• २१ मंसिर २०८१, शुक्रबार

निःशुल्क कानुनी परामर्श सेवा प्रदान गरिने

blog

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको कार्यालय । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक २८ गते । सुशासन र कानुनको क्षेत्रमा क्रियाशील संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निःशुल्क कानुनी परामर्श सेवा दिने भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत यस वर्ष पनि संस्थाले निःशुल्क कानुनी परामर्श सेवा प्रदान गर्न लागेको हो ।

समुदायमा रहेका महिला, गरिब, विपन्न, असहाय, मुस्लिम महिलाहरूलाई कानुनसँग सम्बन्धित विभिन्न सेवाहरू प्रदान गर्ने सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आइएचआरसी)का अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार १६ दिने अभियानमा विशेष गरी महिलाको कानुनी अधिकारसँग जोडिएकाले उनीहरूको सवालमा पैरवी र सामाजिक सेवाको भावनाले उक्त सेवा प्रदान गरिने छ । 

संस्थाले विगत लामो समयदेखि समुदायका गरिब विपन्न, तथा अल्पसङ्ख्यक समुदायका नागरिकहरूको कानुनी प्रक्रिया अन्तर्गत, निवेदन, जाहेरी, प्रतिउत्तर मुद्दालगायतको सेवा प्रदान गर्दै आएको कार्यकारी निर्देशक राकेशकुमार मिश्रले बताउनुभयो । यही मङ्सिर १० गतेदेखि मङ्सिर २५ गतेसम्म दिवस मनाइनेछ ।

संस्थाले कानुनको क्षेत्रमा विशेष काम गरिरहेकाले कानुनसँग सम्बन्धित विभिन्न सेवाहरू उपलब्ध गराउँदै आएको छ । संस्थाले कानुनी परामर्शसँगै अन्य सरोकारवाला निकायसँगको समन्वयमा सचेतनामूलक अभियान पनि सञ्चालन गर्ने सचिव मिश्रले बताउनुभयो । यस वर्ष महिला हिंसा विरुद्धको १६ दिने अभियानमा राष्ट्रिय नारा ‘हाम्रो हक, हाम्रो अधिकार, हिंसा विरुद्धको सङ्घर्ष !’ तय गरिएको छ । 

संस्थाले समुदायस्तरमा पारलिगलमार्फत् कानुनी सचेतना अभियान पनि सञ्चालन गरिरहेको छ । स्थानीयलाई कानुनको बारेमा सचेतना, उनीहरूको स्थानीय सरकारमा पहुँच, सरोकारवाला निकायहरू अदालत, प्रहरी, प्रशासनलगायतमा स्थानमा जान सहजीकरण गरिरहेको संस्थाका अध्यक्ष तिवारीले बताउनुभयो।