• २८ पुस २०८१, आइतबार

थारु परम्परा र लोक संस्कृतिको संरक्षण गर्न कात्तिकेश कुँवर मेला

blog

मेलाको सुभारम्भमा लोक नृत्य प्रदर्शन गर्दै थारु नारी । तस्बिर : यादवराज पुरी

यादवराज पुरी
रौतहट, मङ्सिर १ गते । 
नेपालका आदिवासी थारुको परम्परागत लोकसंस्कृति प्रदर्शन तथा संरक्षण गर्ने उद्देश्यले रौतहटको चन्द्रपुर नगरपालिका–८ मा जिल्लाकै ठुलो मानिने कात्तिकेश्वर कुँवर मेला सुरु भएको छ ।

कात्तिक शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्म थारु महिलाहरू आफ्ना दाजुभाइको दीर्घ जीवनको कामना गर्दै मनाउने समाचकेवा पर्वको समापन अर्थात् पूर्णिमाको भोली पल्टदेखि नै हरेक वर्ष मेला सुरु हुने गर्दछ ।  मेला ४७ औँ वर्षमा प्रवेश गरेको छ ।

मेलामा थारु संस्कृति झल्किने झाँकी, लोकनृत्य, परम्परागत वस्तुलगायत थारु परिकारहरूको प्रदर्शनी रहेको मेलाका संयोजक नवेश चौधरी बताउनुहुन्छ । स्थानीय स्तरमा उत्पादित तरकारी, खाद्यान्न सामग्री, लत्ताकपडा लगायत अन्य दैनिक उपभोग्य वस्तु सस्तो मूल्यमा पाइने उक्त मेलामा नेपालका विभिन्न स्थान र भारतबाट समेत व्यापारीहरू आउने गर्छन् ।

धानबाली भित्र्याई सकेपछि थकाई मार्न र मनोरञ्जन लिन सन्तपुरका थारु समुदायका नागरिकले आयोजना गरेको उक्त मेलामा मधेश प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी लगायत आठै जिल्ला र छिमेकी मुलुक भारतको विहार राज्यका मानिसहरू समेत मेला भर्न आउँछन् । संयोजक चौधरीकाअनुसार शनिबारदेखि आउँदो शनिबरसम्म ८ दिन लाग्ने उक्त मेलामा कात्तिकेश कुँवरको पूजा गरी उद्घाटन गरिन्छ र मेला विधिवत्रुपमा सुरु हुन्छ ।

मेलाको मुख्य आकर्षक पक्ष थारु संस्कृति झल्किने झाँकी, लोकनृत्यलगायत थारु परिकारहरूको प्रदर्शनीका अलावा मनोरञ्जनमा रोटेपिङ्ग, मौतका कुवा, टावर झुला, हर्स पिङ्ग, जादुघर, छिमेकी राष्ट्र भारतको ढाका मोथिहारी रोडबाट ल्याइएको अर्केष्ट्रा मञ्चन गरिनुका साथै स्थानीय प्रतिभालाई उजागर गर्ने उद्देश्यले खुल्ला नृत्य प्रतियोगिता समेत सञ्चालन गरिने मनोरञ्जन समितिका संयोजक जलेन्द्र चौधरीले जानकारी दिनुभयो । 

मेला अवधि भरिमा करिब पाँच लाख मानिस मेला भर्न आउने मेला आयोजक समितिले जनाएको छ । मेलामा विभिन्न समुदायका मानिसहरूको जमघट हुने भएकाले कुनै अप्रिय घटना नघटोस् भन्ने उद्देश्यले सुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र सशस्त्र प्रहरी बेसक्याम्प सन्तपुरले जनाएको छ ।