• १० मंसिर २०८१, सोमबार

मुस्ताङ जिल्ला अस्पतालमा १५ महिनादेखि शल्यक्रिया सेवा अवरुद्ध

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, कात्तिक २८ गते । जिल्ला अस्पताल मुस्ताङमा २०८० भदौ महिनादेखि पछि बिरामीहरुले शल्यक्रिया सेला लिन सकेका छैनन् । सल्यक्रिया हुन नसक्दा सर्वसाधारणलाई सास्ती भएको छ । पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण मुस्ताङमा आन्तरीक तथा बाह्य पर्यटक समेतको घुइँचो हुने गरेको भए पनि शल्यक्रिया गर्ने दक्ष चिकित्सके समेत अभावले निकै समस्या हुने गरेको छ ।

पर्यटकलाई हाईअल्टिच्युट(लेक लाग्ने) तथा सामान्य दुर्घटना भएमा पनि शल्यक्रियाका लागि मुस्ताङदेखि म्याग्दी, बागलुङ, पर्वत हुँदै कास्कीको पोखरा पुग्नुपर्ने बाध्यता छ। सङ्घीयता कार्यान्वयनसँगै मुस्ताङ अस्पताललाई २०७७ सालदेखि १५ शय्याको अस्पतालमा २५ शय्याबाट सेवा दिन थालिएको छ । 

जिल्लामा रहेको संरचनामै प्रयोग गर्न मिल्ने गरी ल्याब, युएसजीलगायतका संरचना निर्माण गरेको भए पनि त्यसलाई प्रयोग गर्ने जनशक्ति नहुँदा भएका सामग्रीहरु पनि जिर्ण बन्दै गएको सर्वसाधारणको भनाइ छ । स्वास्थ्य सम्बन्धी कुनै समस्या भएको खण्डमा तत्काल उपचार गर्न सकिएन भने के गर्ने भन्ने तनावले सताउने गर्दछ । सामान्य मात्रै शल्यक्रिया गर्नुपर्ने भएको खण्डमा मुस्ताङबाट अलिक नजिक पर्ने म्याग्दीको बेनी वा त पोखरा पुर्‍याउनु पर्छ– जोमसोमका पर्यटन व्यवसायी अमृत सुवेदीको तर्क छ ।

मुस्ताङ अस्पतालमा २०८० को भदौ देखि एमडिजिपी चिकित्सक नहुँदा शल्यक्रिया तथा सामान्य चिरफारका लागि पनि मुस्ताङले माथिल्लो अस्पतालका लागि रिफर गर्नु पर्ने बाध्यता छ । हाल २५ शय्यामा सञ्चालित मुस्ताङ जिल्ला अस्पतालमा एक जना नवौं तहका चिकित्सकसहित जम्मा १८ जनाको दरबन्दी सृजना गरिएको छ । 

तर नवौं तहको चिकित्सक नै व्यवस्थापन गर्न सकेको छैन । हाल मुस्ताङ जिल्ला अस्पतालमा आठौं तहको स्थायी चिकित्सकसहित अरु करारका एमबीबीएस चिकित्सक रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट तेजस नेपालले जानकारी दिनुभयो । हाल भएको जनशक्तिले प्रसूति तथा अप्रेसन सेवा दिन अलिक जोखिम हुन्छ तर जोखिमरहित भएको खण्डमा भने हामीले सेवा दिने गरेको उहाँले भन्नुभयो ।

२०७८ सालमा अस्पताल व्यवस्थापन समिति र जिल्लाका ५ स्थानीय तहका जनप्रतिनिधिले अस्पतालमा एमडिजिपी चिकित्सक भर्ना गर्ने र सबै स्थानीय तहले मासिक २० हजार रुपियाँका दरले मुस्ताङ जिल्ला अस्पताललाई उपलब्ध गराउने सहमती गरेका थिए । त्यही सहमति अनुसार अस्पतालले पहिलो पटक एमडिजिपी चिकित्सक कुन्दन कर्णलाई मुस्ताङ अस्पतालमा करारमा ल्याइएको थियो । कर्ण २०७९ भदौ ४ गते अस्पतालबाट बिदा हुनुभयो । त्यसको छ महिना पछि तत्कालिन मुस्ताङ अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. बिशाल तिवारीलेको पहलमा अर्का एमडिजिपी चिकित्सक मुखिया घलेलाई मुस्ताङ अस्पताल ल्याइएको थियो । डा. घले २०८० भदौ १७ गते अस्पतालबाट गएपछि हालसम्म अर्को व्यक्ति ल्याउन नसकिएको डा.नेपालको भनाइ छ । अहिले पनि प्रयास गरिरहेको छु कुरा पोजिटिभ देखिएको छ हेरौं के हुन्छ–उहाँले सुनाउनुभयो ।

मुस्ताङ अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख माया गुरुङले अस्पतालका लागि एमडिजिपी चिकित्सकको व्यवस्थापन गरिदिन सम्बन्धित निकायमा धेरै पटक अनुरोध गरेको बताउनुहुन्छ । अस्पतालका लागि एमडिजिपी चिकित्सक माग गर्दै धेरै प्रयास गरिएको उहाँको भनाइ छ । 

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री सँग पनि समन्वय भएको तथा मुख्यमन्त्रीलाई पनि कुरा गर्नुका साथै संघिय स्वास्थ्य मन्त्रालय सम्म पनि पहलका लागि आवश्यक समन्वय भएको भए पनि हाल सम्म त्यो काम सफल हुन नसकेको अध्यक्ष गुरुङले भन्नुभयो । सबैले सकारात्मक प्रतिक्रिया दिनुभएको छ तर हामीले गत वर्षको भदौदेखि नै डाक्टर ल्याउन प्रयास गरेको भए पनि हालसम्म पनि सफल हुन सकेका छैनौं ।

१५ शय्याको स्वीकृतिप्राप्त मुस्ताङ जिल्ला अस्पतालमा २५ शय्या सञ्चालन गरिएको र १८ जनाको स्वीकृत दरबन्दी भए पनि हाल एक जना आठौं तहका निमित्त मेडिकल सुपरिटेण्डेन्ट सहित दरबन्दीको चार जनाले मात्रै जिल्ला अस्पतालको भार थेग्दै आउनुभएको छ ।