• १० मंसिर २०८१, सोमबार

उपप्रधानमन्त्री सिंह इजिप्ट प्रस्थान

blog

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह ।

काठमाडौँ, कात्तिक १८ गते । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह वल्र्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गर्नुभएको छ । उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान ८ः०० बजे इजिप्टको कायरो प्रस्थान गर्नुभएको हो । 

उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियोे । विश्वका एकसय ५० भन्दा बढी देशको सहभागिता रहने कार्यक्रममा सहभागी हुने सिंह उच्च पदाधिकारी हुनुहुन्छ । अन्य देशबाट सहरी विकाससँग सम्बन्धित मन्त्रीहरू सहभागी हुनेछन् । नेपालबाट उपप्रधानमन्त्रीसमेत रहनुभएका सिंहको उपस्थिति रहने मन्त्रालयले जनाएको छ ।

सहरी विकासका बारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले तीनवटा सत्रलाई सम्बोधन गर्नुहुनेछ । सो क्रममा उहाँले नेपालले बस्ती विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र बस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराउनुहुने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्नेगरी कसरी सहरीकरण र बस्ती विकास गर्न सकिन्छ भन्ने विषयलाई उपप्रधानमन्त्री सिंहले प्रमुख एजेन्डा बनाउनुहुनेछ । त्यस्तै, सहरीकरणका लागि चुनौती बनिरहेको खानेपानी, सरसफाइ र सहरी पूर्वाधारको व्यवस्थापनको विषयलाई पनि नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

यही नोभेम्बर ४ देखि ८ तारिखसम्म कायरोमा वल्र्ड अर्बान फोरमको कार्यक्रम हुँदैछ । वल्र्ड अर्बान फोरम सहरी विकासको क्षेत्रमा महत्त्वपूर्ण मानिन्छ । उपप्रधानमन्त्री सिंहसँगै पत्नी सिर्जना सिंह, सहरी विकास मन्त्रालयका अधिकारीहरू पनि कायरो प्रस्थान गर्नुभएको छ । उहाँ कार्यक्रममा सहभागी भएर शनिबार बिहान स्वदेश फर्कनु हुनेछ । रासस