बाबुराम देवकोटा
सिन्धुलीमाढी, मङसिर १ गते । सिन्धुलीको मरिण गाउँपालिका-१ कात्तिके निवासी ७२ वर्षीय गोपीलाल घिसिङको जङ्गली भालुको आक्रमणबाट मृत्यु भएको छ ।
मृतक घिसिङको कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा शनिबार पोस्टमार्टम गरी आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार शुक्रबार जङ्गलमा चराउन लगेको छिमेकीको बाख्रा खोज्न जाँदा भालुको आक्रमणमा पर्नुभएको थियो । आक्रमणबाट उहाँको घटनास्थलमै मृत्यु भएको हो ।
भालुको आक्रमणबाट मृतक घिसिङ घाँटीको हड्डी र हातको नाडी भाँचिएको सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । जङ्गलमा चराउन लगेको बाख्रा भालुले लगेको सुनेपछि छिमेकीसहित सात–आठ जना बाख्रा खोज्न जाँदा उहाँलाई भालुले आक्रमण गरेको काफ्लेले बताउनुभयो ।