• १० मंसिर २०८१, सोमबार

३४५ महिलालाई तिहारमा निःशुल्क यातायात सेवा

blog

महिलालाई मोटरसाइकलमा निःशुल्क सेवा दिंदै युवाहरु ।

राजकुमार भट्टराई

खोटाङ, कात्तिक २१ गते । खोटाङमा युवाहरूको समूहले तिहारमा माइती जाने महिलालाई निःशुल्क यातायात सेवा दिएका छन् । युवाहरूको समूहले आर्थिक अवस्था कमजोर भएका वा समस्यामा परेका चेलीलाई माइतीसम्म जान र घर फर्किन मोटरसाइकलमा निःशुल्क सेवा दिएका हुन् । 

“दसैँ, तिहार चेलीलाई उपहार” नाम दिएर सुरु भएको अभियानमा तिहारमा ३४५ जना चेलीले निःशुल्क सेवा पाएका छन् । दसैँबाट सुरु भएको यो अभियानले तिहारमा पनि निरन्तरता पाएको हो । दसैँमा आपतविपतमा परेकालाई गन्तव्यसम्म पुगाउने योजनासहित अभियान सुरु गरिएको अभियानका संयोजक सञ्जयकुमार राईले बताउनुभयो । दसैँमा चार दिनसम्म सञ्चालन भएको अभियानबाट ७० जना बढीले सेवा पाएका थिए । 

दोस्रो चरणमा सञ्चालन गरिएको अभियान तिहारमा ३४५ जना चेलीले सेवा पाएका छन् । कात्तिक–१६ गते १७ जना युवाले ७४ जना, कात्तिक–१७ गते १५ जना युवाले ५७ जना, कात्तिक–१८ गते दश जना युवाले ४९ जना तथा कात्तिक–१९ गते ३४ जना युवाले १०९ जना महिलालाई निःशुल्क मोटरसाइकल सेवा दिएका छन् । कात्तिक–१९ गते शुभम् फाउन्डेसनको चार पाङ्ग्रे दुईवटा बोलेरोमार्फत समेत ५६ जना चेलीलाई निःशुल्क सेवा उपलब्ध गराइएको छ ।

नेपालीको महत्त्वपूर्ण चाड तिहारमा माइती घरसम्म पुग्न समस्या भएका चेलीलाई युवाहरूको समूहले निःशुल्क मोटरसाइकलमा पुगाइदिएको हो । तिहार मनाइसकेपछि पुनः घरसम्म ल्याउने काम पनि सोही समूहले गरेको छ । राईको संयोजनमा सुरु भएको अभियानमा जिल्लाका विभिन्न क्षेत्रका युवाहरू जोडिनुभएको थियो । युवाहरूको यस अभियानलाई सामाजिक सञ्जालमा सबैले प्रशंसा गरेका छन् । 

खोटाङका विभिन्न ठाउँहरूमा ३५ किलोमिटर भित्रसम्म निःशुल्क सेवा उपलब्ध गराइएको छ । अत्यन्तै समस्या भएका महिलालाई ३५ किलोमिटरभन्दा लामो दूरीमा पनि निःशुल्क सेवा उपलब्ध गराइएको संयोजक राईले बताउनुभयो ।  

अभियानमा जोडिएर सेवा दिने मोटरसाइकल चालकलाई दिक्तेल बजारको रत्नपार्कमा सञ्चालित शुभम् क्याफेमा निःशुल्क खाना तथा खाजा खुवाउने व्यवस्था मिलाइएको शुभम् फाउन्डेसन खोटाङका प्रबन्ध निर्देशक सूर्य राईले बताउनुभयो ।

चाडपर्वको समयमा चेलीका लागि निःशुल्क यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानमा करिब ५०० लिटर पेट्रोल खपत भएको बताइएको छ । जिल्लाका विभिन्न सङ्घ, संस्था एवं व्यक्तिले अभियानका क्रममा पेट्रोल सहयोग गरेका थिए ।