• १३ साउन २०८१, आइतबार

स्थानीय तह सदस्य निर्वाचन : गठबन्धनका उम्मेदवारलाई अग्रता

blog

सिन्धुलीको दुधौली नगरपालिका–३ मा नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भद्रा माझीको टिम । तस्बिर : बाबुराम देवकोटा

बागमती प्रदेश ब्युरो 

हेटौँडा, जेठ ३ गते । स्थानीय तह सदस्य पदका लागि भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । बागमती प्रदेशका विभिन्न जिल्लामा सार्वजनिक भएको मत परिणामअनुसार सत्तारूढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । मकवानपुर र सिन्धुपाल्चोकमा सत्ता गठबन्धन र एमालेका उम्मेदवार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् ।

हेलम्बुमा निमाग्याल्जेनको दोस्र्रो पटक जित

सिन्धुपाल्चोक समाचारदाता चित्र मिजारका अनुसार हेलम्बु गाउँपालिका नेपाली काँगे्रसका निमाग्याल्जेन शेर्पा अध्यक्ष र अप्सरा लामिछाने उपाध्यक्षमा विजयी हुनुभएको छ । अध्यक्ष शेर्पाले पाँच हजार ३८६ र उपाध्यक्ष लामिछानेले पाँच हजार २१४ मत ल्याउनु भई जित हासिल गर्नुभएको हो ।

शेर्पा २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै विजयी हुनुभएको थियो । निकटतम प्रतिस्पर्धी एमालेका अध्यक्ष उम्मेदवार दावा लामाले चार हजार ६०३ मत र उपाध्यक्ष उम्मेदवार गङ्गा अर्यालले चार हजार ६७१ मत ल्याउनुभएको थियो । 

कैलाशमा गठबन्धन विजयी

मकवानपुर समाचारदाता राममणि दाहालका अनुसार मकवानपुरको तीनवटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएकामा इन्द्रसरोवर गाउँपालिका र भीमफेदी गाउँपालिकामा नेकपा एमाले र कैलाश गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । इन्द्रसरोवर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन् ।एमालेका देवकृष्ण पुडासैनी शर्मा र उपाध्यक्षमा उमाकुमारी लामा निर्वाचित हुनुभएको हो ।

इन्द्रसरोवर गाउँपालिकाका निर्वाचन वस्तीले अध्यक्षमा विजयी एमालेका शर्माले तीन हजार ७२२ मत प्राप्त गर्नुभएको जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका विश्वलाल लामाले तीन हजार ४७२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा पुनः निर्वाचित लामाले तीन हजार ७२५ मत प्राप्त गर्दा काँग्रेसकी निर्मला रुम्बाले तीन हजार ६५६ मत ल्याउनुभएको छ ।

पाँच वटा वडा रहेको यस पालिकामा काँग्रेसका तीन र एमालेका दुई वडाध्यक्ष विजयी भएका छन् । यस्तै भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका हिदम लामा पुनः निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा सत्तारूढ गठबन्धनबाट काँग्रेसका सञ्जीव श्रेष्ठ विजयी बन्नुभएको छ । लामाले गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का बद्रीबहादुर स्याङ्तानलाई पराजित गर्नुभएको हो ।

भीमफेदी गाउँपालिकाका निर्वाचन अधिकृत रुद्रहरि भण्डारीका अनुसार एमालेका लामाले पाँच हजार ५९१ र गठबन्धनका स्याङ्तानले पाँच हजार २०९ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा १६ मत अन्तरले एमालेका पार्वती राना काँग्रेसका श्रेष्ठसँग पराजित हुनुभएको छ । श्रेष्ठले पाँच हजार ३१५ र रानाले पाँच हजार २९९ मत प्राप्त गर्नुभएको छ । नौवटा वडा रहेको उक्त पालिकामा एमालेले पाँच, काँग्रेसले तीन र एकीकृत माओवादीले एउटा वडाध्यक्ष जितेको छ ।

