• ५ मंसिर २०८१, बुधबार

फाल्गुनन्दको कर्मभूमीमा मनाइयो १४० औँ जन्मजयन्ती

blog

१४० औं जन्मजयन्तीका दिन माल्र्यापण गरेर चिटिक्कै पारिएको फिदिम ४ स्थित सुम्हात्लुङ मन्दिरको फाल्गुनन्द सालिक। तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, कात्तिक २५ गते। नेपालका १६ औँ विभूती तथा समाज सुधारक फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्तीका अवसरमा पाँचथरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ।

फाल्गुनन्दको समाधि रहेको शिलौती, उहाँको तपोभूमी लब्रेकुटी, याङवरक र फालेलुङको संगमस्थल चरिभञ्ज्याङ, फिदिम ४ को सुम्हात्लुङ गडी र याङनामसहितका स्थानमा विभिन्न कार्यक्रम गर्दै उहाँको जन्मजयन्ती मनाइएको हो।

चरिभञ्ज्याङमा आयोजित कार्यक्रममा किराँत धर्म गुरु आत्मानन्द र उहाँकी धर्मपत्नी पवित्रा हाङमासहितका धार्मिक अभियन्ताले सम्बोधन गर्नुभएको थियो। लब्रेकुटीमा आयोजित कार्यक्रममा फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले सम्बोधन गर्नुभयो।

फल्गुनन्दको पुस्तक ‘सत्यधर्म मुचुल्का’मा छोरी छोरालाई बराबर अध्ययन अध्यापन, लेखपढ र समान अंश दिनेलिने हक कायम गर्ने गराउनुपर्ने, दाइजो प्रथा अन्त्य गर्नुपर्ने, छोरीहरु देवीका प्रतिक भएकाले उनीहरुको बिहेका लागि कुरो छिन्दा कुटुम्बबाट रीत लिनु नहुने, दाइजो दिनको सटो शिक्षा दिनुपर्ने उल्लेख छन्।

समाज सुधार अभियानका क्रममा फाल्गुनन्दले पाँचथरको लब्रेकुटीमा १६ वर्ष बिताउनु भएको थियो। यहाँ उहाँको कपालसँगै उहाँले प्रयोग गर्नुभएका प्राप्त सामान राखिएको छ।  उहाँको निधन २००५ साल चैत २२ गते भएको थियो। उहाँलाई नेपाल सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूती घोषणा गरेको हो।