• ६ वैशाख २०८१, बिहिबार

बत्तीस पालिकाको अन्तिम परिणाम सार्वजनिक

blog

शैल्यशिखर नगरपालिकामा निर्वाचित प्रमुख र उपप्रमुख । तस्बिर : लोकेन्द्र जोशी

धनगढी, जेठ ३ गते  । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ स्थानीय तहमध्ये सोमबार दिउँसोसम्म ३२ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको परिणामअनुसार नेपाली काँग्रेसले १५, नेकपा (एमाले) ले ११ र नेकपा माओवादी केन्द्रले छ स्थानमा प्रमुख पद जितेको छ । यस्तै उपप्रमुखमा काँग्रेसले १६, एमालेले १२, माओवादीले तीन र नेकपा (एकीकृत समाजवादी) का एक जना निर्वाचित भएका छन् । 

सबै स्थानीय तहमा वामपन्थी विजयी

दार्चुला समाचारदाताका अनुसार दुई नगरपालिका र सात गाउँपालिका गरेर नौ स्थानीय तह रहेको दार्चुलाका सबै पालिका प्रमुखमा कम्युनिस्ट पार्टीको वर्चस्व कायम भएको छ । चार गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने दुई नगरपालिका र दुई गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् । मतगणना कार्य जारी रहेको व्यास गाउँपालिका अध्यक्षमा पनि एमालेकै मङ्गलसिंह धामीको जित सुनिश्चित जस्तै छ । 

दार्चुलामा काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो । माओवादीले नेतृत्व पाएका चारवटै गाउँपालिकामा गठबन्धन विजयी भएको छ भने काँग्रेसले नेतृत्व पाएका सबै पालिकामा प्रमुख पद गुमाएको छ । वडामा तहमा भने मिश्रित नतिजा प्राप्त भएको छ ।पालिका प्रमुख हारे पनि चार पालिकाका उपप्रमुखमा भने काँग्रेसका उम्मेदवार विजयी भएका छन् । शैल्यशिखर नगरपालिका प्रमुखमा एमालेका विजयसिंह धामी र उपप्रमुखमा शान्ति खडायत निर्वाचित हुनुभएको छ । 

मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा एमालेका हिरासिंह धामी निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का कल्यानसिंह धामी निर्वाचित हुनुभएको छ । लेकम गाउँपालिकामा माओवादीका रामदत्त जोशी अध्यक्षमा विजयी हुनुभएको छ । उपाध्यक्षमा एमालेका माधवी जोशी विजयी हुनुभएको छ । 

मार्मा गाउँपालिका अध्यक्षमा माओवादीका जमनसिंह धामी र उपाध्यक्षमा काँग्रेसका शर्मिला सिंह निर्वाचित हुनुभएको छ । नौगाड गाउँपालिका अध्यक्षमा माओवादीका दलजितसिंह धामी विजयी हुनुभएको छ भने उपाध्यक्षमा काँग्रेसका जगतसिंह ठगुन्ना विजयी हुनुभएको छ । 

दुहुँ गाउँपालिको अध्यक्षमा एमालेका नरेन्द्रबहादुर वडाल विजयी हुनुभएको छ भने उपाध्यक्षमा काँग्रेसका शान्ति बम विजयी हुनुभएको छ । अपिहिमाल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहरा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार काँग्रेसकी देवकी बोहरा निर्वाचित हुनुभएको छ ।यसैगरी महाकाली नगरपालिका प्रमुखमा एमालेका नरसिंह चैसिर र उपप्रमुखमा दुर्गा खत्री विष्ट निर्वाचित हुनुभएको निर्वाचन आयोगले जानकारी दिएको छ । 

छ पालिकाको परिणाम सार्वजनिक

डोटी समाचारदाताका अनुसार डोटीका नौमध्ये छ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।छ पालिकामा काँग्रेस चार, एमाले र माओवादीले एक/एक पालिका जितेका छन् । डोटीमा दिपायल सिलगढी, शिखर पालिका र केआईसिंह गाउँपालिकाको परिणाम आउन बाँकी छ । 

पछिल्लो परिणामअनुसार जोरायल गाउँपालिकामा एमालेका दुर्गादत्त ओझा अध्यक्ष र सोही पार्टीका  पदमा जमुनाकुमारी बोहरा उपाध्यक्ष, आदर्श गाउँपालिकामा काँग्रेसका गणेशबहादुर खड्का अध्यक्ष र लक्ष्मी धामी उपाध्यक्ष, बोगटान फुड्सिल गाउँपालिकामा माओवादी केन्द्रका कमलबहादुर गड्सिला अध्यक्ष र काँग्रसकी विष्नादेवी बम उपाध्यक्ष निर्वाचित हुनुभएको छ । 

यसैगरी सायल गाउँपालिकामा नेपाली काँग्रेसका धर्मराज जोशी अध्यक्ष र नेपाली काँग्रसकै निर्मला ओली उपाध्यक्ष, पूर्वीचौकी गाउँपालिकामा नेपाली काँग्रेसका रामप्रसाद उपाध्याय अध्यक्ष र पशुपति खड्का उपाध्यक्ष र बडीकेदार गाउँपालिकामा काँग्रेसकै भैरवबहादुर साउद अध्यक्ष र डम्मरीकुमारी विष्ट उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । 

