• ९ मंसिर २०८१, आइतबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

blog

काठमाडौं, कात्तिक २० गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।विमानस्थलको धावनमार्गको कार्यक्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ ।

विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब ५ महिना लाग्ने हुँदा कात्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ । गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिनुभयो । महानिर्देशक इन्जिनियर अधिकारीले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको बताउनुभयो । अधिकारीले सो कामको योजना करिब ८ महिना अघि देखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न पनि आग्रह गर्नुभयो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यक्षमता अभिवृद्धिका लागि शुरु गर्न लागिएको सो काम विशुद्ध व्यावसायिक भएकाले यसलाई कुनै पनि खालको रणनीति वा राजनीतिक नभएको महानिर्देशक अधिकारीको स्पष्टीकरण थियो । उहाँले धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको बताउनुभयो । हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको पनि प्राधिकरणले जनाएको छ । 

अधिकारीले चालु आर्थिक वर्षको अनुमानित आयमा करिब २ अर्ब नोक्सान पर्ने भए पनि विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि सो काम शुरु गर्नुपरेको उल्लेख गर्नुभयो । समानान्तर ट्याक्सी वे निर्माण भएपछि अहिले जस्तो धावनमार्गबाट नै एप्रोनमा जानुपर्ने बाध्यता हट्ने महानिर्देशक अधिकारीले स्पष्ट पार्नुभयो । ट्याक्सी वे निर्माण पछि विमानस्थलको कार्य क्षमता २५ प्रतिशतले बढेर जाने महानिर्देशक अधिकारीले बताउनुभयो । 


महानिर्देशक अधिकारीले भन्नुभयो, ‘जहाज ल्याण्ड भएपछि एप्रोनसम्म आउनका लागि हामीसँग समानान्तर ट्याक्सी वे नभएका कारणले गर्दा हामीले रनवे नै प्रयोग गरेर एप्रोनसम्म आउनुपर्छ । यो रनवेमा जहाजले बढी समय लिन्छ । यो ट्याक्सी वे बनेपछि जहाज चाँडै नै ट्याक्सी वे मा निकालेर एप्रोनमा ल्याउँछौँ । त्यो भएपछि रनवेको अकुपेन्सी टाइम घट्ने भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको क्षमता २५ प्रतिशतले बढ्ने हाम्रो फोरकाष्ट छ । अहिले गर्न लागेको ठ्याक्कै के हो भने प्यारालल ट्याक्सी वे बनाउने र त्यसलाई रन वे मा जोड्नु पर्‍याे  । त्यो रनवेमा जोड् ने ठाउँमा अहिले हामीले खनेर टयाक्सी वेसम्म लिएर आउने हो । त्यहाँ हामीले खन्नु पर्‍याे । भोलिपल्ट फेरि बिहान फ्लाइट हुने बेलासम्म रनवेको दायाँबायाँ ७५ मिटर त फेरि सम्म जमिन नै देखाउनुपर्‍याे । भनेपछि खन्नुपर्‍याे ।

त्यसपछि माटो त्यहाँ फिल गर्नुपर्‍याे । बेस फिल गर्नुपर्‍याे । त्यसपछि पिच गर्नुपर्‍याे । भोलिपल्ट हामीले रनवे पनि क्लियर गर्नुपर्‍याे । होइन भने आईकाओको स्टान्टर्डभित्र नपर्ने भएकाले भोलिपल्ट हामीले एयरपोर्ट फेरि खोल्न सक्दैनौँ । त्यस कारण हामीलाई मिनिमम १० घण्टा चाहिन्छ भन्ने हाम्रो क्याल्कुलेशन हो । त्यो क्याल्कुलेशनअनुसार हामीले एयरपोर्ट ५ महिनाका लागि बन्द गरेको हो । यो १० घण्टा किन गर्नुभयो, ८ घण्टा किन गर्नुभएन ? भन्ने प्रश्न पनि छ ।

