• २८ पुस २०८१, आइतबार

सात बुँदे सहमतिको स्पिरिटअनुसार संविधान संशोधन र सरकार सञ्चालन : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह नेपाल प्रेस युनियन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै । तस्बिर : मन्त्री सिंहको सचिवालय

विराटनगर, कात्तिक ३० गते । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सात बुँदे सहमतिको स्पिरिटअनुसारनै संविधान संशोधन र सरकार सञ्चालन भइरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।

‘‘सात बुँदे सहमतिअनुसार नै सरकार अघि बढेको छ । सो सहमतिअनुसारनै सरकार सञ्चालन हुन्छ,’’ उहाँले भन्नुभयो, ‘‘सरकारले नागरिकको आकाङ्क्षालाई केन्द्रमा राखेर काम अघि बढाएको छ । धेरै काम भएका छन्, केही हुँदैछन् । केही पनि भएन भन्ने होइन ।’’

उहाँले पछिल्लो समय शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमा भएको प्रगति हेर्न आग्रह गर्दै सरकारले केही पनि गरेन भनेर टिप्पणी गर्ने बेला भइनसकेको बताउनुभयो । संविधान संशोधनका विषय सात बुँदे सहमतिमा उल्लेख रहेको बताउँदै यो विषयमा दलहरूबीच छलफल गरेर सदनबाटै प्रक्रिया अघि बढ्ने सिंहको भनाइ थियो ।

उहाँले कांग्रेस–एमाले गठबन्धनको सरकार बनेपछि लामो समयदेखि अन्योलमा रहेको टिआरसी विधेयक अघि बढेको र संसदले बनाएको समितिको प्रतिवेदनअनुसार सहकारी अपचलनमा संलग्नमाथि कारवाही अघि बढेको बताउनुभयो । उहाँले सरकारले नागरिकको चाहना पूरा गर्ने गरि काम गरिरहेको र परिणाम आउन केही समय लाग्ने पनि सिंहले बताउनुभयो ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले कोशी अञ्चल अस्पतालको निर्माणाधिन भवनको सरोकारवालाहरूसहित निरिक्षण गर्नुभएको छ । कोशी अञ्चल अस्पताल परिसरमै निर्माणाधिन ५ सय शय्याको अस्पताल निर्माणको गति सुस्त देखिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।

‘‘अस्पताल भवनको निर्माण समयमै सक्ने गरी काम गर्नुस् । प्रभावकारी रूपमा निर्माणको काम हुनुपर्छ । जनतालाई छिट्टै सेवा प्रवाह हुनुपर्छ,’’ उहाँले भन्नुभयो, ‘‘निर्माणका क्रममा केही समस्या भए भन्नुस् । मन्त्रालयले,सहजीकरण गर्नेछ । तर, काममा ढिलाई गर्ने, कन्ट्राक्टअनुसार काम भएन भने सोच्नुपर्ने अवस्था आउनसक्छ ।’’ ०७९ पुस १३ गतेबाट निर्माण सुरू भएको अस्पतालको ०८२ पुस १२ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

शुक्रबार र शनिबार दुई दिन विराटनगरमा रहँदा उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयअन्तर्गत भएको कामको निरिक्षण र राजनीतिक भेटघाट गर्नुहुनेछ ।