• १० मंसिर २०८१, सोमबार

तीन अर्ब लगानीमा टायल उद्योग, चार सयलाई रोजगारी

blog

रङ्गेली समाचारदाता

विराटनगर, कात्तिक २३ गते । अरिहन्त ग्रुपले मोरङ–सुनसरी औद्योगिक कोरिडोर अन्तर्गत सुनसरीस्थित सोनापुरमा टायल उद्योग स्थापना गरेर उत्पादन बजारमा ल्याएको छ । तीन अर्ब लगानीमा अरिहन्त इन्फ्रा प्रालिले निमाटो ब्रान्डमा टायलको व्यावसायिक उत्पादन गरेर बजारमा ल्याएको हो । 

उद्योगका सञ्चालक जयश लुनियाँका अनुसार छ वर्षअघि टायल उद्योग स्थापना गर्न सुरु गरिएको सम्भाव्यता अध्ययनले अहिले सार्थकता पाएको हो । उद्योगका उत्पादन देशभर पठाउन थालिएको सञ्चालक लुनियाँले जानकारी दिनुभयो । 

लुनियाँका अनुसार पोर्सलिन, सेरामिक र विक्ट्रिफाइड गरी तीन प्रकारका टायल छन् । विक्ट्रिफाइड टायल सबैभन्दा स्तरीय मानिन्छ । यस टायलले पानी सोस्तैन । नेपालमा पहिलो विक्ट्रिफाइड टायलको मेसिन उद्योगले नै लगाएको दाबी गरिएको छ । दैनिक १८ हजार वर्गमिटर टायलको उत्पादन भइरहेको सञ्चालक लुनियाँले जानकारी दिनुभयो । 

उद्योगले नेपालको माटोसमेत प्रयोग गर्नका लागि अनुसन्धान टोली परिचालन गरेको सञ्चालक जयशले जानकारी दिनुभयो । नेपालको माटोबाट पोर्सलिन र सेरामिक टायल उत्पादन गर्न सकिने सम्भावना धेरै रहेको छ तर विक्ट्रिफाइड टायल निकाल्न सकिन्छ/सकिँदैन भन्ने यकिन भइनसकेको उद्योगी लुनियाँको भनाइ छ । 

कोरिडोरमा स्थापना भएको पहिलो टायल उद्योगमा दक्ष एक सय र अर्धदक्ष तीन सय गरी कुल चार सय जनाले रोजगारी पाएको दाबी छ । कोशी प्रदेशका काँकडभिट्टा र विराटनगर नाकाबाट टायल निर्यात गर्ने योजनासमेत राखिएको उद्योगीको भनाइ छ ।