बारा जिल्लाको गढीमाई मेलामा कति पशु बलि दिइन्छ, त्यसको यकिन तथ्याङ्क छैन तथापि बलिका लागि खास गरी यो मेला विश्वप्रख्यात छ । मेलामा राँगा, हाँस, कुखुरा, परेवा, बोकाको बलि दिइन्छ । यो मेला भन्नेबित्तिकै विश्वमा सबभन्दा धेरै पशुबलि दिइने स्थानका रूपमा बुझ्ने गरिन्छ । पाँच वर्ष बिराएर लाग्ने गढीमाई भगवती मेला यस वर्ष लाग्दै छ । विश्वका ठुला मेलामध्ये गढीमाई एउटा प्रसिद्ध धार्मिक मेला हो ।
बारा जिल्ला, महागढीमाई नगरपालिका–१, बरियारपुरस्थित गढीमाई भगवती मन्दिरमा मेला लाग्दा वरपर नौ किलोमिटर किल्लाबन्दी गरिन्छ । गढीमाई भगवतीलाई केन्द्रबिन्दु मानेर मेलाको समयमा चारैतर्फ नौ किलोमिटर सिमाना निर्धारण गरिन्छ । सो सीमाभित्र जुनकुनै ठाउँमा बलि दिन सकिन्छ । यो व्यवस्थाले समेत मेलाका बेला कति बलि दिइयो भन्ने तथ्याङ्क सङ्कलन गर्न सम्भव छैन ।
मानिसको अत्यधिक भिडका कारण मेलाको बजार अस्तव्यस्त देखिन्छ । मानिसको पैदल यात्रा, गाडीको भिडले सडक धुलाम्मे बनाएको हुन्छ । त्यही धुलाम्मे सडकको किनारमा सेवई, पकौडी, लाई मुरही, जिलेबीलगायतका स्थानीय परिकार जताततै पकाइएको देखिन्छ । शौचालयको व्यवस्थित प्रबन्ध नहुँदा मलमूत्र जथाभाबी त्याग्दा वातावरणसमेत दुर्गन्धित हुन्छ । मेलामा सर्कस, मृत्युको कुवा, रोटेपिङलगायतका विभिन्न खेलले मानिसको भिड बढाएको हुन्छ ।
सदरमुकाम कलैयादेखि आठ किलोमिटरको दुरीमा रहेको गढीमाई भगवती मन्दिर ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । गढीमाई भगवती स्थापनाबारे विभिन्न किंवदन्ती छन् । करिब आठ सय वर्षअघि बरियारपुर गाउँका भगवान चौधरीले गढीमाई स्थापना गरेको भनाइ छ । किंवदन्ती अनुसार भगवान चौधरीको घरमा चोरी गर्न आएको चोरलाई गाउँलेले समातेपछि भिडले कुटेर मारिदियो । त्यसको सम्पूर्ण दोष भगवान चौधरीमाथि लगाइयो । कर्तव्य ज्यानको मुद्दामा भगवान चौधरीलाई काठमाडौंँ चलान गरियो । सोझो र ईश्वरभक्त चौधरी जेल परेपछि पनि उनीप्रतिको आस्था र विश्वासमा कुनै कमी आएन । जेलमै रहेका बेला भगवान चौधरीलाई सपनामा देवीले दर्शन दिइन् । देवीले भनिन्, “कुन पापीले तिमीलाई जेलमा ल्याएर थुनेको छ ?”
यत्तिकैमा चौधरीले सोधे, “तपाईं को हो ? तपाईं जो भए पनि मेरो अघिल्तिर आएर दर्शन दिनु पर्यो ।”
त्यसपछि गढीमाईले साक्षात् रूपमा दर्शन दिँदै भगवान चौधरीलाई भनिन्, “तिमी मलाई आफ्नो गाउँ लान सक्छौ ?”
