भक्तिविलास पोखरेल
गाईघाट, कात्तिक ३० गते । उदयपुरमा दुई छुट्टाछुट्टै ठाउँमा बिहीबार भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक राजन चापागाईँका अनुसार दुर्घटनामा भोजपुर हतुवागढी गाउँपालिका वडा नं २ का १९ वर्षीय ट्याक्टर चालक नीरज मगर र रौतामाई गाउँपालिका वडा नं १ डहरका ४० वर्षीय चक्रबहादुर तामाङको मृत्यु भएको हो ।
जिल्लाको उदयपुर गडीबाट ताप्ली गाउँपालिकातिर जाँदै गरेको प्र.१–०२–००२.त.९६१ नम्बरको ट्याक्टर उदयपुर गढी गाउँपालिका वडा नं २ को गोर्खेमा र लिम्चुङ्ग गाउँपालिकाबाट रौतामाई गाउँपालिकातिर जाँदै गरेको प्रदेश.०३–००१ त. ८१९० नम्बरको ट्याक्टर रौतामाईको वडा नं १ डहरमा दुर्घटना भएको हो ।
ती दुवै दुर्घटनामा घाइते भएका ताप्ली गाउँपालिका २ का २२ वर्षीय रमेश श्रेष्ठ, रौतामाई १ का १८ वर्षीय मनीषा तामाङ र सोही ठाउँका २३ वर्षीय सुरेश तामाङलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।
डहरस्थित भित्री सडक खण्डमा भएको दुर्घटनाका ट्याक्टर चालक २४ वर्षीय अमृत तामाङ फरार रहेकाले उनको खोजी कार्य जारी छ भने गोर्खेमा भएको दुर्घटनामा चालक मगरको मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र थप अनुसन्धान कार्य भइरहेको चापागाईँले बताउनुभयो ।