• २८ पुस २०८१, आइतबार

पुथाउत्तरगङ्गामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा सहभागीहरू । तस्बिरः जयमान बुढामगर

जयमान बुढामगर
रुकुमपूर्व, कात्तिक ३० गते ।
आगामी मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१० तकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार पुथाउत्तरगङ्गा गाउँपालिकाको केन्द्र समेत रहेको तकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र २ नम्बर वडाको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीमगर, पुथाउत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती मगर, मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमाल लगायत विभिन्न राजनीतिक दलको उपस्थितमा मुख्य निर्वाचन कार्यालयको स्थापना गरिएको छ ।

उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छ । भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

उपनिर्वाचनका लागि पुथाउत्तरगङ्गामा ११ हजार एक सय ८० मतदाता रहेका छन् भने २२ वटा मतदात स्थल रहेको छ ।