“म जेलमा थुनिएको मानिस, हजुरलाई कसरी आफ्नो गाउँ लान सक्छु ?” भगवान चौधरीले जवाफ दिए । आफूलाई गाउँ लैजाने प्रतीक्षा गरे जेलमुक्त गरिदिने वचन देवीले दिइन् । भगवतीको सर्त चौधरीले स्वीकार गरे । त्यसपछि भगवतीको चमत्कारस्वरूप जेलको सुरक्षार्थ खटिएका सिपाही निदाए, जेलका ढोका आफैँ खुले । जेलमुक्त चौधरीले भने, “म हजुरलाई कसरी लैजाऊँ ?”
त्यसपछि भगवती गढीमाईले भनिन्, “तिमी मेरो पाउको धुलो आफ्नो पगरीमा बाँधी निधारमा राख र मन्दिरको त्रिशूल हातमा राखेर हिँड, तिमी आफैँ बाटो पाउने छौ ।” भगवान चौधरीले माताको आज्ञाबमोजिम गरे । बाटोमा भगवान चौधरी र भगवतीबिच भएको विभिन्न कुराकानीका क्रममा माताले आफ्नो पूजामा नरबलिको व्यवस्था हुनुपर्ने र प्रत्येक वर्ष मेला लगाउनुपर्ने प्रस्ताव राखे । चौधरीले भने प्रत्येक वर्ष मेलाको प्रस्ताव अस्वीकार गरी पाँच पाँच वर्षमा मेला लगाउने, दैनिक रूपमा पूजाआजा गर्ने, पूजामा पञ्चबलिका रूपमा बोका, राँगा, जङ्गली मुसा, सुँगुर र कुखुरा दिने बताए । यस कुरामा देवी र चौधरीबिच सहमति भयो । यसरी कुराकानी हुँदै जाँदा पसाहा नदीको किनार हुँदै बरियारपुर गाउँनजिक रहेको बरको रुखमुनि आएर बसेको र सोही स्थानमा गढीमाई स्थापना भएको जनविश्वास छ । भगवान चौधरीले गढीमाई स्थापना गरी पाँच पाँच वर्षमा पञ्चबलिसहित विधिपूर्वक मेला लगाउने कार्यको थालनी गरेको बताइन्छ ।
गढीमाईमा नरबलि
सो क्षेत्रमा बिनाकारण ठुलो सङ्ख्यामा मानिसको अकालमय मृत्यु हुन थाल्यो । त्यसपछि चौधरीले भगवतीसँग यस्तो अनिष्ट किन भइरहेको छ भनी सोध्दा देवीले पञ्चबलिका साथै नरबलि दिए सबै कुरा आफैँ ठिक हुन्छ भनिन् ।
देवीको आदेशबमोजिम नरबलिका लागि भगवान चौधरी गाउँ गाउँ घुम्न थाले । नरबलिका लागि कोही पनि तयार नभएपछि चौधरी निराश भएर फर्के । उक्त कुरा देवीलाई सुनाए । त्यसपछि देवीले भनिन्, “सेमरी भन्ने गाउँमा जाऊ, त्यहाँ तिमीले नरबलिका लागि मानिस पाउने छौ ।” सेमरीगाउँ अहिलेको रौतहट जिल्लामा पर्छ । भगवतीको आदेशबमोजिम चौधरी सेमरीगाउँ पुगे । त्यहाँ एक जनाले माताको सवारी आफ्नो घरमा भए आफू नरबलिका लागि तयार हुने सर्त राखे । सर्तबमोजिम देवीको सवारी ती व्यक्तिको घरमा भयो । ती व्यक्ति नरबलिका रूपमा पाँच थोपा रगत दिन मञ्जुर भए ।
त्यसै बेलादेखि नरबलिका रूपमा मानिसको पाँच थोपा रगत चढाएपछि बोका, राँगा, जङ्गली मुसा, सुँगुर र कुखुराको पञ्चबलि दिइने चलन सुरु भएको विश्वास गरिन्छ । यो प्रचलन आजसम्म कायम छ । पहिलो नरबलिका रूपमा पाँच थोपा रगत दिने व्यक्तिका सन्तान आज पनि गढीमाईको झाँक्री छन् । आज पनि ती झाँक्रीले आफ्नो पाँच थोपा रगत चढाएर मात्र गढीमाई क्षेत्र प्रवेश गर्नु पर्छ ।
