• २६ मंसिर २०८१, बुधबार

‘सशक्त आवाज’ लोकार्पण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २२ गते । मानव बेचबिखनबाट प्रभावित भएका महिलाले पुनः समाजमा स्थापित हुन गरेका सङ्घर्षबारे लेखिएको पुस्तक ‘सशक्त आवाज’ लोकार्पण भएको छ । सुनिता फाउन्डेसनद्वारा बुधबार राजधानीमा आयोजित ‘बेचबिखनबाट प्रभावितको सशक्तीकरण–राष्ट्रिय कार्यशाला एवं सशक्त आवाज लोकार्पण’ कार्यक्रममा फाउन्डेसनले प्रकाशन गरेको ‘सशक्त आवाज’ पुस्तकको लोकार्पण गरिएको हो । 

मानव बेचबिखनबाट प्रभावित महिलालाई समाजमा पुनर्मिलन हुन सहयोग गर्ने लक्ष्यले सन् २०१९ मा स्थापना भएको फाउन्डेसनले प्रभावितका लागि आवश्यक मनोपरामर्श, आर्थिक, कानुनी समस्याको समाधानका लागि सहयोग गर्दै आएको छ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले मानव बेचबिखनबाट प्रभावित महिलालाई घर, परिवार र समाजले हेर्ने दृष्टिमा परिवर्तन ल्याउँदै सिप, आर्थिक सशक्तीकरणका लागि बिउपुँजी रकम दिएर उहाँहरूको सफल कथालाई पुस्तकमा समेटेर उदाहरणीय काम गरेको बताउनुभयो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव एवं मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाका प्रमुख मीना पौडेलले फाउन्डेसनको उदाहरणीय कामबाट धेरैले नयाँ जीवन पाएको र राज्यले पनि प्रभावितका लागि विविध योजना र कार्यक्रम अन्तर्गत काम गरिरहेको बताउनुभयो । सशक्त आवाजका सम्पादक टङ्क पन्तले यस पुस्तकमा समेटिएका प्रभावितका आवाजले मानव बेचबिखनमा पर्नबाट जोगिन र परिहालेमा पनि सिप सिकेर, व्यवसाय गरेर आत्मनिर्भर जीवन बाँच्नका लागि प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । 

फाउन्डेसनका संस्थापक अध्यक्ष एवं प्रबन्ध निर्देशक सुनिता दनुवार र फाउन्डेसनका अध्यक्ष तारादेवी खनालले फाउन्डेसनको लक्ष्य सफल बनाउनेको कथाले अन्यलाई पनि पे्ररित गर्ने बताउनुभयो ।