• ४ मंसिर २०८१, मङ्गलबार

सांसद बजगाईंविरुद्ध कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी

blog

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं

काठमाडौँ, कात्तिक ३० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसमा सहमहामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले शृङ्खलाबद्ध रुपमा आफूविरुद्ध कुप्रचार प्रसार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिनुभएको छ ।

अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार बुझाइएको उजुरीमा नेपाली कांग्रेसका महासमिति सदस्य तथा गोरखा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यवसायी  बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै शृङ्खलाबद्ध रुपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरुमा कुप्रचार गर्दै आएको पाण्डेले उजुरीमा उल्लेख गर्नुभएको छ ।

उजुरीमा भएिको छ , “नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावनामाथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ । लोकतन्त्र र विधिको शासनमा यस खाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ ।” बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै मङ्गलबार सामाजिक सञ्जलमा पोष्ट गरेपछि त्यसलाई लिएर केही अनलाइनहरुमा समाचार प्रकाशित भएका थिए  ।

सोसम्बन्धी समाचार सार्वजनिक भए लगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यसविरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएपछि सांसद बजगाईंले पाण्डेविरुद्धका सबै पोष्टहरु केही घण्टापछि नै सामाजिक सञ्जालबाट हटाउनुभएको थियो ।

लिखित उजुरीमा भनिएको छ, “मन्त्रीको सपथ ग्रहण भएको मितिदेखि शृङ्खलाबद्ध रुपमा मन्त्रालयको कामकारवाही र मेरो व्यक्तिगत चरित्र र मानमर्यादामा आँच पुग्ने गरी कुत्सित मनसायका साथ घुस/रिसवत जस्तो गम्भीर आरोप लगाई, कुप्रचार–प्रसार गर्दै मेरो व्यक्तिगत नैतिक आचरण र ख्यातिमा दोष लगाउने जस्ता कलुषित, अमर्यादित र गैर कानुनी कार्य गरी आउनुभएको छ । यस कार्यले नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत चरित्र र पार्टीको आन्तरिक अनुशासन तथा अङ्गीकार गरेका मूलभूत विचार र सिद्धान्तलाई समेत खलल पुर्‍याएको छ ।”

उजुरीमा भनिएको छ, “म आफ्नो व्यक्तिगत र राजनीतिक जीवनलाई निष्ठा इमानदारी र नैतिकताको मार्गमा अविचलित रूपमा अगाडि बढाइरहेको छु । नेपाली कांग्रेस पार्टी र शीर्ष नेतृत्वले देखाएको त्याग समर्पण र नैतिकताको बाटोको पदचिहलाई पछ्याउँदै आफ्नो राजनीतिक यात्रामा आफूलाई समर्पित गरिरहेको छु ।”

“मेरो निष्ठा र इमानको बाटोलाई कुनै पनि प्रकारको दाग लाग्न नदिन दृढ सङ्कल्पित छु । माननीय बजगाईका अवाञ्छित अराजक र गैरकानुनी कार्यले विधिको शासन, लोकतन्त्र, पार्टी र संसदीय पद्धति मर्यादा, कानुन र अनुशासनको समेत गम्भीर उलङ्घन गरेको छ ।” उजुरीमा भनिएको छ ।

“प्रतिनिधि सभा सदस्यले पदीय मर्यादा र गरिमा समेतको ख्याल नगरी मिति २०८१ कात्तिक २७ गते आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल ट्वीटर (एक्स) र फेसबुकमार्फत निन्दनीय भाषामा लगाएको आधारहीन फरेवपूर्ण कलुषित तथा गैरकानुनी आरोपलाई चुनौती दिँदै सत्यतथ्यको उजागर गराई, यस खालका अमर्यादित अवाञ्छित अराजक तथा गैरकानुनी कार्यमाथि अनुसन्धान गरी आवश्यक कारवाही गरिदिनु हुन अनुरोध गर्दछु ।”