भक्तजनद्वारा गढीमातालाई चढाइने सुनचाँदी र नगद भेटीको हिसाबकिताब गरिन्थ्यो तर यसअघिको मेलादेखि पारदर्शिता देखिएको छैन । भेटीस्वरूप कति सुनचाँदी र नगद माताको चरणमा चढाइन्छ, मेलाका हर्ताकर्ताबाहेक अरू कसैलाई त्यसबारे थाहा हुँदैन ।
गढीमाईको मेला प्रत्येक पाँच वर्षमा मङ्सिर शुक्ल पक्षमा लाग्ने गर्छ । मेला लाग्ने सालको असार महिनाको सोही तिथिमा झाँक्रीले लक्ष्मणरेखा लगाई गढीमाईको सीमा निर्धारण गर्छन् । सीमा निर्धारणपछि यस क्षेत्रका चेलीबेटी सो सिमानाभन्दा बाहिर जान पाउँदैनन् । बाहिरका चेलीबेटी पनि सो सिमानाभित्र प्रवेश गर्न पाउँदैनन् । मेलापछिको पूर्णिमाको दिन गढीस्थाननजिकै रहेको संसारीमाईको मन्दिरमा बोकाको बलि दिएर झाँक्रीले सिमाना फुकाउँछन् । त्यसपछि मात्र सो क्षेत्रमा चेलीबेटी आउन जाने क्रम सुरु हुन्छ ।
मङ्सिर शुक्ल पक्षको पञ्चमीदेखि अष्टमीसम्म गढी भगवतीको मन्दिरमा पाँचबर्से मेलाको विशेष पूजाआजा गरिन्छ । पञ्चमीका दिन खप्पर पूजा गरिन्छ । सप्तमी र अष्टमीका दिन ब्रह्मस्थानमा नरबलिस्वरूप झाँक्रीले पाँच थोपा रगत चढाएपछि पञ्चबलि सुरु हुन्छ । झाँक्रीले पाँच थोपा रगत चढाएपछि सो ठाउँमा बत्ती स्वप्रज्वलित हुन्छ । त्यसपछि भगवतीको मन्दिरमा पञ्चबलिस्वरूप क्रमशः बोका, जङ्गली मुसा, कुखुरा र सुँगुरको बलि दिएपछि बलिपूजा सुरु भएको मानिन्छ । मेलामा परेवाको समेत बलि दिने गरिन्छ । प्रायः मानिसले परेवाको बलि दिनुभन्दा त्यत्तिकै उडाएको देखिन्छ । केही वर्षअघिसम्म बलिपूजा सुरु भएपछि सर्वप्रथम बनारसका डोम राजा हरिश्चन्द्रका सन्तानले बनारसबाट ल्याएका राँगाको बलि दिइन्थ्यो तर त्यहाँबाट राँगा नआएको धेरै मेला भइसकेको छ । त्यसपछि पञ्चबलिस्वरूप आमभक्तजनबाट आएका जीवजनावर र पशुपन्छीको बलि मेलाको निर्धारित क्षेत्रभित्र दिइने गरिन्छ ।
पञ्चबलिस्वरूप बलि दिइने सेतो जङ्गली मुसा बलिका दिन सो क्षेत्रमा सहजै उपलब्ध हुन्छ । यो दुर्लभ प्रजातिको मुसा हो । गढीमाईका मूल पुजारी शिव चौधरीका अनुसार पञ्चबलिस्वरूप बलि दिइने सेतो जङ्गली मुसा समात्न भगवती मन्दिरको अक्षतासहित मानिस जङ्गल पठाइन्छ । सेतो मुसा पाइने सम्भावित क्षेत्रको मुसाका दुलोनजिक अक्षता छरिन्छ । अक्षता छरेको पाँच/दस मिनेटभित्र मुसा बाहिर निस्कन्छ । त्यसलाई समातेर मेलामा ल्याई बलि दिने गरिन्छ ।
