका रुपमा स्थापित गनूृपर्नेमा जोड दिनुभयो।

सूचना प्रविधि क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा पूर्वाधार निर्माण गर्न संघ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो। नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरेर कार्यान्वयनमा ल्याइएको र सूचना प्रविधि सम्बन्धी नयाँ नीति, कानुन तथा निर्देशिकामा क्यान महासंघले समन्वयकारी भूमिका खेलिरहेकोमा पनि सरकारका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो।

त्यसैगरी मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानको २६ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको एक अर्को कार्यक्रममा प्रदेश प्रमुख भट्टले आजका बालबालिका भोलिको राष्ट्र निर्माणका लागि मानव पूँजी भएको बताउनुभयो। 

कार्यक्रममा प्रतिष्ठानका संस्थापक तथा परिकल्पनाकार डा. राम गिरीले उद्देश्य ठुलो लिनुपर्ने र सफलताका लागि निरन्तर त्यसैमा लागिरहनुपर्नेमा जोड दिनुभयो। विगत २५ वर्षदेखि विद्यालयको शैक्षिक क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो। कार्यक्रममा ८ लाख ५० हजार बराबरका कम्प्युटर, प्रिन्टर, विज्ञान सामग्री तथा पुस्तकलगायतका शैक्षिक सामग्री वितरण गरिएको प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले जानकारी दिनुभयो ।