काठमाडौँ, कात्तिक २९ गते । काठमाडौँको गोकर्णेश्वरस्थित आफ्नै घरभित्र एकैपरिवारका तीनजना मृत भेटिएका छन् । गोकर्णेश्वर नगरपालिका–३ कुमारी गाम्छा बस्ने कान्छा नगरकोटीकी श्रीमती, छोरी र छोरा घरको कोठाभित्र मृत भेटिएका हुन् ।
कान्छा नगरकोटीकी श्रीमती सीता दङ्गाल, १५ वर्षीया छोरी अंशु मोक्तान र दुईमहिने छोरा आफ्नै कोठाभित्र मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँ प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
कान्छा नगरकोटीले यही कात्तिक १६ गतेदेखि हराइरहेको भन्दै आज दिउँसो प्रहरीवृत्त बौद्धमा खोजतलासका लागि निवेदन दिनुभएको थियो । सोही आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले अपराह्न घरको कोठाभित्रै उनीहरु मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक अधिकारीले उल्लेख गर्नुभयो । प्रहरीवृत्त बौद्ध र प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो । रासस