मेलाको समयमा कसैको घरमा जुठो परेको अवस्थामा भाकल गरिएको पञ्चबलि दिइँदैन । त्यसपछि सोही वर्षको माघेसङ्क्रान्ति वा फागुपूर्णिमा (होली) का दिनसम्म भाकल गरिएको बलि दिइने गरिन्छ । त्यसपछि पाँच वर्षसम्म गढी भगवतीका नाममा कुनै किसिमको बलि दिइँदैन । यो पञ्चवर्षीय मेला मुख्यतः मङ्सिर महिनामा लागे पनि असारबाटै सुरु हुन्छ । विभिन्न कारणवश छुटेका बलि फागुपूर्णिमा (होली) का दिनसम्म दिइने गरिन्छ । यसरी यो मेला असारदेखि फागुनसम्म लाग्ने गर्छ । मेलाको समयमा बत्ती स्वप्रज्वलित हुनु, बलिको रगत र मासुमा झिँगा नबस्नु, बलिको मासु खाँदा कुनै किसिमको रोग नलाग्नु, मेलामा कसैलाई चोटपटक नलाग्नु यस मेलाको थप विशेषताका रूपमा रहेको छ ।
चहलपहल सुरु
मङ्सिर १ देखि मुख्य मेला सुरु भएको छ । मूल पुजारी चौधरीका अनुसार यो वर्ष मङ्सिर २३ र २४ गते दुई दिन पशु बलि दिने कार्यक्रम तय भएको छ । २३ गते राँगाको बलि दिइने छ । २४ गते बोकालगायत पशु बलि दिइने कार्यक्रम तय भएको छ । मङ्सिर ३० गते करिब करिब मुख्य मेलाको समाप्ति हुन्छ । फेरि माघ १ गते माघेसङ्व्रmान्तिका दिन गढीमाई स्थानमा पुनः ठुलो मेला लाग्छ । त्यस दिन पुजारीको घरनजिक रहेको मन्दिरमा छुटेका बोकाको बलि दिने गरिन्छ । पञ्चवर्षीय गढीमाईको अन्तिम मेलाका रूपमा फाल्गुण पूर्णिमाका दिनसमेत ठुलो मेला लाग्छ । त्यस दिन पनि पुजारीको घरनजिक रहेको मन्दिरमा छुटेका बोकाको बलि दिने गरिन्छ ।
मेलामा सहभागी हुन भक्तजनका लागि मार्ग तोकिएको छ । मेला व्यवस्थापन समितिले त्यसका लागि विभिन्न ठाउँमा सूचना बोर्डसमेत व्यवस्था गरेको छ । मेलास्थलमा नेपालको सीमावर्ती भारतीय रेलवे स्टेसन तथा सहरहरू सीतामढी, बैरगनिया, घोडासन, छौडादानो, आदापुर र रक्सौलबाट सजिलै पुग्न सकिन्छ । त्यसै गरी नेपालको सिमरा विमानस्थलबाट वीरगन्ज, कलैया हुँदै मेलास्थल पुग्न सकिन्छ । रौतहटको गौरबाट हुलाकी राजमार्ग हुँदै तथा पूर्वपश्चिम राजमार्गसँग जोडिएको बाराको तामागढी, पिलुवालगायतका ठाउँबाट स्थलमार्ग भई मेलास्थल पुग्न सकिन्छ ।
व्यवस्थापनको तयारी पूरा
गढीमाईको पञ्चवर्षीय मेलालाई विगतभन्दा थप भव्य, सभ्य र व्यवस्थित बनाउन मेला समितिले आवश्यक तयारी गरेको छ । महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादव संयोजक रहेको मूल मेला समिति गठन गरिएको छ । महागढीमाई नगरपालिकाका प्रमुख तथा मेला संयोजक उपेन्द्रप्रसाद यादवका अनुसार मेला व्यस्थापनका व्रmममा सात वटा पार्किङस्थलको व्यस्थापन गरिएको छ । गढीमाई भगवतीको स्थानसम्म पुग्ने बाटोको मर्मतसम्भार गरिएको छ । मेलामा शान्तिसुरक्षाका लागि ठाउँ ठाउँमा प्रहरी बिट र यातायात व्यवस्थापनका लागि ट्राफिक बिट स्थापना गरिएको जनाइएको छ ।
