कुनै पनि मुलुकको भविष्य शिक्षासित प्रत्यक्ष जोडिएको हुन्छ । विश्वका अधिकांश विकसित देश एकाएक सम्पन्न भएका होइनन् । तिनले लामै यात्रा गर्नु परेको देखिन्छ । त्यसक्रममा योजनाबद्ध विकासको खाका कोरेर लक्ष्यमा पुग्ने सपना देख्दै अगाडि बढेका हुन् । देशभित्र भएको स्रोतसाधन उपयोग गर्नु सबैभन्दा महत्वपूर्ण हुन आउँछ । स्रोतसाधनको प्रभावकारी उपयोगका निम्ति दक्ष जनशक्ति आवश्यक हुन्छ । कुन क्षेत्रमा के कस्तो जनशक्ति आवश्यक हुन्छ ? त्यस्ता जनशक्ति देशभित्रै उत्पादन गर्न के कस्तो शिक्षा नीति आवश्यक हुन्छ भन्ने महत्वपूर्ण पक्ष हो । दक्ष जनशक्ति नै देश निर्माणका संवाहक हुन् । आजको व्यवस्थित र गुणस्तरीय शिक्षाले भोलिको भविष्य निर्भर रहेको हुन्छ । भरसक देशभित्रै प्रदान गरिने गुणस्तरीय शिक्षामा माटोको सुवास हुन्छ । त्यस्तो शिक्षा आर्जन गरेको जनशक्तिले देशभित्रै सेवा गर्ने अवसर पाउँदा अवश्य पनि मुलुकले समृद्धि हासिल गर्न सक्छ ।
शिक्षामा बाह्य विश्व धेरै अगाडि बढिसक्दा मात्र नेपालले शैक्षिक क्षेत्रमा स्वदेशी पाइला चाल्न थालेको इतिहास पाइन्छ । त्यसमा पनि चिकित्सा क्षेत्रको शिक्षामा विगतका केही दशकमा नेपालले राम्रै प्रगति हासिल गरेको छ । २०४६ सालअघि सीमित शैक्षिक संस्थाले अति सीमित मात्र चिकित्सक उत्पादन गर्ने गरेको यथार्थ हो । प्रजातन्त्र पुनस्र्थापनापछि शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा लिइएको खुला र उदार नीतिका कारण यी दुवै क्षेत्रको विस्तार भयो । निजी तथा सरकारी दुवै क्षेत्रमा चिकित्सकीय शिक्षाको विस्तार भयो । यो विस्तारले बेलाबखतमा नीतिगत अन्योलका साथै गुणस्तरमा समेत अनेक प्रश्न उठे पनि चिकित्सा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनले राम्रै गति लिँदै आएको हो तर अझै पनि नेपाली विद्यार्थी चिकित्सा क्षेत्रमा स्वदेशमा अध्ययन गर्ने अवसरबाट वञ्चित हुनु परेको देखिएको छ । स्वदेशभित्र अध्ययन गर्न नपाउँदा नेपाली विद्यार्थी देशबाहिर जान बाध्य छन् । यो बाध्यताले अध्ययनका निम्ति ठुलो धनराशि बाहिरिएको छ ।
नेपाली विद्यार्थी बाहिर जानुपर्ने बाध्यतामा चिकित्सा शिक्षामा सङ्कुचन मुख्य कारण देखिएको छ । चिकित्सा शिक्षा आयोगले लिने गरेको प्रवेश परीक्षा उत्तीर्ण गरेका सबै विद्यार्थीले देशभित्र स्नातक तहको एमबिबिएसमा भर्ना पाउन सक्दैनन् । एमबिबिएस प्रवेश परीक्षालाई अति महत्वका साथ हेरिन्छ । धेरै आमाबुवाको सपना आफ्ना सन्तानलाई डाक्टर बनाउने हुन्छ । कक्षा १२ सम्मको विज्ञान अध्ययनपछि विद्यार्थीले पनि धेरै मेहनत गरेपछि मात्र एमबिबिएस प्रवेश परीक्षामा सफलता हासिल गर्दछन् । हजारौँले दिएको प्रवेश परीक्षामा सीमित विद्यार्थीले मात्र सफलता प्राप्त गर्न सक्छन् । अथक प्रयासबाट मात्र प्रवेश परीक्षामा सफलता मिल्छ तर विडम्बना प्रवेश परीक्षामा उत्तीर्ण हुने सबैले देशभित्रै अध्ययन गर्ने अवसर पाउँदैनन् ।
देशभित्रका मेडिकल कलेजमा सीमित भर्ना सङ्ख्या भएका कारण एमबिबिएस प्रवेश परीक्षामा उत्तीर्ण भएर पनि सबैले अध्ययन गर्ने अवसर नपाएका हुन् । सरकारी तथा निजी शैक्षिक संस्थालाई चिकित्सा शिक्षा प्रदान गर्न निश्चित कोटा दिइएको हुन्छ । त्यही आधारमा मेडिकल कलेजहरूले भर्ना लिएका हुन्छन् । त्यस्तो भर्ना सामान्यतया मेरिटका आधारमा हुन्छ । प्रवेश परीक्षामा अगाडि हुनेले स्वाभाविक तवरले भर्ना पाउने सम्भावना बढी हुन्छ । देशभित्र भर्ना पाउन नसक्ने विद्यार्थी बाहिर जाने बाध्यतामा पर्छन् । नेपालबाट एमबिबिएस अध्ययनमा धेरै विद्यार्थी चीन र बङ्गलादेश जाने गरेको देखिएको छ । भारत, पाकिस्तान, जापान, अमेरिका, अस्ट्रेलिया, बेलायत, रसिया, युक्रेनलगायतका मुलुक पनि नेपाली विद्यार्थीको रोजाइमा छन् ।
स्वाभाविक हो, देशबाहिरको शिक्षा सस्तो हुँदैन । एमबिबिएस अध्ययन पूरा गर्न कम्तीमा ७० लाखदेखि एक करोड रुपियाँसम्म लाग्ने गरेको देखिएको छ । चिकित्सा शिक्षा महँगो नै भए पनि देशभित्रै अध्ययनको अवसर पाउँदा त्यति धेरै राशि लाग्दैन । देशबाहिर जाने रकमभन्दा कममै देशभित्र एबिबिएस शिक्षा हासिल हुन सक्छ । अझ सरकारी क्षेत्रमा ७५ प्रतिशतसम्म र निजी क्षेत्रमा १० प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्थाले कतिपय विद्यार्थीले कम लागतमै एमबिबिएस शिक्षा देशभित्रै प्राप्त गर्न सक्षम हुन्छन् । चिकित्सा शिक्षाका निम्ति कतिपय शैक्षिक संस्थाले पूरै भौतिक तयारी गरे पनि अनुमति पाउन सकेका छैनन् । चिकित्सा अध्ययनकै नाममा धनराशि बिदेसिने क्रम उचित होइन । देशभित्रै सम्भावना भए धनराशि बिदेसिन विराम लगाउनु आवश्यक छ । यस्तो विषयमा गम्भीर हुनै पर्छ ।