• २५ मंसिर २०८१, मङ्गलबार

विद्यार्थी सङ्ख्या नपुग्दा अनुदान बन्द

blog

बैतडी समाचारदाता 

बैतडी, कात्तिक २६  गते  ।  बैतडीको पाटन नगरपालिकामा बसाइँसराइका कारण जनसङ्ख्या घटेपछि त्यसको प्रत्यक्ष असर विद्यालयमा परेको छ । नगरपालिकाले विद्यार्थी सङ्ख्या नपुगेका विद्यालयलाई अनुदान रकम बन्द गर्ने निर्णय गरेको छ । यद्यपि कम्तीमा एक लाख मानिस बसाल्ने योजना अनुसार सरकारले पाटनमा नयाँ सहर आयोजना अघि बढाएको छ । 

नगरले तोकेको विद्यार्थी मापदण्ड अनुसार प्रारम्भिक बालविकासमा न्यूनतम २५ जना, कक्षा १ देखि ८ सम्म ११० जना र कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा न्यूनतम कक्षा १ देखि १२ सम्म २१० जना विद्यार्थी नभए अनुदान रकम बन्द गर्ने निर्णय गरेको हो । 

पाटनका कुल १० वटा वडामा रहेका ६४ विद्यालयमध्ये ४८ विद्यालयमा नगरले तय गरेको मापदण्ड अनुसार विद्यार्थी सङ्ख्या पुग्न सकेको छैन । सङ्घीय शिक्षाको मापदण्डबाट विद्यार्थी सङ्ख्या घटाएर मापदण्ड तयार गर्दा पनि ४८ वटा विद्यालयमा विद्यार्थी सङ्ख्या अपुग भएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताउनुभयो । 

नगरप्रमुख रावलले भन्नुभयो, “विद्यालयमा विद्यार्थी सङ्ख्या नभए पनि ११४ जना नगर शिक्षक पाल्नु पर्दा वार्षिक चार करोड रुपियाँभन्दा बढी रकम खर्च भइरहेको छ । नगरको आन्तरिक स्रोत ५० लाखभन्दा बढी छैन । सङ्घीय सरकारले दिने अनुदानको रकम तलबमा मात्र खर्च गर्नुपर्दा महालेखाले पनि बेरुजु ठहर गर्दै आएको छ ।”

विकासे बजेटबाट नगर शिक्षक पाल्नु पर्ने अवस्था आएपछि यही असोजदेखि लागु हुने गरी विद्यार्थी सङ्ख्या नपुगेका विद्यालयमा अनुदान नदिने निर्णय भएको उहाँले बताउनुभयो । नगरपालिकाबाट बसाइँ सर्नेको सङ्ख्या बढेपछि विद्यालयमा विद्यार्थी कम भएको नगरप्रमुख रावलले बताउनुभयो । 

पाटन नगरपालिका–१०, सल्लोवासा स्थित सरस्वती मावि वरिपरिकै बस्ती बसाइँ सरेर तराईलगायतका बाहिरी जिल्ला गएपछि गाउँ सुनसान बनेको छ । सरकारले यहाँ सडक, विद्यालय, बिजुली र सिँचाइको व्यवस्था गरे पनि गाउँमा रोजगारी नहुँदा बसाइँ सर्ने क्रम बढेको छ । 

पाटन नगरपालिका मात्रै होइन, बसाइँसराइका कारण जिल्ला सदरमुकामको दशरथ चन्द नगरपालिकामा पनि प्रत्येक वर्ष पाँच सय विद्यार्थी सङ्ख्या घट्दै गइरहेको शिक्षा शाखा प्रमुख हरिप्रकाश भट्टले बताउनुभयो । दशरथ चन्द नगरपालिकामा रहेका ११ वटा वडामा कुल ५२ वटा विद्यालय छन् । विद्यार्थी सङ्ख्या कम भएका विद्यालय मर्ज गर्ने नगरको निर्णय काम अघि बढेको उहाँले जानकारी दिनुभयो । दशरथ चन्दमा ८२ जना नगर शिक्षक रहेका छन् । भूगोल र विद्यार्थी सङ्ख्या हेरेर विद्यालय मर्ज गर्ने तयारी भइरहेको शिक्षा शाखा प्रमुख भट्टले जानकारी दिनुभयो ।