• २८ पुस २०८१, आइतबार

सवारी धनीबाट ३४ लाख ९८ हजार राजस्व सङ्कलन

blog

गुणबहादुर रोका 

सुलीकोट, मंसिर १ गते । गोरखामा ट्राफिक प्रहरीले गत साउनदेखि कात्तिक मसान्तसम्म चार महिनाको अवधिमा ३४ लाख ९८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । 

ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट कारबाही तथा जरिबाना गरी राजस्व रकम असुलउपर गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख तारापति अर्यालले जानकारी दिनुभयो । 

उहाँका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि कात्तिक मसान्तसम्ममा ३ हजार ७ सय ७३ वटा विभिन्न सवारी साधन कारबाहीमा परेका छन् । जसमध्ये सबैभन्दा बढी मोटरसाइकल १ हजार ८ सय ४७, जिप, कार र भ्यान ८ सय ८३,  ट्रक, टिपर ३ सय ८२, बस ४२८ र २२१ वटा ट्र्याक्टर सवारी साधन जरिवाना तथा कारबाहीबाट कुल ३४ लाख ९८ हजार रुपियाँ राजस्व रकम असुल भएको जिल्ला ट्राफिक प्रमुख अर्यालले बताउनुभयो । 

गोरखामा अत्यधिक मात्रामा बिना लाइसेन्स सवारी साधन चलाउने, बिल बुक नबोक्ने र लापरबाही तरीकाबाट ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरी जरिवाना गरिएको ट्राफिक प्रमुख अर्याललको भनाइ छ । 

गोरखामा सबैभन्दा बढी कारबाही दुई पाङग्रे मोटरसाइकलले नियम उल्लङ्घन गरेबापत कारबाही गरेको प्रहरीको भनाइ छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कसुर हेरी ५०० देखि तीन हजारसम्म जरिवाना गर्ने गरिएको छ । 

गोरखामा ट्राफिक प्रहरी कार्यालय गोरखाले नियम उल्लङ्घन गरी सवारी साधन चलाउने चालकलाई सचेत गरी पठाइएकाले अझ कम सवारी साधन कारबाही परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।