उहाँका अनुसार मेलामा सहभागी हुन आउने भक्तजनका लागि निःशुल्क खानेपानी, बिजुली, शौचालयको व्यवस्थापन गरिएको छ । यो वर्ष मेलामा एक करोडभन्दा बढी दर्शनार्थी सहभागी हुने अनुमान गरिएको छ ।
मेला संयोजक यादव लोकतन्त्रमा समर्थन र विरोध गर्ने छुट सबैलाई भएकाले गढीमाई मेलामा दिइने पशुबलिको विरोध कुनै नौलो विषय नभएको बताउनुहुन्छ । संयोजक यादवका अनुसार गढीमाईमा दिइने बलि मानिसको आस्था र भक्तिसँग जोडिएको हुन्छ । धर्म संस्कृतिसँग जोडिएको हुन्छ । कसैलाई जबरजस्ती पशु बलि दिन वा नदिन भनिएको हुँदैन । मानिसले मनोकामना पूरा भएपछि भाकल गरेबमोजिम पशु बलि दिइने हो । गढीमाईमा बलि दिइएका पशुको व्यवस्थापनसमेत चुनौती बन्ने गरेको छ । मूल पुजारी चौधरीका अनुसार अघिल्लो मेलामा ११ हजार राँगाको बलि दिइएको थियो ।
बलि दिइएका राँगा यत्रतत्र फालिएका हुन्छन् । तिनको व्यवस्थापनका लागि ठेक्कासमेत लगाउने गरिएको थियो । नगरप्रमुख यादवले बलि चढाइएका राँगाको व्यवस्थापनका लागि अहिलेसम्म ठेक्कापट्टा नगरिएको जानकारी दिनुभयो । ठेक्कापट्टा हुन नसकेको अवस्थामा बलि चढाइएका पशुलाई प्रसादका रूपमा बाँड्ने जनाइएको छ ।
आम्दानी र खर्च पारदर्शी
मूल मन्दिरका चारैतिर नौ किलोमिटर क्षेत्रफलमा गढीमाईलाई बलि दिन सकिने गरी व्यवस्था गरिनुले पनि यस मेलाको आयतनलाई प्रस्ट पार्छ । यो मेलामा हुन आउने भक्तजनको सहभागिता, बलिको आकारलाई समेत यसले सङ्केत गर्छ । यति विशाल मेला व्यवस्थापन त्यति सजिलो चाहिँ होइन । मेलामा हुने व्यापारको महŒव बेग्लै छ ।
मेलामा सङ्कलन हुने भेटीको समेत बेलाबखत निकै चर्चा हुने गरेको छ । मुलुक सङ्घीय शासनव्यवस्थामा गएपछि गढीमाईको यो दोस्रो मेला हो । विगतमा प्रमुख जिल्ला अधिकारीलगायतका सरकारी कर्मचारीको नेतृत्वमा विभिन्न समिति, उपसमिति बनाएर मेलाको व्यवस्थापन गरिँदै आए पनि पछिल्ला वर्षमा स्थानीय तहका जनप्रतिनिधिको नेतृत्वमा समिति बनाउन थालिएको हो । स्थानीय प्रमोदकुमार साहले मेलाको आम्दानी र खर्च विगतमा पारदर्शी हुने गरेको थियो भन्दै पछिल्ला वर्षमा त्यसमा कमजोरी भएको सङ्केत गर्नुभयो । उहाँले भन्नुभयो, “भक्तजनद्वारा गढीमातालाई चढाइने सुनचाँदी र नगद भेटीको हिसाबकिताब गरिन्थ्यो तर यसअघिको मेलादेखि पारदर्शिता देखिएको छैन । भेटीस्वरूप कति सुनचाँदी र नगद माताको चरणमा चढाइन्छ, मेलाका हर्ताकर्ताबाहेक अरू कसैलाई त्यसबारे थाहा हुँदैन ।” उहाँले भन्नुभयो, “सुन, चाँदीलगायतका गरगहना र भेटी पुजारीले लुकाउने गरेको मानिसको आरोप छ ।” नगरपालिकाका प्रमुख तथा मेलाका संयोजक यादवले यो वर्ष मेलाको आम्दानी र खर्च पारदर्शी किसिमले सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसपालि माताको स्थानमै स्वयंसेवक खटाएर भेटी संरक्षण गर्ने उहाँको भनाइ छ ।
