• १० मंसिर २०८१, सोमबार

निःशुल्क आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित

blog

आँखाको मोतियाबिन्दु शल्यक्रियापछि सर्वसाधारण ।

मीना कँडेल

कावासोती, कात्तिक २८ गते । कावासोतीमा भएको निःशुल्क आँखा शिविरबाट एक हजार बढी सर्वसाधारणले निःशुल्क उपचार सेवा लिएका छन् । रोटरी क्लब कावासोतीको आयोजना, भिजन हिमालय फाउड स्वीजरल्याडको सहयोग र तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोगमा तीन दिनसम्म आयोजना गरिएको शिविरबाट एक हजार तीनसय जना लाभान्वित भएको आयोजक संस्थाले जनाएको छ ।

निःशुल्क आँखा शिविरमा आँखा चेकजाँच गरेकामध्ये करिब तीन सय मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया भएको छ । लामो समयदेखि मोतियाबिन्दुका कारण आँखाको ज्योति गुमाएका जेष्ठ नागरिकहरु शल्यक्रियापछि उज्यालो संसार देख्दा निकै खुसी देखिएका छन् । 

कावासोतीका दुलारी मुखिया उमेरले ८० काटिसक्नु भयो । विगत तीन वर्षदेखि आँखाको ज्योति गुमेको बताउँदै अहिले शल्यक्रियापछि दुवै आँखा देख्न सक्ने भएको बताउनुभयो । ढल्कँदो उमेरले आँखा नदेखेको होला भन्ने सोचले आँखा चेकजाँच नगर्नुभएका उहाँले अहिले परीक्षण गर्दा मोतियाबिन्दु भएकाे थाहा पाएसँगै निःशुल्क शल्यक्रिया गरेको बताउनुभयो । त्यस्तै कावासोतीका शिव भट्टरा  पनि मोतियाबिन्दुको शल्यक्रियापछि आँखा देख्न पाउँदा खुसी लागेको बताउनुभयो ।

जिल्लाको गैंडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका, विनयीत्रिवेणी गाउँपालिकामा निःशुल्क आँखा शिविरको आयोजना गरेको रोटरी क्लबका संस्थापक अध्यक्ष भरत पोख्रेलले बताउनुभयो । विगत दुई महिना अघिबाट आयोजना गरिएको शिविरमा करिब तीन हजार सात सय आँखाका बिरामीको चेकजाच भएको उहाँले बताउनुभयो । तीन दिन सम्म भएको शिविरमा परीक्षण गराएका मध्य विभिन्न कारणले करिव एक सय जना मोतियाबिन्दुका विरामीलाई फागुनमा शल्यक्रिया गरिने क्लबका संस्थापक अध्यक्ष पोख्रेलले बताउनुभयो ।

गाउँमा नै आएर निःशुल्क आँखा परीक्षण र शल्यक्रिया सेवा पाउँदा स्थानीय हर्षित भएका थिए । बुढ्यौली लागेर आँखा नदेखिएको भन्ने भ्रम र आर्थिक अभावले समयमा नै आँखा जाँच नगर्दा समस्या बढ्ने गरेको मध्यबिन्दु आँखा उपचार केन्द्रका नेत्र अधिकृत प्रदीप भट्टराईले बताउनुभयो । 

ग्रामीण भेगमा आँखाको रोगको समस्या बढ्दै गएको र उपचारका लागि आर्थिक अभाव हुने भएपछि रोटरी क्लबले गाउँगाउँमा निःशुल्क शिविर आयोजना गर्दै आएकाले आफूले पनि सहयोग गरेको उहाँको भनाइ छ ।

विभिन्न शिविरमा भेटिएका मोतियाबिन्दुका सङ्क्रमितहरुलाई निःशुल्क शल्यक्रियासँगै, आवश्यक औषधी,चस्मा समेत वितरण गरिएको छ । “दृष्टि सबैका लागि, नवलपुरबाट मोतियाबिन्दु निर्मूल अभियान” भन्ने उदेश्यका साथ प्रत्येक वर्ष रोटरी क्लब कावासोतीले मोतियाबिन्दुको निशुल्क शल्यक्रिया गर्दै आएको छ । गतवर्ष सम्ममा क्लबले एक हजार एकसय जनाको मोतीबिन्दुको निशुल्क शल्यक्रिया गरेको क्लबका पूर्व अध्यक्ष हरिहर अधिकारीले बताउनुभयो ।