• १२ पुस २०८१, शुक्रबार

पर्यटकलाई 'टोड्केको मुला' काेसेली

blog

मुला खरिद गर्दै टोड्के पुगेका पर्यटकहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, कात्तिक ३० गते । म्याग्दीको पर्यटकीय स्थल टोड्केको भ्रमणमा पुग्ने पर्यटक यहाँको मुला भनेपछि हुरुक्कै हुन्छन् । टोड्के पुगेका पर्यटकहरुले कोसेलीका रुपमा मुला लिएर फर्किने गर्दछन् । हिमाली हावापानी र अर्गानिक उत्पादन भएकाले यहाँको मुला पर्यटकले रुचाउँछन् । 

रघुगंगा गाउँपालिका, मंगला र बेनी नगरपालिकाको सिमानामा पर्ने पर्यटकीय स्थल टोड्के मुलाका लागि परिचित छ । दुईदशक अघिसम्म म्याग्दीका साथै बागलुङ र पर्वतबाट समेत मुला लिन टोड्के पुग्थे । अहिले भने टोड्के पर्यटकीय स्थलका रुपमा विकास भएको छ । यहाँको भ्रमणमा पुग्ने पर्यटकहरुले कोसेलीका रुपमा मुला लिएर फर्किने गर्दछन् । हिमालको काखमा चिसो हावापानी, अर्गानिक उत्पादन र पर्यटकको रोजाइका कारण स्थानीय जातको मुला टोड्केको पहिचान बनेको छ ।  

टोड्केको भ्रमणमा पुग्नुभएकी पर्वतको जलजला गाउँपालिका २ बगरफाँटकी देवी जिसीले यहाँको मुला खानका लागि स्वादिष्ट हुने भएकाले कोसेलीका रुपमा लैजान लागेको बतानुभयो । प्रतिमुला एकसय रुपियाँका दरले खरिद गरेको उहाँले बताउनुभयो ।

यहाँ स्थानीय जातको सेतो र रातो रङको मुला खेती हुन्छ । पाँच घरधुरी बसोबास रहेको यहाँ सबैले मुला खेती गरेको रघुगंगा गाउँपालिका ५ की गौमाया पाईजाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पहिला पहिला मुला लिन बागलुङ र पर्वत देखि पनि आउने गर्नुहुन्थ्यो । अहिले आउन छाड्नुभएको छ । टोड्केको भ्रमणमा आउने पर्यटकहरुले रहर लागेर खरिद गरेर लगे पनि पहिलाको जस्तो बिक्री हुन छाडेको छ ।’’

मुला किन्न आउनेलाई बारीमै ठूलो मुलालाई एकसय र सानालाई २५ रुपियाँका दरले गोटाअनुसार बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । एउटै मुलाको तौल ६ किलोसम्म हुने गरेको उहाँको भनाई छ । यहाँको मुला खानका लागि राम्रो हुने भएकाले खरिद गरेर लैजान लागेको बेनी गलेश्वरका धनिलाल गर्बुजाले बताउनुभयो । 

टोड्केका स्थानीयले मुलाबाट धजरा, चाना, सिन्की (गुन्द्रुक) बनाएर राख्ने गर्दछन् । पहिले पहिले टोड्केवासीले आफूले लगाएको मुलासँग अन्न साट्ने गर्थे ।  तर पछिल्लो समय यो चलन हराउँदै जान थालेको पाइजाले बताउनुभयो । 

पहिले मुला लिनका लागि जिल्लाको राखु, अर्थुङ्गे, बेनी, बराङ्जा, अर्मन, रत्नेचौर, दग्नाम, पर्वतको मल्लाज, धाईरिङ र बागलुङ जिल्लाबाट समेत मानिसहरु टोड्के पुग्थे तर, पछिल्लो समय अन्न लिएर मुला साट्न भनेर पहिले जस्तो ग्राहक जान छाडे पनि टोड्के भ्रमणमा जानेहरुले मुला खरिद गरेर फर्किने गरेका छन् ।