• २८ पुस २०८१, आइतबार

स्वास्थ्य बिमा गर्नेको आधा रकम गाउँपालिकाले तिर्ने

blog

विजयनगर गाउँपालिकाको प्रशासनीक भवन । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, कात्तिक ३० गते । कपिलवस्तुको विजयनगर गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका परिवारहरूलाई स्वास्थ्य बिमामा सहुलियत दिने योजना ल्याएको छ । पालिकाका सबै जनतालाई स्वास्थ्य बिमाको दायरामा ल्याउनको लागी बिमा शुल्कमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिने भएको छ । 

यो निर्णयले गाउँपालिकावासीलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन तथा जनताको स्वास्थ्यमा पर्ने आर्थिक भार घटाउन महत्तवपूर्ण सहयोग पु¥याउने विश्वास गरिएको छ ।

“हामी गाउँपालिकावासीलाई सहज स्वास्थ्य सेवामा पहुँच पु¥याउन प्रतिबद्ध छौँ । स्वास्थ्य बिमामा सहुलियत दिने यो योजनाले आर्थिक रूपमा कमजोर परिवारहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्नेछ । मङ्सिरबाट लागु गराउने गरी कार्यपालिकाको बैठकले निर्णय समेत गरेका छौ । हिउँदे गाउँ सभाबाट आवश्यक बजेट विनियोजन गरिने छ, ” गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रोत्साहन गर्न सहुलियत योजना ल्याएको बताउनु भयो । पालिकाले आधारभूत अस्पताल समेत सञ्चालन गर्ने तयारी रहेकोले बिमाले स्थानीय जनता लाभान्वित हुने बताइएको छ । 

अनुदानबाट पालिकाका ६ हजार बढी घर परिवारको स्वास्थ्य बिमा हुनेछ । स्वास्थ्य बिमा बोर्ड कपिलवस्तुका जिल्ला संयोजक वशिष्ठ तिवारीले गाउँपालिकामा स्वास्थ्य बिमा गर्नेको संख्या न्यून भएकोले यस्ता कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने बताउनु भयो । कपिलवस्तु जिल्लामा १ लाख २२ हजार २८० जनाले स्वास्थ्य बिमा गरेका छन् ।