• १२ पुस २०८१, शुक्रबार

डिएपी मलको माग उच्च

blog

कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय नेपालगन्जको गोदाममा रहेको रासायनिक मल । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक ३० गते । गहुँ छर्ने सिजन सुरु हुन लागेसँगै बाँकेमा डिएपी (रासायनिक मल)को माग उच्च भएको छ । माग अनुसार डिएपी मल वितरण हुन नसक्दा किसानले आवश्यक डिएपी मल पाउन सकेका छैनन् 

कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय नेपालगन्जमा अन्य रासायनिक मलको मौज्दात भए पनि डिएपी मलको भने अत्यन्तै न्यून मात्रामा मौज्दात रहेकाले किसानले आवश्यकता अनुसार डिएपी मल पाउन नसकेका हुन् ।

कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले गहुँको सिजन सुरु हुन लागेका कारण डिएपी मलको माग उच्च भए पनि मौज्दात अत्यन्तै न्यून भएका कारण माग अनुसार परिपूर्ति गर्न नसकिएको बताउनुभयो ।

“बाँकेमा करिब पाँच हजार मेट्रिक टनभन्दा बढी डिएपी मल आवश्यक हुन्छ, यस आर्थिक वर्षमा हाम्रो लक्ष्य र माग २५ सय मेट्रिक टनको थियो, जम्मा ६८५ मेट्रिक टन प्राप्त भयो ।” शाखा प्रबन्धक श्रेष्ठले भन्नुभयो, “यति कम मात्रामा रहेको मलले कसरी माग अनुसार पुर्‍याउन सकिन्छ ? त्यही पनि सबै सहकारी संस्थालाई बराबर गरेर वितरण गरिरहेका छौँ ।”

“गहुँ छर्ने सिजन सुरु हुन लागेको छ, माग ह्वात्तै बढ्दो छ, हाम्रोमा मात्र हैन देशैभरी डिएपीको माग बढी नै छ, तर मौज्दात न्यून हुँदा माग अनुसार परिपूर्ति गर्न सकिएको छैन ।” श्रेष्ठले भन्नुभयो, “हाम्रोमा त अलिअलि भएका कारण त्यसैलाई वितरण गरिरहेका छौँ, अन्य जिल्लामा त त्यो पनि छैन, यस वर्ष बाँकेमा सिक्टा सिँचाइका कारण सिँचित क्षेत्र बढेका कारण पनि अन्य वर्षमा भन्दा यस वर्ष बढी नै माग देखिन्छ ।”

नेपालमा मल ल्याउने जिम्मा पाएको आइपीएलले समय मै डिएपी नल्याउँदा देशैभर डिएपी मलको अभाव जस्तो देखिएको उहाँले बताउनुभयो । “नेपालमा मल ल्याउने जिम्मा पाएको आइपीएलले डिएपी नल्याउँदा जताततै समस्या देखिएको छ, कुनै प्राविधिक कारणले डिएपी नेपालमा आउन नसकेको हुन सक्छ, हामीले ल्याउने ठाउँ मै डिएपी छैन, मङ्सिरको अन्तिमसम्म आइपुग्छ कि भन्ने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो ।

कम्पनीको नेपालगन्ज कार्यालयमा डिएपी मलको मौज्दात अत्यन्तै न्यून रहे पनि युरिया र पोटासको भने मौज्दात रहेका कारण माग अनुसार परिपूर्ति गर्न सकिने कार्यालयले जनाएको छ ।

शाखा प्रबन्धक श्रेष्ठका अनुसार यस वर्ष ६ हजार मेट्रिक टन युरिया, २५ सय मेट्रिक टन डिएपी र तीन सय मेट्रिक टन पोटासको लक्ष्य र माग गरिए पनि युरिया ४०२०.५०० मेट्रिक टन, डिएपी ६८५ मेट्रिक टन र पोटास ७५ मेट्रिक टन प्राप्त भएको जानकारी दिनुभयो । 

हालसम्म युरीया २९४९.९०० मेट्रिक टन, डिएपी ९८५.८५० मेट्रिक टन र पोटास ६६.२०० मेट्रिक टन बिक्री वितरण भइसकेको छ । गत वर्षबाट अल्या गरी युरिया ३५७.९०० मेट्रिक टन, डिएपी ४२४.४५० मेट्रिक टन र पोटास ३.२०० मेट्रिक टन यस वर्षका लागि ल्याइएको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कात्तिक २८ गतेसम्म कम्पनीको गोदाममा युरिया १४२८.५०० मेट्रिक टन, डिएपी १२३.६०० मेट्रिक टन र पोटास १२ मेट्रिक टन छ ।

गत आर्थिक वर्षमा २८२०.७५० मेट्रिक टन युरिया, २१०५ मेट्रिक टन डिएपी र १२३ मेट्रिक टन पोटास प्राप्त भएको कार्यालयले जनाएको छ । जसमध्ये, युरीया २७५६.१०० मेट्रिक टन, डिएपी १८०१.७०० मेट्रिक टन र पोटास ११९.८०० मेट्रिक टन बिक्री वितरण भएको थियो । 

बाँकेमा रहेका आठ स्थानीय तहमा सूचीकृत सहकारी संस्थाहरुले स्थानीय तहकै सिफारिसमा कम्पनीको कार्यालयबाट मल लैजाने र किसानहरुलाई बिक्री वितरण गर्दै आएका छन् । जिल्लाको नेपालगन्जमा २६ वटा, कोहलपुरमा चार वटा, नरैनापुरमा तीन वटा, राप्तीसोनारीमा १५ वटा, डुडुवामा २५ वटा, बैजनाथमा १२ वटा, खजुरामा २३ वटा र जानकीमा १७ वटा गरी कुल १२५ वटा सहकारीले मल बिक्री वितरण गर्ने गरेका छन् ।