• १५ कात्तिक २०८१, बिहिबार

नेपाल संवतले राष्ट्रिय स्वाभिमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छ: प्रचण्ड

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।

भक्तपुर, कार्तिक १५ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभिमान, स्वाधीनता, आत्मसम्मान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले यसलाई राष्ट्रिय मान्यता प्रदान गरिएको बताउनुभएको छ।

नेकपा माओवादी केन्द्र मध्यपुर थिमी नगर समिति भक्तपुरले नयाँ वर्ष नेपाल संवत् ११४५ को अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल संवत् नेवारी समुदायको भावनासँग जोडिएको भए पनि यो नेपाल राष्ट्रकै मौलिक संस्कृतिको महत्त्वपूर्ण हिस्सा भएको बताउनुभयो। 

‘नेपाल संवतले राष्ट्रिय संवतको मान्यता प्राप्त गर्नुपर्छ भनेर खास गरी काठमाडौँ, ललितपुर र भक्तपुरका नेवार समुदायले धेरै वर्षदेखि आन्दोलन गर्दै आउनुभएको थियो। 

नेपाल संवतले राष्ट्रिय मान्यता पाएको लामो समयसम्म पनि यसको कार्यान्वयनमा अलमल भएको देखेर गत वर्ष आफू तेस्रो पटक प्रधानमन्त्री भएको बेला विक्रम संवत् प्रयोग हुने सबै सरकारी कागजातमा नेपाल संवत् प्रयोग गर्ने निर्णय मन्त्रिपरिषदबाटै गराएको उहाँले स्मरण गराउनुभयो। 

माओवादी केन्द्र मध्यपुर थिमी नगर अध्यक्ष एवं मध्यपुर नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, स्थायी समिति सदस्य एवं पूर्वमन्त्री शशी श्रेष्ठ, केन्द्रीय सदस्यहरू दिलीप प्रजापति र रामनारायण बिडारीले शुभकामना दिनुभएको थियो। 

सो क्रममा सहिदहरू वैकुण्ठहरि श्रेष्ठ, सविन श्रेष्ठ र कृष्णमान श्रेष्ठका परिवारलाई अध्यक्ष प्रचण्डले सम्मान गर्नुभयो।