रमेश विश्वकर्मा
गुल्मी, कात्तिक २५ गते । नेपाल वायुसेवा निगमले गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्तामा एक दिन मात्र उडान गर्ने भएको छ । यहाँ बुधबार र शुक्रबार गरी सातामा दुई दिन उडान गर्दैआएको निगमले अबदेखि बिहीबार मात्र उडान गर्ने भएको हो ।
नेपाल वायुसेवा निगमको एउटा जहाज ग्राउण्डेट र अर्को अप्रेशनमा रहेको कारण उक्त जहाज नबन्दासम्म निगमले सातामा एक पटक बिहीबार मात्र उडान गर्ने तालिका रहेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो । निगमले यस अघिको समय तालिकालाई परिवर्तन गरेको छ ।
रेसुङ्गा विमानस्थलमा प्रतिकुल मौसमका कारण लामो सयमदेखि उडान अबरुद्ध हुँदैआएको अवस्थामा गत दुई सातादेखि मात्र नियमित उडान शुरु भएको थियो ।
निगमले नियमित उडान सुरु गरेसँगै पुनः उडान तालिकामा परिवर्तन गरेको छ। जिल्लामा हवाई सेवा सञ्चालन गरिएको केही समयपछि साताको चार पटकसम्म उडान गर्दैैआएको निगमले सातामा तीन पटक, दुई पटक उडान गर्दै आएको थियो ।
नेपाल वायुसेवा निगमले रेसुङ्गादेखि काठमाडौंका लागि ७ हजार ३०० र काठमाडौंदेखि रेसुङ्गाका लागि ७ हजार ५०० रुपियाँ भाडादर कायम गरेकोे छ । गुल्मी‐काठमाडौंका लागि नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्विनिटर जहाजले उडान गर्दै आइरहेको छ । काठमाडौंदेखि बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७ः३० बजे नियमित उडान तालिका रहेको छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                