• १७ कात्तिक २०८१, शनिबार

तीन महिनामा चार करोड ३९ लाख जरिवाना, ९५ को मृत्यु

blog

ट्राफिक चेकिङ् गर्दै प्रहरी । तस्बिर : शिवशङ्कर मिश्र

शिवशङ्कर मिश्र

बारा, कात्तिक १७ गते । तीन महिनामा चार करोड ३९ लाख जरिवाना असुल भएको तथा ९५ को मृत्यु भएको छ । मधेस प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गरेवापत कारवाहीस्वरुप चालु–आर्थिक वर्षको तीन महिनामा चार करोड ३९ लाख ४२ हजार ७०१ रुपियाँ जरिवाना असुल भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा र त्यस मातहतका आठ वटै जिल्लामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न सवारीलाई चेकिङ् गर्दा ट्राफिक नियमविपरीत रहेकाहरुबाट सो जरिवाना असुल गरिएको हो । 

पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी र पथलैयाबाट चालु–आर्थिकवर्ष ०८१-८२ को साउनदेखि असोज मसान्तसम्म पाँच हजार ७१ विभिन्न सवारीलाई कारवाही गर्दा ४ करोड ३९ लाख ४२ हजार ७०१ रुपियाँ राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले बताउनुभयो।

गतवर्ष ०८०-८१ मा २५ लाख ९ हजार २०३ विभिन्न सवारीले ट्राफिक नियम उल्लङ्घन गरेकोहरुलाई कारवाही गर्दा २३ करोड ३० लाख ७९ हजार ७५६ रुपियाँ राजस्व असुली भएको थियो, उहाँले जानकारी दिनुभयो । 

यसैगरी चालु–आर्थिकवर्ष ०८१-८२ को साउनदेखि असोज मसान्तसम्म आठ वटै जिल्लामा भएका एक हजार ४२७ वटा विभिन्न दुर्घटनाबाट ९५ जनाले ज्यान गुमाएका छन् । सो दुर्घटनामा परी ७२ पुरुष, १३ महिला र ५-५ जना बालबालिका गरी ९५ जनाको मृत्यु भएको तथा २ हजार ५२३ जना घाइते भएको सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो ।

गतवर्ष ०८०-८१ मा छ हजार ५८ वटा भएको दुर्घटनाबाट ४०४ पुरुष, ९१ महिला, १८ बालक र १७ जना बालिका गरी ५३० जनाको मृत्यु भएको तथा ९ हजार ७४५ जना घाइते भएको लामिछानेले भन्नुभयो । 

तीन महिनाको अवधीमा बारा जिल्लामा २४८ वटा दुर्घटना हुँदा २१ जना मृत्यु हुनुको साथै ४३४ जना घाइते भएका छन्, भने रौतहटमा १५३ वटा दुर्घटना हुँदा ९ जनाको मृत्यु तथा २५४ जना घाइते भएका छन् । यसैगरी धनुषमा २६० दुर्घटना हुँदा ९ जनाको मृत्यु र ४६७ जना घाइते भएका छन् ।

दुर्घटना न्यूनीकरण अभियान सफल 

भत्केको सडक, दिनानुदिन बढ्दो सवारीको चापबाट हुदै आएको दुर्घटनालाई न्यूनीकरण गर्न चालिको अभियान सफल भएको छ । 

आर्थिक वर्ष ०८०-८१ मा ५३० जनाको मृत्यु भएको छ भने, ०७९÷८० मा भएको दुर्घटनाबाट ४०४ पुरुष, ९१ महिला, २८ बालक र २३ जना बालिका गरी ५४६ जनाको मृत्यु भएको थियो । आर्थिकवर्ष ०७९-८० को भन्दा गतवर्ष मृत्यु हुनेमा सङ्ख्या १६ जना कम भएको छ, यो अभियानको सफलता नै रहेको प्रहरी नायब उपरीक्षक लामिछानेले भन्नुभयो ।

सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले मधेस प्रदेशका आठ वटै जिल्लामा अभियान चलाएको छ । क्षमताभन्दा अधिक भार बोक्न, सडकमा जथाभावी पार्किङ् गर्ने, हेल्मेट प्रयोग नगर्ने, बढी स्पिडमा सवारी कुदाउने, ओभरटेक गर्ने लगायतका कार्यको ट्राफिक प्रहरीले सचेतना कार्यक्रम गर्दै आएको जनाएको छ ।