• १२ पुस २०८१, शुक्रबार

बरङ्जामा मनाइयो ‘आगोदेउ’ पर्व

blog

म्याग्दी, कात्तिक १८ गते । जिल्लाको मङ्गला गाउँपालिका–३ र ४ वडामा पर्ने बरङ्जाका मगर समुदायले  ‘आगोदेउ’ पर्व मनाएका छन् । बरङ्जामा बसोबास गर्ने नौ थरका ४५ कुरिया मगरहरूले हरेक वर्षको कुकुर तिहारदेखि तीन दिन आगोदेउ पर्व मनाउने गर्छन् । 

आगलागीजन्य विपद् नहोस् भन्ने कामनासहित प्रकृतिको पूजा गरेर यो पर्व मनाउने चलन रहेको मङ्गला गाउँपालिका –३ का वडाध्यक्ष याम रोकाले जानकारी दिनुभयो । “धार्मिक विधिअनुसार पूजाआजा गरेर कुकुर तिहारको दिन सुरु हुने आगोदेउ पर्वमा प्रकृतिको पूजा गरिन्छ” उहाँले भन्नुभयो, “आगोका कारण कुनै दुर्घटना वा विपद् नहोस् भन्ने कामना गरेर यो पर्व मनाउने चलन छ ।”

बरङ्जाको शिलाथुरस्थित थानमा मगरका झाँक्रीहरूले पूजाआजा गरेपछि पर्व सुरवात भएको मानिन्छ । दोस्रो दिन साँझ सो ठाउँमा भेडाको साँढलाई पूजा गरी बलि चढाइन्छ । यसैगरी आगो बाल्ने र मार्ने गरिन्छ । तेस्रो दिन कमेरोले रङ्ग्याएको ढुङ्गालाई काट्ने र पूजाआजा गरेपछि पर्व सकिएको मानिन्छ।

बरङ्जामा बसोबास गर्ने पुन, घर्ती, रोका, राम्जाली रोका, बझाङ्गे रोका, गाउँथोके घर्ती र बुढाथोकी थरका मगरहरूले आगोदेउ पर्व मनाउँछन् । बाह्रौँ शताब्दीमा बरङ्जामा बसोबास सुरु भएदेखि सुरु भएको आगोदेउ पर्वलाई निरन्तरता दिँदैआएको वडाध्यक्ष रोकाले बताउनुभयो । 

कात्तिकमा आगोदेउ र जेठमा धुले मेला बरङ्जाका मगरले धुमधामसँग मनाउने पर्व हुन् । जेठको दोस्रो अथवा तेस्रो हप्ताको मङ्गलबारदेखि तीन दिनसम्म मनाइने धुले पर्वपछि थर्पु गाउँमा परम्परागत मेला लगाउने चलन छ । हिउँदभरि खेतबारी सुकेर धुलैधुलो हुने र पानी परेपछि खेती गर्न योग्य हुने हुनाले त्यसको खुसीयालीमा धुले पर्व मनाउने गरिएको वडाध्यक्ष रोकाले बताउनुभयो । रासस