यसैगरी कैलाश गाउँपालिकाका सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली काँग्रेसका लोकबहादुर मोक्तान र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का बालकुमार मल्ल विजयी हुनुभएको हो । अध्यक्षमा निर्वाचित मोक्तानले चार हजार ८९७ र नेकपा एमालेका नरेन्द्रलाल रिजालले चार हजार ९३ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा विजयी मल्लले चार हजार ८८ र उहाँका निकटतम प्रतिस्पर्धी एमालेका सुकुमाया थिङले तीन हजार ९३५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १० वटा वडा रहेको पालिकामा काँग्रेसले पाँच, एमालेले तीन र माओवादी केन्द्रले दुईवटा वडाध्यक्ष जितेको छ ।

चालीस वडाको नतिजा सार्वजनिक

धादिङ समाचारदाता मुरारी अधिकारीका अनुसार धादिङ जिल्लाको १३ वटा पालिकामा मतगणना भइरहेको छ । हालसम्म ४० वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । हालसम्म वडाध्यक्षमा नेपाली काँग्रेसबाट १४ जना, नेकपा माओवादी केन्द्रबाट ११ जना, नेकपा एमालेबाट पाँच जना, नेकपा एकीकृत समाजवादीबाट चार जना, राप्रपाबाट चार जना, जनता समाजवादीबाट एक जना र स्वतन्त्रबाट एक जना निर्वाचित भएका छन् । 

वडाध्यक्षमा माओवादी अगाडि

सिन्धुली समाचारदाता बाबुराम देवकोटाका अनुसार सिन्धुली जिल्लामा सोमबारसम्म स्थानीय तह निर्वाचनअन्तर्गत ४२ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।मत परिणामअनुसार नेकपा (माओवादी केन्द्र)ले १९ वटा वडामा, नेपाली काँग्रेसले १६ वटा वडा र नेकपा एमालेले सातवटा वडामा वडाध्यक्ष जितेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र सुनकोसी गाउँपालिकाको प्रमुख तथा उपप्रमुखमा सत्तारूढ गठबन्धनका उम्मेदवार अग्रस्थानमा रहेका छन् ।फिक्कल गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाटै नेपाली काँग्रेसका नृपबहादुर भुजेल र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार लोकेन्द्रबहादुर कार्कीलाई उछिन्दै नेकपा एमालेका उम्मेदवार राजु बराल अग्रस्थानमा रहनुभएको छ । 

वडामा एमाले अगाडि 

रामेछाप समाचारदाता नवराज श्रेष्ठका अनुसार जिल्लाको दुई नगरपालिका र पाँच गाउँपालिकाको मत परिणाम आउने क्रम जारी छ । सोमबार साँझसम्ममा २४ वटा वडाको नतिजा सार्वजनिक भएको छ । परिणामअनुसार २४ मध्ये नेकपा एमाले १०, काँग्रेसले नौवटा वडामा जित हात पारेको छ भने माओवादी केन्द्रले पाँचवटा वडामा वडाध्यक्षसहित सदस्य जितेको छ ।

एघार वडाध्यक्ष दोहोरिए 

बनेपा समाचारदाता केदार तिमल्सिनाका अनुसार काभ्रेपलाञ्चोक जिल्लाका ११ जना वडाध्यक्षमा पुनः दोहोरिएका छन् । सोमबार साँझसम्मको नतिजाअनुसार भुम्लु गाउँपालिकामा सबैभन्दा बढी पाँचवटा वडामा वडाध्यक्ष दोहोरिएका छन् । यसैगरी बनेपा नगरपालिकामा दुई जना, पनौती नगरपालिकामा एक जना, धुलिखेल नगरपालिका, महाभारत गाउँपालिका र रोसी गाउँपालिकामा एक/एक वडाध्यक्ष पुनः दोस्रो कार्यकालका लागि दोहोरिएका छन् ।काभ्रेका १३ स्थानीय तहका १३५ वडामध्ये सोमबार साँझसम्म ४५ वटा वडाको नतिजा सार्वजनिक भएको छ । काँग्रेस १९, नेकपा एमाले १८, नेकपा माओवादी केन्द्र सात र एक जना स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा विजयी हुनुभएको छ ।