सुरक्षामा छैन चिन्ता
जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्काले गढीमाई मेलाकेन्द्रित सुरक्षा योजना तयार भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अबको एक हप्ताभित्र सुरक्षा योजना तयार भइसक्छ । २०७६ सालको मेलामा दुई सय ट्राफिकसहित एक हजार पाँच सय नेपाल प्रहरी परिचालन गरिएको थियो । यो वर्ष पनि त्यसकै हाराहारीमा प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिँदै छ ।
उहाँका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र ट्राफिक प्रहरीका जनशक्तिसहितको सुरक्षा योजना तयार भइरहेको छ । यो वर्ष विगतका मेलामा भन्दा मानिसको भिड बढी हुन सक्ने भएकाले बढी सुरक्षाकर्मी परिचालन गरिने एसपी खड्काले स्पष्ट पार्नुभयो ।
अदालतको ढोकामा अधिकारकर्मी
गढीमाई मेलामा दिइने पशुबलिको पशु अधिकारकर्मीले विरोध गर्दै आएका छन् । विवादास्पद धार्मिक गुरु रामबहादुर बम्जनले समेत बलि रोक्ने अभियान चलाएका थिए । गढीमाई मेलामा ठुलो सङ्ख्यामा हुने पशु बलिलाई लिएर विरोधका आवाज बेलाबखत उठिरहेका पाइन्छ । कतिपयले यसलाई ‘हिन्दुविरोधी मिसन’ का रूपमा समेत अथ्र्याउने गरेका पाइन्छ ।
कुनै पनि देवीदेवताले पशुबलि मन नपराउने उनीहरूको तर्क छ । पशु अधिकारकर्मी दुर्गानाथ दाहालले कुनै पनि धर्मका नाममा निरीह प्राणी मार्नु सरासर गलत रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “देवी भनेकी आमा हुन्, आमाले बलि खाँदिनन् ।” उहाँले नेपाल बुद्ध जन्मेको देश, शान्तिको देश र पशुपतिनाथको देश भनेर विश्वमा चिनिएको तर गढीमाई मेलामा ठुलो सङ्ख्यामा दिइने बलिका कारण करुणा नभएको देश भनेर चिनिन थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गढीमाईलगायत देशभरिका विभिन्न शक्तिपीठमा दिइने बलि रोकिनु पर्छ । बलि दिनु नेपाल र नेपालीकै लागि एउटा लज्जास्पद विषय हो ।”
गढीमाई मेलामा दिइने पशु बलिको विषय अदालतसम्म पुगेको छ । गढीमाईमा दिइने बलिप्रथाका सम्बन्धमा सर्वोच्च अदालतले २०७३ साउन २० गते गढीमाई पूजा समितिका नाममा अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतले नयाँ विधिशास्त्रीय मान्यता स्थापित गर्दै बाराको गढीमाई मेलामा हुने बलि रोक्न माग गरी दायर रिटमा बलिप्रथा रोक्न तत्काल आदेश जारी गर्नु उचित नदेखिए पनि कालान्तरमा यसलाई निर्मूल गर्नुपर्ने ठहर गर्दै पूजा समितिका नाममा अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चका