• १० मंसिर २०८१, सोमबार

देयाङ नगरसँग मितेरी सम्बन्ध कायम गर्न मुख्यमन्त्री आचार्यको प्रस्ताव

blog

गणेश खनाल  

अर्घाखाँची, कात्तिक २९ गते । चीनको सिचुआन प्रदेशको औपचारिक भ्रमणमा त्यहाँ रहनुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देयाङ नगरलाई लुम्बिनी प्रदेशका नगरपालिकासँग मितेरी सम्बन्ध कायम गरेर अनुभव तथा सहयोग आदानप्रदानलाई अघि बढाउन प्रस्ताव राख्नु भएको छ । 

देयाङ नगरको अवलोकन भ्रमणमा पुग्नुभएका मुख्यमन्त्री आचार्यले नगरका कार्यकारी उपप्रमुख लि च्याङ्ग पो लाई लुम्बिनी भ्रमणको लागि निम्तो समेत दिनुभयो । यसका साथै सो नगर र लुम्बिनी प्रदेशका नगरपालिकाहरूको बिचमा मितेरी सम्बन्ध कायम गरेर अघि बढ्ने बारेमा समेत प्रस्ताव राख्नु भएको भ्रमण दलमा सहभागी मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिनुभयो ।

"सिचुआन प्रदेशमा रहेको देयाङ नगरको अवलोकन भ्रमणपछि भएको छलफलमा मुख्यमन्त्री ज्यूले लुम्बिनी भ्रमण गर्न निमन्त्रणा गर्नु भयो भने प्रदेशका नगरपालिकाहरूसँग मितेरी सम्बन्ध कायम गर्ने बारेमा पनि प्रस्ताव राख्नु भएको छ", स्वकीय सचिव भुसालले भन्नुभयो,"मितेरी सम्बन्ध कायम गरेर अनुभव र सहयोग आदानप्रदान गर्ने बारे सकारात्मक छलफलहरू भएका छन् ।" 

देयाङ औद्योगिक सहर हो । जहाँ ठुला कम्पनीहरू प्रमुख रूपमा सञ्चालनमा छन् । देयाङ नगरले लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा औपचारिक छलफल कार्यक्रम समेत राखेको थियो । 

जुन कार्यक्रममा युरोप, मध्यपूर्व, एसिया, दक्षिण एसिया लगायतका मुलुकका प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका स्थानीय तहसँग मितेरी सम्बन्ध कायम गर्ने प्रस्ताव अघि सार्दै प्रदेश सरकारले त्यसमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको भ्रमण दलका सदस्य कुशल भुसालले जानकारी दिनुभयो । 

छिमेकी देश चीनको सिचुआन प्रदेशमा आयोजना गरिएको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्य सहित ७ सदस्य प्रतिनिधि मण्डल गएको छ ।