डोटीको बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिला र जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा तथा उपाध्यक्ष जमुनाकुमारी बोहरा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको हो । यस्तै बोगटान फुड्सिल अध्यक्ष गड्सिला माओवादीका र जोरायल गाउँपालिकामा अध्यक्ष ओझा तथा उपाध्यक्ष बोहरा एमालेबाट निर्वाचित हुनुभएको हो । 

बेलडाँडीमा काँग्रेसका राना विजयी

कञ्चनपुर सामाचारदाताका अनुसार कञ्चनपुरको बेलडाँडी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका हरिशचन्द्र राना निर्वाचित हुनुभएको छ । एमालेले जित्दै आएको सो पालिकामा फराकिलो मतान्तरले काँग्रेसका राना अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचित अध्यक्ष रानाले चार हजार १०३ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी नेकपा एमालेका विष्टले दुई हजार ३०१ प्राप्त गर्नुुभएको छ ।

बेलडाँडी गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकै शान्ति नाथ निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा निर्वाचित नाथले तीन हजार ६७३ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वी नेकपा एमालेका फूलदेवी रानाले तीन हजार २२७ मत प्राप्त गर्नुभयो । बेलडाँडी गाउँपालिका वडा नम्बर १, २, ३ र ५ मा नेपाली काँग्रेस तथा वडा नम्बर ४ मा एमालेको पूरै प्यानल निर्वाचित भएको बेलडाँडीका निर्वाचन अधिकृत केसीले बताउनुभयो ।

लालझाडी एमालेले जित्यो

कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा एमालेका निर्मल राना विजयी हुनुभएको छ । उहाँले चार हजार ५१६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चेतराज पन्तले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका मदनसेन वडायकले दुई हजार ८५८ र नेपाली काँग्रेसका श्रीकृष्ण रानाले दुई हजार ४६८ मत ल्याउनुभएको छ । 

यस्तै उपाध्यक्षमा पनि एमालेकी सपना चौधरीले तीन हजार ५६१ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राधा रानाले तीन हजार ४९३ र माओवादीका सत्यदेवी महराले दुई हजार ७३२ मत प्राप्त गरेको अधिकृत पन्तले जानकारी दिनुभयो । ६ वडा रहेको लालझाडीमा तीन वडा एमाले, दुई वडा माओवादी र एक वडा काँग्रेसको हातमा परेको छ । 

चुरेमा एमालेका बोगटी विजयी

धनगढी/घोडाघोडी समाचारदाताका अनुसार कैलालीस्थित चुरे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का चक्रबहादुर बोगटी विजयी हुनुभएको छ । गठबन्धनका साझा उम्मेदवार लोकबहादुर सारुलाई २४ मतान्तरले पराजित गरेर बोगटी अध्यक्षमा विजयी हुनुभएको हो । विजयी हुनुभएका बोगटीले तीन हजार ३०५ मत प्राप्त गर्नुभयो ।

उहाँसँग पराजित हुनुभएका नेकपा (एकीकृत समाजवादी) का सारुले तीन हजार २८१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएकी नेपाली काँग्रेसका धना थापा तीन हजार ४४९ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका दीपादेवी साउँदले तीन हजार १२१ मत प्राप्त गर्नुभयो । सो पालिकाका छ वडामध्ये पाँच वडा एमाले र एक काँग्रेसले जितेको छ । 

गौमुुलमा एमालेका रोकाया 

बाजुरा समाचारदाताका अनुसार बाजुराको गौमुल गाउँपालिकामा एमालेका हरिबहादुर रोकाया फेरि अध्यक्षमा निर्वाचित हुनुभएको छ । सो पालिकमा सीता रोकाया थापा पनि फेरि उपाध्यक्ष हुनुभएको छ । उहाँहरू दुवै जना ०७४ पनि एमालेबाटै निर्वाचित हुनुभएको थियो । 

सोमबार दिउँसो प्राप्त परिणामअनुसार अध्यक्षमा निर्वाचित रोकायाले तीन हजार ४३४ र उहाँका प्रतिद्वन्द्वी हिरेन्द्रबहादुर रोकायाले एक हजार ४७० मत पाउनुभएको छ । उपाध्यक्षमा थापाले तीन हजार ११४ र उहाँका प्रतिद्वन्द्वी उमा रोकायाले एक हजार ७४४ मत पाउनुभयो । गौमुलका छवटै वडामा एमालेले जितेको छ । 

नौवटा पालिका रहेको बाजुराको स्वामीकार्तिकमा आइतबार नै परिणाम आएको छ । परिणामअनुसार नेपाली काँग्रेसका जिल्ला सचिव भरत रोकाया अध्यक्ष र काँग्रेसकै मैनादेवी जोशी विजयी हुनुभएको छ ।