• १ मंसिर २०८१, शनिबार

राजनीतिकरुपले बुद्ध धर्म दुरुपयोग गर्न मिल्दैन : प्रधानमन्त्री ओली

blog

प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

ललितपुर, मङ्सिर १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा कुनै विभाजन हुन नहुने बताउनुभएको छ । बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गर्ने कामलाई निषेध गर्नुपर्ने उहाँको भनाइ छ ।  

बौद्ध बिहार सङ्घ, ललितपुरको आज अक्षश्वर महाबिहारमा आयोजित ४९ औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्ष शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभएको हो । हिन्दु कट्टरवादीका कारण विगतमा नेपाल र भारतमा बौद्धका र विचारको विस्तार र प्रवर्धनमा सहज नभएको अवस्थामा अहिले बुद्धका विचारहरूको पुनः जागरण भएको सन्दर्भ उल्लेख गर्नुभयो । 

“बुद्ध धर्म र उहाँका विचारलाई राजनीतिका लागि दुरुपयोग गर्नु हुँदैन । धर्म मानवीयता एकता र शान्तिका लागि हो, बुद्धको दर्शन नै शान्ति, अहिंसा र मानवताका लागि हो । कुनै जीवनप्रति हत्या हिंसा नगर भन्ने बुद्धवादको सार हो ।’’ 

प्रधानमन्त्री ओलीले भन्नुभयो, “बुद्ध धर्मका शिष्यहरू नै यस धर्मको रक्षक हुन् । हामीले बुद्धवादलाई युवाहरूमाझ फैलाउनुपर्छ । त्यसका लागि म मेरो तर्फबाट सक्दो काम गर्छु । यस धर्ममा करुण, स्नेह र मानवीयता छ । निःस्वार्थपन छ । त्यसैले यसलाई राजनीतिक हिसाबले दुरुपयोग गर्ने कुरालाई निषेध गर्नुपर्छ ।’’


पाँच वर्षअघि भियतनाममा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा आफूले भाग लिएको र यस्ता सम्मेलन संयुक्त राष्ट्रसङ्घकै आयोजनामा नेपालमा गर्ने कुराकानी भएका बेला कोभिड महामारीले असर गरेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीमा आफूले पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र निर्माण गराएको स्मरण गर्नुभयो । 

सो अवसरमा प्रधानमन्त्री ओलीले बुद्धका शिक्षा र दर्शनलाई प्रचार र प्रवर्धनमा योगदान दिने लोटस रिसर्च सेन्टर र डुण्डुबहादुर बज्राचार्यलाई सम्मानित गर्नुभयो ।