काठमाडौँ, कात्तिक ३० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले बारा सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुलाई ७८ हजार घुससहित नियन्त्रणमा लिएको छ ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बिल भुक्तानी बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियारको हेटौँडाबाट खटिइ गएको टोलीले अधिकृत साहलाई ७८ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
उहाँको अनुसार अनुसन्धानको सिलसिलामा अधिकृत साहले बिल भुक्तानी गरेबापत सेवाग्राहीसँगा ७८ हजार घुस माग गरेको पुष्टि भएको छ । साहलाई भ्रष्टाचार निवारण ऐन बमोजिम कसुरमा बिगो ७८ हजार कायम गरी शुक्रबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।