• १० मंसिर २०८१, सोमबार

तिहार सकिएसँगै गाउँ रित्तिए

blog

बाजुरा समाचारदाता

बाजुरा, कात्तिक २९ गते । नेपालीको महत्वपूर्ण चाड तिहार सकिएसँगै बाजुराका अधिकांश गाउँ रित्तिन थालेका छन् । तिहार मनाउन आएका परदेशी धमाधम कामको खोजीमा भारत जान थालेपछि बिस्तारै गाउँ रित्तिन थालेका हुन् । “पहिलेदेखि अहिलेसम्म भारतकै भरमा परिवार पाल्ने गरेको छुु । यसो दसैँतिहारका बेला गाउँमा आउँछु । त्यसपछि फेरि कामको खोजीका लागि भारतमै जाने गरेको छु,” बुढीगङ्गा नगरपालिका–१०, बदेडाका राजी सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एक वर्षपछि गाउँमा आउने दसैँतिहारले आफूलाई गाउँमा फर्काउने गरेको छु, भोको पेट पाल्न आफू सधैँ भारतमै बस्नुपर्ने बाध्यता छ ।” गाउँमा बसेर केही गरेर खान मन थियो तर के गर्ने आफूसँग न धन छ न त केही गरेर खाने उपाय छ । त्यसैले गाउँमै भोको बस्नुभन्दा भारतमा गएर दुई पैसा कमाई छोराछोरीलाई पाल्नु प¥यो भन्दै तिहार सकिएसँगै कामको खोजीमा भारत जान लागेको सार्कीले बताउनुभयो ।

गत असोज कात्तिकमा यहाँका गाउँबस्ती निकै भरिभराउ भएका थिए । लामो समयदेखि बन्द भएका यहाँका घरका ढोका पनि खुलेका थिए । अहिले फेरि ती सबै बिदेसिएपछि गाउँबस्ती रित्तिँदै गएका छन् । असोजको पहिलो सातादेखि बाजुरा फर्किनेको सङ्ख्या निकै बढेको थियो भने अहिले गाउँ छोडेर बाहिरिनेको सङ्ख्या पनि त्योभन्दा बढी रहेको छ । बाजुराको मार्तडी, तिपाडा, बल्दे, बाम्का, बेतालमाण्डौ, रिठा, मालिका र डाब बजारका काउन्टरमा अहिले भारतमा जानेको निकै भिड हुने गरेको छ । तिहार सकिएसँगै यहाँका स्थानीय सबै भारतमा जान लागेकाले ती काउन्टरमा टिकट लिनेको निकै भिड लाग्ने गरेको हो ।

तिहार सकिएसँगै बाजुरादेखि भारत जानेको निकै भिड हुने गरेको बाजुराको बुढीगङ्गा नगरपालिका–६, बाम्का बजारस्थित संयुक्त टिकट काउन्टरका कर्मचारी जनक बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँतिहारका बेला धनगढी, महेन्द्रनगरदेखि बाजुरामा आउनेको निकै भिड हुने गरेको थियो । अहिले भारत जानका लागि बाजुरादेखि धनगढी, महेन्द्रनगर जानेको निकै भिड हुने गरेको छ ।”

बाजुरादेखि पाँच वटा बस दैनिक भरिएर धनगढी र महेन्द्रनगर जाने गरेका छन् । यसमा झन्डै दुई÷तीन सयभन्दा बढीको हाराहारीमा यात्रु हुन्छन् । तीमध्ये सबैभन्दा बढी भारतमा जाने यात्रु रहेको बुढाले बताउनुभयो ।