१० घण्टा बन्द गर्दा यो ५ महिनामा सकिन्छ । यो विन्टर सेडयुलमा सिद्ध्याउने हाम्रो टार्गेट छ । यसलाई १० को ठाउँमा ८ घण्टा लिएर आयो भने के हुन्छ भने ७ महिनाभन्दा बढी जान्छ । यसले अर्को समर सेड्युललाई पनि असर गर्‍याे । अहिले नोभेम्बरको १५ दिन हामीलाई अलि बढी असर गर्छ नै । किनभने नोभेम्बरको २०-२५ सम्म हामी हाम्रो सिजन हो । त्यसपछि डिसेम्बर, जनवरी, फेब्रुअरी काठमाडौँ र तराईका अन्य विमानस्थलमा पनि हुस्सुका कारण धेरै फ्लाइट हुने होइन । मनसुनमा हामी यो काम गर्न सक्दैनौ । यस कारण यो नै उपयुक्त समय हो भनेर हामीले १० घण्टा बन्द गरेर यो काम गर्न लागेको हो । यो काम किन गर्न लागेको हो भने यसले रनवेको क्षमता बढाउँछ । 

हामीले यो ५ महिनामा हाम्रो अनुमानित आयको २ अर्ब नेपाली रुपियाँ गुमाउँदैछौं । यो कुनै रणनीति पनि होइन, यो कुनै राजनीति पनि होइन ।  यो कसैलाई पेलेको पनि होइन । बनाउनैपर्ने भएकाले बनाउन लागिएको हो । यसपछि यसको क्षमता विस्तार हुन्छ । यसले एयरपोर्टको इफिसेन्सी बढी हुन्छ । यसले योभन्दा बढी फ्लाइट गर्ने सम्भावना रहन्छ । त्यसैले हामीले भैरहवा पठाउनका लागि काठमाडौँ बन्द गर्‍याे भन्ने विषय यो त्यति म्याचिङ विषय होइन । यो विषय त हामीले ७-८ महिनादेखि एयरलाइन्सहरुसँग छलफल गरेर हामीले नो डाउन गरेर नै ६ महिना हुन लागिसक्यो । यो हाम्रो अगाडिकै योजना हो । 

भैरहवाको विषय त सरकारले निर्णय गरेको धेरै भएको छैन नि । त्यस कारण भैरहवा, पोखरामा प्याकेज दिएर अन्तर्राष्ट्रिय वायु यानलाई आकर्षित गर्ने एउटा प्याकेज हो । टिआइएमा चाँडै काम सिद्ध्याएर अर्को समर सेड्युलमा काठमाडौं विमानस्थलमा भइरहेको फ्लाइट नघट्ने गरी अर्को समय सेड्युलसम्म तयार गर्ने यो अर्को प्याकेज हो । यो छुट्टाछुट्टै प्याकेज हो । यसलाई हामीले यसरी बुझिदिनुपर्छ जस्तो लाग्छ मलाई ।

प्राधिकरणले सो स्तरोन्नतिको कामले बाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने बताएको छ । महानिर्देशक अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सस्तोको टिकटको व्यवस्था गरेको पनि स्मरण गराउनुभयो । उहाँले सो अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि करिब ३ वटा अन्तर्राष्ट्रिय वायु यानले उडान भर्ने प्रतिबद्धता जनाएको पनि जानकारी दिनुभयो । 

महानिर्देशक अधिकारीले भन्नुभयो, ‘आन्तरिक उडान पनि कम्तीमा ३० प्रतिशत कटौती हुन्छ । तर डोमेस्टिक एयरलाइन्सँग पनि हामीले प्रशस्त छलफल गरेका छौँ । उहाँहरू एकदमै सकारात्मक हुन्छ । यो बनिसकेपछि एयरपाेर्टको इफिसेन्सी नै अर्को हुन्छ नि । यो वर्षदेखि पाइलटले खोजेको कुरा हो नि । यो विषयमा उहाँहरूको पूर्ण समर्थन छ । ३ वटा अन्तर्राष्ट्रिय वायुयानले उडान भर्ने प्रतिबद्धता आएको छ । भैरहवाबाट ३ वटा वायुयानले आफ्नो उडान निकट भविष्यमा नै शुरु गर्नेछन् ।’