• २८ पुस २०८१, आइतबार

एमाले अध्यक्षमा बराल र भट्टराई भिड्दै

blog

एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दिने गणेशप्रसाल बराल र नरेन्द्रनाथ भट्टराई । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल
इलाम, कात्तिक ३० गते ।
बिहीबारदेखि सुरु भएको नेकपा (एमाले) इलामको ११औं अधिवेशनमा जिल्ला कमिटी अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

जिल्ला अध्यक्षका लागि वर्तमान अधिवेशन आयोजक कमिटी अध्यक्ष गणेशप्रसाद बराल र नरेन्द्रनाथ भट्टराईको उम्मेदवारी परेको हो । बराल यसअघि कोशी प्रदेश कमिटी सदस्य हुनुहुन्छ भने पार्टीको जिल्ला सचिव भइसकेका बराल आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमै रामबहादुर रानासँग पराजित हुनुभएको थियो ।

अध्यक्ष पदका अर्का उम्मेदवार नरेन्द्रनाथ भट्टराई अहिले पार्टीको केन्द्रीय सल्लाहकार सदस्य र लामो समयदेखि एमाले जिल्लाको राजनीतिमा सक्रिय हुनुहुन्छ । विगतमा पार्टीको जिल्ला उपसचिव, सचिव भइसकेका भट्टराई सातौं जिल्ला अधिवेशनमा मणिकुमार लिम्बूसँग अध्यक्षमै पराजित हुनुभएको थियो । 

एक उपाध्यक्ष पदका लागि उदयबहादुर राई, उमेश गुरुङ र बुद्धिप्रसाद खनाल तथा सचिवमा रवीन्द्र सुवेदी र प्रकाश अधिकारीले मनोनयन दर्ता गराउनुभएको छ । यसअघि राई उपाध्यक्ष, गुरुङ जिल्ला कमिटी सचिव र खनाल सचिवालय सदस्य हुनुहुन्थ्यो ।

एक महिलासहित दुई उपसचिव पदका लागि विष्णुमाया आचार्य, दिलकुमारी लावती (दिलु योङहाङ लावती), यामबहादुर राई, मानवीर लुहागुन, रमेशकुमार राई र छवि श्रेष्ठले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

उम्मेदवारहरु बिच सहमतिको प्रयास भइरहे पनि सहमति हुन नसके केहीबेरपछि निर्वाचन सुरु हुने बताइएको छ । यो अधिवेशनमा पाँच सय ८७ जना मतदान गर्ने प्रतिनिधि छन् ।