तत्कालीन न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सो आदेश दिएको थियो । दीर्घकालीन रूपमा बलिप्रथालाई निरुत्साहित गरी रणनीतिक योजनामार्फत अन्ततः त्यसलाई उन्मूलन गर्न आदेशमा उल्लेख छ । सर्वोच्चले बलिप्रथा रोक्ने कार्यव्रmम चरणबद्ध रूपमा कार्यान्वयन गर्न र अन्त्यमा पशुबलि प्रथा अन्त्य गर्ने गरी कानुन निर्माण गर्न सरकारका नाममा समेत निर्देशनात्मक आदेश जारी गरेको थियो । ५२ पृष्ठ लामो सो आदेशमा भनिएको छ, “सामाजिक परिवर्तनको आधार सामाजिक चेतना हो । सामाजिक चेतनाले स्वीकार गरेको परिवर्तन नै दिगो र टिकाउ हुन्छ ।”
बनारसका डोम राजाको सम्झना गरिन्छ
शिव चौधरी
मूल पुजारी, श्रीगढीमाई
गढीमाई मेलामा बनारसको डोम राजाका सन्तानबाट राँगा नआएको धेरै मेला भइसकेको छ । धेरै वर्षअघिको मेलामा बनारसका डोम राजाका सन्तानबाट ११ वटा राँगा, अर्को मेलामा २१ वटा र अर्को मेलामा १०७ वटा राँगा आएको मलाई सम्झना छ तर त्यहाँबाट मेलामा राँगा नआएको धेरै मेला बितिसकेको छ । राँगा नआए पनि हरेक मेलामा बनारसका डोम राजाको सम्झना गरिन्छ । १० पुस्ताअघिका मेरा पूर्वजले गढीमाईको अहिलेको मूर्ति स्थापना गरेका हुन् ।
मेला लाग्ने वर्ष दसैँको घटस्थापनाका दिन गढीमाई शोभायात्रा गर्ने गरिन्छ । यो वर्ष असोज १७ गते शोभायात्रा निकालिएको थियो । मेला लाग्ने वर्ष छ महिनाअघिदेखि नै तयारी सुरु गरिए पनि शोभायात्राको दिनदेखि औपचारिक रूपमा मेला सुरु भएको मानिन्छ । त्यस दिनदेखि मेलाका लागि निम्तो, सरसामान खरिदलगायतका आवश्यक तयारी सुरु गरिन्छ । त्यस दिनदेखि नै मेला व्यवस्थापन गर्न विभिन्न समिति गठन, पत्रपत्रिकामा विज्ञापन, सूचना प्रकाशनलगायत प्रचारप्रसारको काम सुरु हुन्छ ।
मेलास्थल बरियारपुरको खुला चौरमा राखिएको त्रिशूलबाट मानिसका शूलरूपी तीन ताप आध्यात्मिक, आयुर्वेदिक र आधिभौतिक नाश हुन्छन् भन्ने जनविश्वास छ । त्रिशूल स्थापना भएको दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर पनि देख्न सकिन्छ । मन्दिरबाट पूर्वदक्षिणतिर पिपलबोटसँगै ब्रह्माको स्थान पनि हेर्नलायक छ । पूर्वतिर रहेका ब्रह्मास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ, लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँच दिनसम्म पूजा गरिसकेपछि अरूका लागि दर्शन खुला गरिन्छ । गढीमाईको पूजाआजा गर्दा कङ्कालीमाई, जाखिनमाई, भक्तिमाईको समेत पूजा गरिन्छ । यतिबेला गढीमाईका बहिनीहरू मानिएको कटबासीमाई, कङ्कालीमाई, मनकामना, संसारी, साम्ये, राजदेवी, गढवाडा, जोरलाही, वनशक्ति आदिको पनि पूजाआजा गर्ने गरिन्छ ।